ताजा अपडेट »
एचएमपिभी भाइरस

एचएमपिभी भाइरस र हाम्रो अवस्था

मंगलबार, ०१ माघ २०८१, १६ : ५२
24 Shares
मंगलबार, ०१ माघ २०८१
24 Shares

काठमाडौँ । आजभोलि धेरै चर्चा अनि केही त्रसित बनाइरहेको एचएमपिभी भाइरसले समाचारमा विशेष स्थान बनाउँदै आइरहेको छ । अझ भारतीय सञ्चारमाध्यमहरूमा एकपछि अर्कोमा सङ्क्रमण पुष्टि हुँदै गइरहेको भन्ने समाचारले नेपालमा समेत यो भाइरसप्रति चासो ह्वात्तै बढेको देखिन्छ । यो भाइरसले खास गरी हालै चीनमा सयौँ मानिस बिरामी बनाएको, अस्पताल भरिएको, अनि मृत्युसमेत गराइरहेको भनिएको छ ।

चीनमा नै पहिलो पटक देखिएको कोभिड–१९ ले नेपाललगायत विश्वमा हजारौँ मानिसको मृत्यु गराएको केही वर्ष मात्र भएको हुँदा फेरि चीनमा फैलिएको भनिएको यो भाइरसले कतै कोभिड–१९ को बेलामा जस्तो अवस्था फर्काउने त होइन ? भन्ने चर्चा, जिज्ञासा अनि त्रासले सबैलाई तरङ्गित बनाएको छ । वास्तवमा चीनमा देखिएको भनिएको भाइरस के हो ? बन्दाबन्दी (लकडाउन)को सम्भावना कति छ ? कोभिड–१९ मा जस्तै मानवीय क्षति भोग्नुपर्ने अवस्था सिर्जना हुने त होइन भन्ने जस्ता जिज्ञासाहरू यति बेला सर्वसाधारणमा उत्पन्न भएको देखिन्छ ।

कस्तो हो एचएमपिभी भाइरस ?
एक शब्दमा भन्नुपर्दा रुघाखोकी गराउने भाइरस हो भन्न सकिन्छ । खास गरी ‘कमन कोल्ड’ वा ‘फ्लु’को जस्तो लक्षणहरू यो भाइरस सङ्क्रमित बिरामीमा देखिने गर्दछ । अर्थात् यो भाइरसलाई श्वास–प्रश्वाससँग सम्बन्धित सङ्क्रमण पनि भन्न सकिन्छ । यो भाइरस पहिलो पटक सन् २००१ मा मानवमा पुष्टि भएको थियो । विशेषतः बालबालिकाहरू यो भाइरसबाट प्रभावित हुने भनिएता पनि ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरू पनि उत्तिकै प्रभावित हुन सक्ने विभिन्न अनुसन्धानहरूले देखाएका छन् ।

जाडो महिनामा यो भाइरस बढी सक्रिय हुने भए पनि १२ महिना नै देखिने गर्दछ । सङ्क्रमण गरेको तीनदेखि छ दिनमा लक्षणहरू देखिने गर्दछ । सुरुआतमा खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने, नाकबाट पानी आउने वा बन्द हुने तथा श्वास–प्रश्वासमा समस्या देखिने गर्दछ । निमोनिया, ब्रोनकाइटिस जस्ता जटिलताहरू देखिने गर्दछ । यो विशेषतः सङ्क्रमित व्यक्तिले खोक्दा वा हाच्छिउँ गर्दा, हात मिलाउँदा, सङ्क्रमित व्यक्तिको मुखको छिटा कुनै वस्तुमा रहेको र अर्को व्यक्तिले सो वस्तु छोएर सो हातले नाक, मुख अनि आँखामा छुँदा यो भाइरस सर्न सक्दछ ।

