ताजा अपडेट »
अनेक दुःख कष्टपछि सफलता

मःमः मा समृद्धि देखेका भिमकान्त

बुधबार, ०२ माघ २०८१, १८ : २७
2.42K Shares
बुधबार, ०२ माघ २०८१
2.42K Shares

बुटवल । उमेरले ५० वर्षका भए भिमकान्त गौतम । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर २, पिपलधारामा जन्मिएका भिमकान्तको  जोस, जाँगर भने कुनै युवाको भन्दा कम छैन ।

उनी बिहानै आफ्नो मःमः सेन्टरमा जान्छन् । अनि काम सुरु गरिहाल्छन् । उनी राति अबेर मात्रै आफू बस्ने डेरामा पुग्छन् । उनको यो नियमित दैनिकी हो । उनी भैरहवाका सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ बैंकरोड स्थित मःम सेन्टरमा आऊ जाऊ गर्न लागेको १२ वर्ष हुन लाग्यो ।

झट्ट हेर्दा नयाँ मान्छेलाई उनको मःमः पसल खासै चल्छ भनेर विश्वास पनि लाग्दैन । उनको सेन्टरमा जानका लागि बाटो पनि साँगुरो छ । अझ मःमः सेन्टरको ठिक पारी पट्टीको भित्तोमा ‘बाटो साँगुरो भएको हुँदा बाइक आउन जानको लागि सहज हुने गरी एक साइट मात्र बाइक पार्किङ्ग गरी दिनु होला’भन्ने ब्यानर लेखिएको छ ।

तर, भिमकान्तको 'नवीन पनिर भेज मःमः सेन्टर' मा जाने बाटो साँगुरो र सटर सानो भएता पनि मःमः खान आउनेहरूको लाइन नै लाग्छ । ऊनकोमा मःमः खानका लागि पालो नै कुर्नु पर्छ । उनकाे मःमः सेन्टरमा अहिले उनले दैनिक २५० प्लेट भन्दा बढी भेज मःमः बिक्री गर्ने गर्दछन् ।

अनेक दुःख, कष्ट पछि मःमःमा सफलता मिल्यो
भिमकान्तले आफ्नो ५० वर्षको उमेरसम्म आउँदा अनेकाै दुःख, कष्ट भोगे । घरको आर्थिक अवस्थाका कारण वि.स. २०४७ सालमा रोजगारीका लागि सानै उमेरमा भारत हानिए ।

भारतमा रहदा उनले सुरुमा होटेलमा हेल्परकाे काम गरे । पछि बिस्तारै कुक सम्बन्धी काम पनि सिके । ‘म २०४७ सालमा रोजगारीका लागि भारतमा गएको थिए । सुरु मा होटलमा हेल्परकाे काम गरेको थिए । काम सिक्दै जाँदा पछि कुकको काम गरे,’–उनले भने ।

उनले ८ वर्ष भारतमै काम गरेर बिताए। त्यसपछि नेपालमै केही गर्ने सोचका साथ घर फर्किए । ‘मैले ८ वर्ष भारतमा काम गरे, यो बिचमा कहिले कसो मात्रै घर आउने गर्थे । २०५५ सालमा नेपालमै केही गर्छु भनेर नेपाल आँए त्यस पछि गइन्,’– उनले भने ।

नेपालमै केही गर्छु भनेर गाउँ फर्केका भिमकान्तले बुटवल झरेर दुई सिजन ठेलामा सुन्तला बेच्ने काम समेत गरे । पछि उनले सिधै ठेक्का लिएर सुन्तला बेच्न पनि सुरू गरे । तर पनि सोचे जस्तो सफलता भने पाउन सकेन र निराश हुँदै पुनः जन्म घर गुल्मी फर्किए । ‘२०५६ र २०५७ मा गरी दुई सिजन मैले बुटवलमा बसेर सुन्तला बेचे । खासै फाइदा पनि भएन । त्यसपछि म घरै फर्किए,’–उनले विगतलाई सम्झँदै भने । 

गुल्मी फर्किएपछि भिमकान्तले मिस्त्रीको काम गर्न सुरु गरे । मिस्त्री काम सिक्दै गएपछि उनले पछि ठेक्का पट्टामा हात हाले । मिस्त्री र ठेकेदारका रूपमा उनले करिब ११ वर्ष गुल्मीमै काम गरेर बिताए । ‘खानको लागि केही न केही काम त गर्नु नै पर्‍यो ।, काम नगरी बस्न भएन । त्यसै बस्न भन्दा म मिस्त्री काम गर्न लागे । मैले २०५८ देखि २०६९ सालसम्म घर बनाउने लगायतका मिस्त्री काम गरे, पछि ठेक्का लिएर गाउँ घरका काम पनि गरेको थिए,’–उनले विगत सम्झिए।

