बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-७ सिद्देश्वरी लालकुमारी माध्यमिक विद्यालय प्राङ्गणमा खुलेआम मदिरा तथा सुर्तीजन्य पदार्थ विक्रि वितरण हुने गरी महोत्सवको आयोजनाको तयारी गरिएको छ ।
विद्यालय हाताभित्रै मदिराका ठूला-ठूला ब्यानर तथा प्रचार सामग्री राखेर आयोजना गरिएको खाना महोत्सवका लागि बुटवल उपमहानगरनै संरक्षकको रुपमा रहेको आयोजक संस्था होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले बताएका छन् । लुम्बिनी प्रदेश पर्यटन मन्त्रालय प्रवर्द्धकको रुपमा रहेको यस महोत्सवलाई प्रहरी प्रशासनले समेत सुरक्षा गरिहेको छ । यसरी विद्यालय हाताभित्रै कानुन विपरित हुने गतिविधिलाई नियामक निकायहरुलेनै संरक्षण तथा प्रवर्द्धन गर्ने कार्य भएको छ ।
‘नेपाली मौतिक कला सँस्कृति, रैथाने खानाका परीकारहरु हाम्रो सान । शहरदेखि गाउँसम्मको पर्यटन प्रवर्द्धन र बिकास हाम्रो अभियान ।।’–भन्ने आकर्षक नारा दिएर आयोजना गर्न लागिएको महोत्सवको मुख्य प्रायोजकनै दुई वटा ‘रक्सि कम्पनी’ रहेका छन् । जसका लागि मदिरा उत्पादक कम्पनी ‘सागर डिष्ट्रिलरी (रोयल ब्लु)’ हो भने सह प्रायोजकका रुपमा ‘गोर्खा ब्रुअरी’ रहेको आयोजकले जनाएको छ ।
खुलेआम विद्यालय हाताभित्र मदिराजन्य पदार्थ विक्रि वितरण गर्ने कार्यलाई निरुत्साहित गर्नुको सट्टा बुटवल उपमहानगरले नै प्रोत्साहन गर्दै आर्थिक सहयोग गर्नेगरी महोत्सवको संरक्षकको रुपमा सहभागी भएको संघका पदाधिकारीहरुले जानकारी दिए । संघका अध्यक्ष लेखनाथ भण्डारीले विद्यालयमा विदा भएको समय र महोत्सवलाई पर्वको रुपमा हेरिएकाले मदिरा विक्री वितरण गर्ने कुरालाई सामान्य रुपमा लिए ।
‘बुटवल खाना महोत्सव तथा माघे सक्रान्ती मेला-२०८१’ नाम दिइएको महोत्सवमा ७० वटा स्टल रहने बताइएको छ । यस विषयमा जानकारी लिँदा सिद्देश्वरी लालकुमारी माविका प्रधानाध्यापक दिनानाथ गिरीले कानूनी रुपमा गलत भएको स्वीकार गरेपनि आयोजकको आग्रहमा आफूहरुले मैदान उपलब्ध गराएर सहयोग गरेको प्रतिक्रिया दिए । उनले भने ‘कानूनी हिसाबले नमिल्ने हो । हामीले वडा, उपमहानगर र जिल्ला प्रशासनमा अनुमति लिनुस भनेका हौं । उहाँहरुले अनुमति लिनुभयो वा के गर्नुभयो यसबारेमा भने जानकारी छैन ।’ विद्यालय व्यवस्थापनप समितिका अध्यक्ष सागर न्यौपानेको जवाफ पनि उस्तै छ । विद्यालय हाताभित्र महोत्सव गर्न अनुमति दिनुअघि मदिरा तथा सुर्तीजन्य बस्तुको कारोबारका विषयमा चर्चा भएको उल्लेख गर्दै उनले भने ‘स्थानीय सरकार मातहतको विषय भएकाले उहाँहरुलाई (आयोजकलाई) स्थानीय सकारसँग समन्वय गर्नुहोला भनेका हौं । उहाँहरुले के गर्नुभयो त्यसपछि हामीसँग आउनु भएको छैन ।’ अध्यक्ष भण्डारीले स्थानीय सरकारबाटनै अनुमति प्राप्त गरेको विषयलाई विद्यालयले केही गर्न नमिल्ने उल्लेख गरे । साढे ३ करोढ बढी आर्थिक कारोबार गर्ने लक्ष्य राखेको आयोजकले विद्यालयलाई भाडा बापत ३ दिनको १५ हजार रुपैया शुल्क बुझाउने सहमति भएको छ । विद्यालय प्रशासन, स्थानीय सकार, जिल्ला प्रशासन कार्यालय तथा प्रदेश सरकारलेनै विद्यालय प्राङ्गणमा खुलेआम ‘मदिरा महोत्सव’ गर्न दिएको भन्दै आलोचना भएका छन् । आज सोमबारदेखि सुरु हुने भनिएको यो मेला माघ २ गतेसम्म सञ्चालन हुने छ । बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेले महोत्सव आयोजना गर्नका लागि अनुमती दिएको भए पनि मदिरा तथा सुर्तीजन्य पदार्थ विक्री गर्ने अनुमति नभएको उल्लेख गरे ।
विद्यालय हाताभित्र यसरी मदिरा तथा सुर्तीजन्य पदार्थ विक्री वितरण गर्नेगरी भएका गतिविधि गलत भएको बताउँछन् शिक्षा पत्रकार समुहका अध्यक्ष कृष्ण मल्ल । शिक्षा सम्बन्धी विभिन्न ऐनहरुमा विद्यालय प्राङ्गण, विद्यालयका व्यवसायिक सटर तथा भवन, विद्यालयका खेलमैदान तथा प्राङ्गणमा मात्र नभई विद्यालयको निश्चित दूरीमा समेत मदिरा तथा सुर्तीजन्य पदार्थको विक्री वितरण गर्न नपाउने स्पष्ट कानूनी व्यवस्था भएको मल्लले बताए । बि.स २०७५ सालदेखि कालिकापथको इट्टाभट्टा लाइनमा खाना महोत्सव गर्दै आएको संघले यस वर्ष स्थानीयले विरोध जनाएपछि सिद्देश्वर स्कुलको मैदानमा खाना महोत्सव गर्न पुगेको हो । महोत्सवमा खानाको भन्दा मदिराको कारोबार बढी हुने भन्दै स्थानीयले ज्ञापनपत्र नै बुझाएर विरोध गरेपछि व्यावसायीहरु बाध्य भएर स्कुलको मैदानमा पुगेका हुन् ।
प्रतिक्रिया