एचएमपिभी भाइरसविरुद्ध विशेष एन्टी भाइरल औषधि छैन भने खोपको विकास पनि भइसकेको छैन । लक्षण तथा जटिलताका आधारमा यसको उपचार हुने गर्दछ । यो भाइरसको सङ्क्रमणबाट बच्न विशेष गरी व्यक्तिगत सरसफाइमा नै ध्यान दिनु हो । यसको सर्ने तरिका धेरै हदसम्म कोभिड–१९ को जस्तै भएकाले बच्ने उपाय पनि उस्तै हुने गर्दछ ।

हात साबुन पानीले कम्तीमा २० सेकेन्डसम्म धुने, सङ्क्रमित व्यक्तिको नजिक नजाने, हातलाई नाक, मुख र आँखामा घरीघरी नलग्ने, खोक्दा वा हाच्छिउँ गर्दा हातको बाहुलीले छोपेर मात्र गर्ने, सार्वजनिक स्थलमा सकेसम्म नजाने र जानुपर्ने अवस्थामा मास्क लगाउने र फर्केपछि राम्ररी हात साबुन पानीले धुने गर्नुपर्दछ ।

कस्तो छ छिमेकी मुलुकमा एचएमपिभी भाइरसको प्रभाव ?
अहिलेसम्म न त चीन सरकार न त विश्व स्वास्थ्य सङ्गठनले नै आधिकारिक रूपमा एचएमपिभी भाइरसले गर्दा चीनमा महामारीको अवस्था सिर्जना भएको छ भनेर स्वीकार गरेको छ । अझ हालै रोयटर्सको ‘फ्याक्ट चेक’को विश्लेषणले एचएमपिभी भाइरसले गर्दा चीनमा महामारीको अवस्था नआएको अनि स्वास्थ्य आपत्काल पनि घोषणा नगरिएको भन्ने तथ्य सार्वजनिक गरेको थियो ।

जाडो महिनामा विशेषतः श्वास–प्रश्वाससँग सम्बन्धित लक्षणहरू देखिने हुँदा त्यसका कारक मानिने फ्लु, कोभिड–१९, आरएसभी भाइरस, माइकोप्लाज्मा निमोनियाजस्ता सङ्क्रमणहरू भने देखिएको भनिएको छ । यी सङ्क्रमणहरू सामान्यतया: हरेक वर्ष जसो जाडो महिनामा चीनमा मात्र नभएर नेपाललगायत विश्वका विभिन्न देशहरूमा देखिने गर्दछ ।

कोभिड–१९ ‘प्यान्डेमिक’को समयमा भारतमा नयाँ ‘भेरिअन्ट’ देखिँदा त्यसको केही हप्तामा नेपालमा पनि देखिने गर्दथ्यो । त्यसो हुनाले चीनमा महामारीको रूप लिएको भनिएको एचएमपिभी भाइरस भारतमा पनि देखिएको समाचारले पक्कै पनि नेपाल तरङ्गित नहुने भन्ने कुरै भएन । तर एचएमपिभी भाइरस भारत तथा नेपालका लागि कुनै नौलो भाइरस भने होइन । यो भाइरस वास्तवमा विगतका वर्षहरूमा गरिएका विभिन्न अनुसन्धानबाट समुदायमा रहेको पुष्टि हुँदै आइरहेको थियो ।

नेपालमा गरिएका केही अनुसन्धानहरूले चारदेखि १३ प्रतिशतसम्म बिरामीमा यो भाइरस पुष्टि हुने गरेको देखाएको छ । यस अर्थमा पनि हाल भारतमा एकपछि अर्को एचएमपिभी भाइरस देखिनुमा कुनै विशेष वा त्रसित हुनुपर्ने आधार देखिँदैन । जाडो महिनामा यो भाइरसको परीक्षण नियमित गर्ने हो भने हरेक वर्ष जसो नै देखिने सम्भावना प्रबल रहन्छ । नेपालमा पनि अहिले (जाडो महिनामा) परीक्षण गर्ने हो भने भारतमा जस्तो एकपछि अर्कोमा देखिने सम्भावना रहन्छ ।