११ वर्षसम्म मिस्त्री र ठेक्काको काम गर्दा पनि उनलाई सोचे अनुसार सफलता मिलेन । जसो तसो गरेर घर खर्च मात्रै चल्यो । ‘काम त गरे, मैले त्यो कामबाट केही पनि बचत गर्न सकिन् । मिस्त्रीको काम सँधै भरी चल्ने कुरा पनि भएन। जसो तसो घर खर्चलाई मात्रै भयो,’–उनले भने ।

त्यसबाट सन्तुष्ट नभएका उनी मिस्त्री सम्बन्धी काम छाडेर २०७० सालमा स-परिवार गुल्मीबाट भैरहवा आए । भैरहवा आएपछि साथीभाइको सहयोगमा उनले भैरहवाको बैंकरोडमा एउटा सानो सटर भाडामा लिए । सोही सटरमा श्रीमती रिता खनालका साथ श्रीमान् श्रीमती मिलेर मःमः बनाउने र बनाएको मःमः बाटोमा ठेला राखेर बेच्ने कामको सुरुवात गरे । यही बाट नविन पनिर भेज मःमःकाे भैरहवामा सुरूवात भयाे ।

उनले ठेलामा ‘नवीन मःमः सेन्टर’ लेखेको ब्यानर राखे । नवीन उनको कान्छो छोराको नाम हो । सुरुमा मःमः बेच्न जाँदा १५१० रुपियाँको लगानी गरेको उनी अझै सम्झन्छन्, १५१० रूपैयाकाे लगानी गरेर पहिलाे दिन २०० रूपैयाकाे मात्रै व्यापार गरे । पहिलो दिनमै व्यापार घाटामा गएपछि निराश हुँदै साँझ डेरामा फर्केका थिए उनी। निराश भएर डेरा फर्केका उनलाई जीवन सङ्गिनी रिता खनालले हाैषला भरिन,निराश हुन दिइनन् । आज बिक्री नभएर के भयो बिस्तारै बिक्री बढ्छ र नाफा पनि हुन्छ भनेर हौस्याइनै रहीन ।

श्रीमान् श्रीमतीको मःमः व्यवसाय २ महिनासम्म घाटामै चल्यो । तर, पनि उनीहरूले हरेस भने खाएनन् । भारतमा कुकको काम गरेको अनुभव श्रीमतीकाे साथ र हाैषालाले समेत आत्मविश्वास दह्राे भएकाले धेैर्य भएर कामलाइ निरन्तरता दिदै गए । उनले बनाएको मःमः भैरहवामा धेरैले मन पराउँदै गए । भैरहवाबासी मात्र हाेइन छिमेकी भारतीय बजार सुनाैली नाैतनवाबाट भैरहवा आउदा उनकाे मःमः चाख्नेहरू पनि उनकाे मःमःका पारखी बन्दै गए । त्यस पछि भने उनलाई विस्तारै नाफा हुँदै गयो।

‘२०७० सालमा ठेलामा मःमः बेच्न जाँदा २०० मात्रै कमाई भएको थियो । मैले १५१० को लगानी गरेको थिए, २ महिनासम्म त मैले घाटामा नै मःमः बेचे,’–उनले, त्यतीबेलाकाे विगत सम्झिए । उनले अहिलेको मःमः सेन्टर रहेको ठाउँमा मःमः तयार गरी बाहिर बैक रोड आसपासमा ठेलामा राखेर साढे २ वर्ष जति मःमः बेचे । सडकमा ठेला राखेर व्यापार गर्दा उनको ठेलाको सामान प्रहरीले लगिदियो ।

त्यस पछि भने उनलाई फुटपाथमा ठेला लिएर जान त्यति मन लागेन । त्यस पछि भने उनले आफ्नो सटरको अगाडीनै ठेला राखेर मःमः बेच्न थाले । उनको मःमःको स्वाद मन पराएका ग्राहकहरू उनलाई खोज्दै साेही गल्लीमा आउन थाले । उनले ५ वर्ष जति आफ्नो सटरको अघि  ठेलामै मःमः बेचे । त्यस पछि भने उनले ठेला हटाएर सटर भएकै घरमा थप ३ वटा कोठा भाडामा लिएर त्यहीबाट मःमः बेच्न थाले । 

