ताजा अपडेट »

‘आदिवासीको पहिचान जोगाउन मातृभाषा संरक्षणमा जोड दिनुपर्छ’

बुधबार, ०२ माघ २०८१, १६ : ४९
14 Shares
बुधबार, ०२ माघ २०८१
14 Shares

काठमाडौं । नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासी जनजातिले आफ्नो पहिचान जोगाउन मातृभाषा संरक्षणमा जोड दिनुपर्ने बताएका छन् । 

नेपाल मगर सङ्घले मगर समुदायको प्रमुख सांस्कृतिक पर्व माघे सकरातीकाे अवसरमा आयोजित समारोहमा अध्यक्ष शेर्पाले जातीय पहिचान, कला, संस्कृति, रहनसहन जोगाउन मातृभाषा पहिलो प्राथमिकतामा पर्ने धारणा राखे । 

पछिल्लो समय आदिवासी जनजातिको मातृभाषा लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले शेर्पाले भने, “हाम्रो प्रमुख विशेषता मातृभाषा हो । मातृभाषा रहेमा हामी रहन्छौँ । आज यहाँ कार्यक्रम सञ्चालकले मातृभाषाको प्रयोग गरेको भए उत्प्रेरणा मिल्थ्यो । हामीले भाषाको संरक्षणमा विशेष जोड दिन आवश्यक छ ।” संस्कार, संस्कृति, वेशभूषासँगै मातृभाषाको संरक्षणमा सबै एकजुट हुनुपर्नेमा उनले जोड दिए । 

नेपालका हरेक परिवर्तनमा आदिवासी जनजातिको योगदान महत्त्वपूर्ण भएको उल्लेख गर्दै अध्यक्ष शेर्पाले अवसर भने अन्य समुदायको तुलनामा कम पाएकाले आगामी दिनमा उल्लेख्य सहभागिता जनाउनुपर्ने बताए । “हाम्रो समुदायले प्रत्यक्ष रूपमा प्रकृतिसँग सरोकार राख्दछ । प्राकृतिक स्रोतसाधन बिना आदिवासी जनजातिको जीविकोपार्जन हुँदैन”, उनले भने, “हाम्रा हकअधिकार सुनिश्चित गराउन हामी सचेत हुन आवश्यक छ ।”

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।