ताजा अपडेट »
स्वर्णक्ष्मी सहकारी प्रकरण

स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा रवि लामिछानेकाे थुनछेक बहस आज पनि

जाहेरवालाकाे सकेपछि मात्र प्रतिवादीको पालो

बुधबार, ०२ माघ २०८१, १० : १६
36 Shares
बुधबार, ०२ माघ २०८१
36 Shares

काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाका प्रतिवादी रवि लामिछानेबारेको थुनछेक बहसले आज (बुधबार) पनि निरन्तरता पाउने भएको छ।   पुस २७ गते आफैँ काठमाडौँ जिल्ला अदालत उपस्थित भई न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयान दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेबारे पुस २८ (सोमबार) देखि थुनछेक बहस जारी छ। 

लामिछानेविरुद्ध सोमबार सरकारी र जाहेरवालातर्फका वकिलले बहस गरे।  जाहेरवालातर्फको बहस बाँकी रहेकाले आज सुरुमा उनीहरूकै वकिलले बहस गर्ने काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी अमरबहादुर चन्दले जानकारी दिए।  ‘जाहेरवालातर्फकै केही बहस बाँकी रहेकाले आज सुरुवात उनीहरूबाटै हुन्छ’, सूचना अधिकारी चन्दले भने, ‘यसपछि प्रतिवादीतर्फका वकिलको बहस सुरु हुन्छ।’

मंगलबार माघे संक्रान्तिको सार्वजनिक बिदा भएकाले लामिछानेबारेको थुनछेक बहसले फेरि आजदेखि निरन्तरता पाउने भएको हो। अहिलेसम्म सरकारी वकिलका तर्फबाट खडिन्द्रपराज पन्त, चन्द्रप्रसाद सञ्जेल, सन्तोषराज कटुवाल, राधिका सुवाल र बिना खड्का थापालगायतले बहस गरे भने जाहेरवाला पक्षबाट सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरे। 

पूर्वगृहमन्त्री रवि लामिछानेका तर्फबाट भने वरिष्ठ अधिवक्ताद्वय रमनकुमार श्रेष्ठ र सुशील पन्तले बहस गर्ने तयारी छ। अदालतका सूचना अधिकारी चन्दको भनाइअनुसार सम्भवत: आज उनीहरूले बहस गर्ने पालो पाउनेछन्। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।