ताजा अपडेट »

हुन्डाईको क्रेटा ईभी जनवरी १७मा भारतमा सार्वजनिक हुँदै, के के छन विशेषता ?

शनिबार, २७ पुस २०८१, ०९ : १२
80 Shares
शनिबार, २७ पुस २०८१
80 Shares

काठमाडौं । दक्षिण कोरियाली कार निर्माता हुन्डाईको क्रेटा ईभी पहिलो पटक बजारमा आउँदैछ । कम्पनीको एसयूभी क्रेटा ईभी यही १७ जनवरीमा भारत मोबिलिटी एक्स्पोमा आधिकारिक रूपमा सार्वजनिक हुनेछ । आधिकारिक रूपमा सार्वजनिक हुनुअघि नै भारतमा यसको प्रि-बुकिङ खुला भइसकेको छ । २५ हजार भारु तिरेर त्यहाँका ग्राहकले गाडी प्रि-बुकिङ गर्न सक्छन् । तर क्रेटा ईभीको मूल्य आधिकारिक रूपमा खुलाइएकाे छैन । विभिन्न स्रोतले यसको मूल्य १६ लाखबाट सुरु हुने दाबी गरेका छन् ।

भारतमा नै क्रेटाका कार ११ लाख भन्दा धेरैले चलाउने गरेको हुन्डाईले जनाएको छ ।  बाहिरी आवरण क्रेटाको इन्धनयुक्त गाडीभन्दा यसमा खासै फरक नभएकाले यसलाई पनि धेरैले मन पराउने अपेक्षा गरिएको छ । कारमा भर्टिकल हेडल्याम्प, एलईडी टेललाइट तथा दुवै छेउमा एलईडी लाइट बार राखिएका छन् ।

 यो गाडी चार भेरियन्टमा बजारमा आउनेछ । जसमा एक्जिक्युटिभ, स्मार्ट, प्रिमियम र एक्सिलेन्स भेरियन्ट रहेका छन् । यो कार विभिन्न १० किसिमका कलर भेरियन्टमा पाउन सकिने भारतीय सञ्चारमाध्यमले लेखेका छन् । ८ ओटा मोनोटोन र २ ओटा डुअल-टोन कलरमा यी कार उपलब्ध हुनेछन्, जसमा ३ म्याट फिनिश विकल्प समावेश छन् ।

कस्ता छन् फिचरहरू ?

इलेक्ट्रिक एसयूभीमा डुअल-स्क्रिन ड्याशबोर्ड लेआउट, ड्राइभरका लागि १०.२५ इन्च आकारको डिजिटल डिस्प्ले र १०.२५ इन्चको इन्फोटेनमेन्ट स्क्रिन छ । जसमा ईभी विशेष ग्राफिक्स र मेनुहरू समेत समावेश छन् । यसमा सिङ्गल-पेडल ड्राइभिङ फिचर पनि पाउन सकिनेछ ।

अन्य फिचरको कुरा गर्नुपर्दा क्रेटा ईभीमा वायरलेस फोन चार्जर, डुअल-जोन ट्रेम्प्रेचर कन्ट्रोल, एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, ८ ओटा स्पिकर सहितको बोस साउन्ड सिस्टम, अगाडि तर्फका दुवै सिटमा भेन्टिलेटेड सिट, अटो डिमिङ आईआरभीएम र पानारोमिक सनरुफ पनि यो गाडीमा रहेका छन् ।हुन्डाई क्रेटा ईभी दुई ओटा ब्याट्री प्याक अप्सनमा आउनेछ । जसमध्ये इन्ट्री लेभलमा ४२ किलोवाट आवर क्षमताको ब्याट्री हुनेछ, जसले १३३ बीएचपी पिक पावर जेनेरेट गर्ने बताइएको छ ।

unnamed

त्यस्तै लङ्ग रेन्ज भर्सनमा ५१.४ किलोवाट आवर क्षमताको ब्याट्री पाउन सकिनेछ, जसमा १६८ बीएचपी पिक पावर रहेको छ ।  एक पटकको फुल चार्जमा ४२ किलोवाट आवर क्षमताको ब्याट्रीले ३९० किलोमिटर र ५१.४ किलोवाट आवर क्षमताको ब्याट्रीले ४७३  किलोमिटर रेन्ज दिने दाबी कम्पनीले गरेको छ । 

हुन्डाईको दाबीलाई मान्ने हो भने लङ्ग-रेन्ज क्रेटा ईभीले ७.९ सेकेन्डमा ०-१०० किमि प्रति घण्टाको गति समात्न सक्छ । गाडीसँगै ११ किलोवाटको स्मार्ट वाल बक्स चार्जर पाउन सकिने बताइएको छ । जसले सो ईभीलाई चार घण्टामा १० देखि १०० प्रतिशत चार्ज गर्न सक्ने दाबी छ । यस्तै, फास्ट चार्जरको प्रयोग गरेर ५८ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिनेछ । बाह्य उपकरणहरू पावर गर्न सकिने भेहिकल टु लोड (V2L) प्रविधि पनि यो कारमा राखिएको छ । 