भिमकान्त दम्पतीले ठेलाबाट सुरुवात गरेको मःम पसलमा ग्राहकको चाप बढेपछि २०७९ सालदेखि भने कामदार नै राख्नु पर्ने अवस्था आयो । २०७९ सालमा एक जना कामदार राखेका उनले ग्राहक बढ्दै गए पछि अहिले पारिवारिक सदस्य बाहेक ८ जना कामदार लाई रोजगार दिएका छन् । उनेकाे पसलमा परीवारका ६ सदस्य सहित  १४ जनाले काम गर्ने गर्दछन् । उनलाई पसलमा अहिले प्रत्यक्ष रूपमा दुई छोराहरूले सघाइरहेका छन् । छोरीहरूले पनि आफूहरू खाली भएको समयमाआएर उनलाई सघाउँछन् । छोरा छोरीले पनि मःमः बनाउन सिकिसकेको उनी बताउँछन् ।

मःमः बनाउदा आफूले पनिर, गाँजर, गोबी, प्याज, स्वायविन लगाएत राख्ने गरेकोले ग्राहकले धेरै मन पराएको उनी बताउँछन् । ‘मैले मःमःमा पनिर,गाँजर तेलमा भुटेर स्वायबिन राख्छु, यसले स्वादलाई मिठाे बनाउँ। यसै कारण ग्राहकहरूले पनि मन पराउनु भयो,’–उनले भने ।

भिमकान्तले मःमः बेचेर नै रुपन्देहीको सैनामैनामा घडेरी पनि जाेडेका छन् । उनी भन्छन् ‘मैले अहिलेसम्म गरेका काम मध्य मःमः व्यवसायमा म एक दमै सन्तुष्ट छु ।’  अहिले उनेकाे पसलमा दैनिक न्यूनतम २५० देखी अधिकतम ४०० प्लेट सम्म मःमःकाे खपत हुन्छ ।

उनले प्रति प्लेट १०० रुपियाँमा मःमः बिक्री गर्छन् । भिमकान्तले अहिले मःमः बेचेर नै सरदर मासिक ६ लाखभन्दा बढी आम्दानी गर्छन् । सटर भाडा, घर भाडा, कामदारको तलब कट्टा गरी उनले मासिक १ लाखभन्दा बढी बचत हुने गरेको उनी बताउँछन् । हरेस नखाईकन आत्मविश्वासका साथ मेहनत गरे स्वदेशमै विदेशको कमाइ गर्न सकिन्छ भन्ने गतिलो उदाहरण हुन भिमकान्त । 

आफूले पढ्न पाएनन्, छोराछोरीलाई पढाए
भिमकान्तले घरको आर्थिक अवस्थाका कारणले आफूले राम्रोसँग पढ्न पाएनन् । आफूले पढ्न नपाए पनि उनले आफ्ना छोराछोरीलाई भने दुःख, कष्ट गरेर नै राम्रो शिक्षादीक्षा दिएका छन् । उनका ४ सन्तान मध्य २ छोरा र २ छोरी छन् । उनकी जेठी छोरी अनिताले  अहिले स्नातक सकेर बसेकि छन् भने कान्छी छोरीले अहिले स्नातक तहमा अध्ययन गर्दै छन् ।

Untitled-3-Recovered

जेठा छोरा सन्तोषले सिभिल इन्जिनियरिङकाे अध्ययन सकेर  बसेका छन्, उनलाई साे भन्दा माथि पनि पढाउने तयारीमा भिमकान्त छन् । कान्छा छोरा नवीनले पनि अहिले सिभिल इन्जिनियरिङ नै पढिरहेका छन् । आर्थीक रूपमा धेरै ठुलाे कमाइ गर्न नसके पनि यही पेशा गरेर दुई छाेरा र दुई छाेरीलाई राम्रो शिक्षा दीक्षा दिन सकेकामा उनी आफ्नाे पेशामा गर्व गर्छन् । 'यो सबै सम्भव यही भेज मःमःले गराएकाे हाे',-उनले भने । 

उनी भन्छन्,‘अहिले त मैले मःमः मा नै समृद्धि देख्न थालेको छु।’

 

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।