भैरहवा, २७ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सकारात्मक सोँचलेनै युवाहरूलाई चुनौतीहरुसंग जुध्न र सफलताकालागि अघि बढ्न प्रेरित गर्ने बताएका छन् । । लियो क्लबले आयोजना गरेको दोस्रो काउन्सिल बैठकलाई भैरहवामा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले हरेक क्षेत्रमा युवाहरू सकारात्मक दृष्टिकोणका साथ अघि बढ्न सक्दा सफलता प्राप्त हुने बताएका हुन ।
‘तपाई जहाँ लाग्नुहुन्छ निष्ठापूर्वक, इमानदारीताका साथ लाग्नुस् । दृढ सङ्कल्प लिनुस् सफलता प्राप्त सहजै हुन्छ’उनले भने,‘लोभ गर्ने, अहङ्कार पाल्ने हो भने सफलता प्राप्त हुँदैन । आजको भोली कुनै चिजको परिणाम प्राप्त हुँदैन । तर, निरन्तर लागेपछि अवश्य सुखद परिणाम प्राप्त हुन्छ । ’युवाहरूलाई स्वदेशमा उद्यमशीलता र स्वरोजगारको अवसर सृजना गर्न सरकारले प्राथमिकतामा राखेको बताउँदै अवसरहरूको खोजी स्वदेशमै गर्न आह्वान गरे ।
‘युवाहरूको साथमा सरकार छ । यहाँहरूलाई उद्यमशीलता र रोजगारी सुनिश्चित गर्ने योजना सरकारले बनाएको छ’ उनले भने,‘लुम्बिनी प्रदेशमा कृषि, पर्यटन, उद्योगको प्रचुर सम्भावना छ । यही केही गर्न सकिन्छ ।’ हरेक क्षेत्रमा श्रेष्ठता हासिल गर्ने गरी क्रियाशील हुन युवाहरूमा आग्रह गर्नु भयो ।‘तपाई जुन क्षेत्रमा लाग्नुहुन्छ, त्यहाँ राम्रो गर्नुस्, श्रेष्ठता हासिल गर्नुस्’उनले भने, ‘गरे के हुँदैन । सबै सम्भव छ । यसलाई उदाहरणमा बदल्न जरुरी छ ।’
प्रदेश सरकारले युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउँदै उनले स्वरोजगारका क्षेत्रमा अघि बढ्न यूवा लाई आग्रह गरे । ‘हाम्रो प्रदेश प्राकृतिक रूपमा सम्भावना नै सम्भावना भएको प्रदेश हो । यहाँ हिमाल छ । पहाड छ । तराई छ । भित्री मधेस छ । गौतमबद्धको जन्मस्थल यही छ’ उनले भने,‘विश्व जगतलाई नै आकर्षित गर्ने सम्भावना र स्रोत हाम्रै प्रदेशमा छ ।’ विदेशमा रहेका युवाहरूलाई पनि स्वदेशमा आकर्षित गर्ने गरी युवाहरूले रचनात्मक काम गर्न जरुरी रहेको धारणा मुख्यमन्त्री आचार्यको छ ।
मुख्यमन्त्री आचार्यले आफ्नो सङ्घर्षशील जीवनको बारेमा समेत युवाहरू माझ प्रकाश पारेका थिए। शिक्षालाई अघि बढाउँदाको सङ्घर्ष, पार्टी निर्माण गर्दा र स्वास्थ्य समस्यासङ्ग जुध्दाको उतारचडावको बेलामा पनि हिम्मत नहारेर अघि बढेकाे स्मरण गरे । ‘म मरेर बाँचेको मान्छे हुँ । क्यान्सर जस्ता थुप्रै रोग सँग जुधे । तर, हिम्मत हारिन । अहिले म तपाईँहरूको माझ यसरी उपस्थित हुन पाएको छु’ उनले भने,‘पवित्र मनले गर्ने हरेक कामहरू सफल हुन्छन् ।
जीवनसङ हार्ने होइन, हिम्मतका साथ अघि बढ्न सक्नुपर्छ । 'त्यागको भावना बोकेर आफू अघि बढेको समेत बताए । ‘समाजमा केही काम गर्न सकिन्छ भन्ने भावनाका साथ अघि बढी रहेको छु । सुशासन कायम गर्न आफैबाट सुरु गर्नुपर्छ भनेर पूर्व विशिष्ट व्यक्तिको सुविधा खारेज गर्ने निर्णय गरे’ उनले भने, ‘सुधारका कामहरू गर्दै जाने हो ।
समाजमा राम्रो सन्देश र भावनाको विकास गर्न जरुरी छ । ’हरेक चुनौतीलाई अवसरको रूपमा बदल्न सक्नुपर्ने, समाज सेवा र सामाजिक गतिविधिमा सक्रिय हुनुपर्ने, बताउँदै उनले उद्यमशीलता र आफ्नै प्रयासबाट नयाँ कुरा सिर्जना गर्नतर्फ लाग्न पनि आग्रह गरे ।
प्रतिक्रिया