डिजिटल चाबीका साथै यो कारमा स्मार्टफोन तथा स्मार्टवाचबाटै गाडी लक, अनलक र स्टार्ट गर्न सकिने सुविधा छन् ।  कारमा इन-कार पेमेन्ट फिचर पनि छ, जसले गाडी चार्ज गर्दाको शुल्क इन्फोटेनमेन्ट स्क्रिनबाटै तिर्ने सुविधा दिन्छ । यसका साथै हुन्डाईको क्रेटा ईभीमा पर्पल एम्बियन्ट लाइटिङ समेत समावेश छ, जब कि यसको इन्जिन भर्सनमा अम्बर थिम दिइएको हुन्छ । गाडी १७ इन्चको डुअल–टोन एलोय ह्विल तथा टायर घुम्ने क्रममा कम ऊर्जा खपत हुने लो रोलिङ रेजिस्टेन्स (एलआरआर) टायर राखिएका छन् । जसले कारको एरोडाइनामिक्स समेत सुधार्नेछ।

नेपालमा कहिले आउँछ ? 

एसयूभी क्रेटा इभी भारतमा लन्च हुनेवित्तिकै नेपालमा समेत भित्र्याइने बुझिएको छ । नेपालमा हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले फ्रेब्रुअरी महिनामा क्रेटा ईभी सार्वजनिक गर्ने तयारी गरेको छ । पछिल्लो समय नेपाली बजारमा चिनियाँ विद्युतीय गाडीहरूले दबदबा नै कायम गरेका छन् । हुन्डाईको क्रेटा ईभीको आगमनले बजारमा चिनियाँ विद्युतीय गाडीलाई कत्तिको टक्कर दिन सक्छ, त्यो भने हेर्न बाँकी नै छ । उसो त  नेपालमा क्रेटाका कोना र आइनिक ५ मोडलका इलेक्ट्रोनिक कारहरू पनि निकै रुचाइएको छ ।

 क्रेटा आईसीई र ईभीमा कति फरक छ ? 

क्रेटा इलेक्ट्रिक क्रेटा आईसीई (इन्जिन) को मोडेलमा आधारित रहेको छ । क्रेटा ईभी र क्रेटा आईसीई दुवैको भित्री बनावटमा पनि लगभग उस्तै उस्तै देखिन्छ । यद्यपि केही सामान्य परिवर्तन भने पाउन सकिन्छ । क्रेटा ईभीमा सेतो र कालो फिनिश फिचर राखिएको छ भने इन्जिनयुक्त क्रेटा सेतो र खैरो थिममा आउँछ । क्रेटा इलेक्ट्रिकमा नयाँ थ्री-स्पोक स्टेयरिङ ह्विल राखिएको छ, जब कि आईसीई भने फोर-स्पोक स्टेयरिङ ह्विलको साथमा आउने गरेको छ । 

unnamed

ड्याशबोर्डको डिजाइनको कुरा गर्नुपर्दा क्रेटा ईभी र इन्जिन भएको क्रेटा लगभग उस्तै देखिन्छ । तर अलिक विस्तृतमा नियाल्दा भने यी दुईबीच भिन्नता पाउन सकिन्छ । इन्जिन भएको क्रेटामा हवाईजहाज शैलीको गियर लिभर, दुई ओटा कपहोल्डर, एउटा इलेक्ट्रोनिक पार्किङ ब्रेक, सिट भेन्टिलेसनका लागि बटनहरू र ड्राइभ तथा टेरेन मोड नियन्त्रण गर्ने रोटरी डायल समावेश छन् ।

क्रेटा ईभीको कुरा गर्नुपर्दा ड्राइभ मोड डायल, दुई ओटा कप होल्डर र सिट भेन्टिलेसन बटनहरू भएको सरल लेआउट छ ।  दुवै मोडेलमा डुअल-इन्टिग्रेटेड डिस्प्ले, एसी र भेन्ट्सका लागि टच-इनेबल कन्ट्रोल प्यानल छ । डिजिटल चाबीका साथै स्मार्टफोन तथा स्मार्टवाचबाटै गाडी लक, अनलक र स्टार्ट गर्न सक्ने सुविधाहरु पनि क्रेटा ईभीमा राखिएका छन् ।

क्रेटा ईभीको मूल्य भारतीय बजारमा २२ देखि २६ लाख भारुसम्म हुने अपेक्षा छ । जब कि त्यहाँ क्रेटा आईसीईको मूल्य ११ लाख भारुदेखि सुरु हुन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।