यस हिसाबले भाइरस देखिनु आफैँमा महत्त्वपूर्ण वा त्रसित हुनुपर्ने अवस्था होइन तर यसको प्रभावले ठुलो प्रकोपको रूप लिन्छ वा लिँदैन भन्ने कुरा विशेष रूपमा लिनुपर्दछ । यद्यपि, सङ्क्रमण हुनु आफैँमा राम्रो भने होइन । तसर्थ, यसबाट बच्ने उपायलाई भने कार्यान्वयन गर्नु उचित हुन्छ किनभने बालबालिका, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरूका लागि भने कहिलेकाहीँ यो भाइरसले घातक अवस्था सिर्जना गर्न सक्दछ ।

कस्तो अवस्थामा हुन सक्छ एचएमपिभी भाइरस बढी सङ्क्रामक ?
कुनै पनि सरुवा रोग कहिले पनि बढी सङ्क्रामक वा घातक हुँदैन भन्न सकिँदैन । कतिपय सङ्क्रमणहरू कहिले सामान्य त कहिले घातक हुने गरेको विगतका अनुभवहरू छन् । विशेषतः सङ्क्रमणको जिनमा नै परिवर्तन भए बढी सङ्क्रामक वा घातक हुने सम्भावना बढेर जान्छ । जस्तै: कोभिड–१९ निरन्तर र छिटो–छिटो जिनमा परिवर्तन हुँदा÷देखिँदा बहु–लहर देखिनाका साथै थप सङ्क्रामक वा घातक भेरियन्टका रूपमा जन्म भएको थियो ।

यसर्थ, एचएमपिभी भाइरसमा यस्तै (कोभिड–१९ मा जस्तै) अवस्था नआउला भन्न सकिँदैन । श्वास–प्रश्वाससँग सम्बन्धित भाइरसहरू विगतमा अनि भविष्यमा पनि सम्भावित प्यान्डेमिक सङ्क्रमणका रूपमा हेरिँदै आइरहेको रोग हो । हाल एचएमपिभी भाइरसलाई सामान्य रोगका रूपमा लिएको भए तापनि भविष्यमा बढी सङ्क्रामक तथा घातक नहोला भनेर भन्न सकिने अवस्था होइन । तसर्थ, यो भाइरसको नियमित र निरन्तर निगरानी आवश्यक देखिन्छ ।

अन्तमा, एचएमपिभी भाइरस खास गरी जाडो महिनामा बढी सक्रिय भई फ्लुजस्तो लक्षण देखाउने एक सरुवा रोग हो । हाल चीनमा यो भाइरसलाई महामारीको कारक मानिएको हल्ला व्यापक भए पनि यसको विश्वसनीय आधिकारिक पुष्टि भने हुन सकेको छैन । भारत तथा नेपालका लागि यो भाइरस नौलो होइन ।

तसर्थ, हाल भारतमा एकपछि अर्कोमा देखिँदै आइरहेको भनिएको एचएमपिभी भाइरस अनुमानित नै मान्नुपर्दछ । तर भारतमा अस्वाभाविक अस्पताल भर्ना गर्नुपर्ने बिरामी सङ्ख्यामा वृद्धि वा मृत्यु भएको अवस्था नदेखिएमा नेपाल त्रसित हुनुपर्ने कुनै आधार देखिँदैन ।

नेपालमा जाडो महिना लागेसँगै बालबालिकाहरूमा फ्लुको जस्तो लक्षणहरू देखिन सुरु भइसकेको छ । तसर्थ, नेपालमा पनि फ्लु सँगसँगै एचएमपिभी भाइरसको प्रयोगशाला परीक्षण गरियो भने भारतमा जस्तै नेपालमा पनि एकपछि अर्कोमा यो भाइरस नदेखिएला भन्न सकिँदैन, जुन हाम्रो लागि अनुमानित मान्नुपर्दछ ।

(लेखक डा. शेरबहादुर  शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुनुहुन्छ)

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।