ताजा अपडेट »

भैरहवामा ५० मिटर, विराटनगरमा १०० र सिमरामा दुई सय मिटर भिजिविलिटी

मंगलबार, ०१ माघ २०८१, ०९ : ०६
364 Shares
मंगलबार, ०१ माघ २०८१
364 Shares

काठमाडौं । देशभर आज मौसम सामान्यतया सफा रहनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ । हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्नसक्ने विभागले जनाएको छ ।
केही प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहे पनि मौसम सफा रहने विभागले जनाएको छ ।

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस रहेको छ । मौसमविद् सञ्जिव अधिकारीका अनुसार दिउँसो काठमाडौंको तापक्रम बढेर १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्नेछ ।

यसैबीच, चिसो बढेसँगै तराईका जिल्लामा हुस्सु र कुहिरो लाग्नेक्रम बढेको छ । तराईका केही स्थानमा आज बिहान बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

आज बिहान सबैभन्दा धेरै कुहिरो भैरहवामा लागेको छ । भैरहवामा ५० मिटर भिजिविलिटी रहेको छ । विराटनगरमा सय मिटर भिजिविलिटी छ । सिमरामा दुई सय मिटर भिजिविलिटी रहेको मौसमविद् अधिकारीले जानकारी दिए ।

“बाक्लो कुहिरो लागे पनि यो दिनभर लाग्दैन । मध्याह्नसम्म हट्नेछ,” उनले भने । दुई हजारभन्दा कम भिजिविलिटीमा विमान उडान तथा अवतरण गर्न सहज हुँदैन ।

एक किलोमिटरभन्दा कम भिजिविलिटी भयो भने कुहिरो र एक किलोमिटरभन्दा बढी र पाँच किलोमिटरभन्दा कम भिजिविलिटी भयो भने त्यो हुस्सु हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।