ताजा अपडेट »

१७औं पटकसम्म लड्दा जितहार नभएपछि वर्तमान नेपालको नक्सा कोरियो: योङहाङ

शनिबार, २७ पुस २०८१, ०७ : ५४
18 Shares
शनिबार, २७ पुस २०८१
18 Shares

इतिहासको खोज तथा अन्वेषणमा रुचि राख्ने हर्क बहादुर योङहाङ आफूलाई मुन्दुमविद भन्न रुचाउँछन् । पाँचथरको हिलिहाङ गाउँपालिकामा अवस्थित हिलिहाङ दरबारको संरक्षणमा सक्रिय उनी लिम्बूवानका अन्तिम राजा हिलिहाङ योङहाङको ऐतिहासिक पक्ष र राज्य सञ्चालन गरेको दरवारको संरक्षणमा सक्रिय छन् ।  हिलिहाङ फाउण्डेसन नामक संस्था नै स्थापना गरेर उनी संरक्षणमा जुटेका छन् । उनले राजा हिलिहाङ तत्कालीन लिम्बूवानका १७ थुममध्येको एउटा थुम, याङ्वरकको हस्तपुर (यक)गढीका राजा भएको बताए ।

गोरखाका राजा पृथ्वीनारायण शाहले स–साना राज्यमाथि आक्रमण गर्दै लिम्बूवानमा प्रवेश गर्दा याङ्वरक थुमको हस्तपुरगढीका राजा हिलिहाङसँग १७ पटकसम्म युद्ध लडेको तर हारजित नभएको इतिहास रहेको सुनाउँछन् । वास्तवमा हिलिहाङ र पृथ्वीनारयण शाहबीचको सम्बन्ध, ऐतिहासिक पक्ष, दरबारको संरक्षण अभियानलगायतका विषयमा योङहाङसँगकाे कुराकानी ।

पूर्वी नेपाल किराँत वा लिम्बु सभ्यताको प्रवित्र भूमि मानिन्छ । वास्तवमा लिम्बु वा किराँतहरुको ऐतिहासिक पक्ष बताइदिनुहोस् न ?

हामीले सभ्यता र इतिहाससँग मात्रै जोडेर समाज, राष्ट्र, मुलुक र राज्यका कुराहरु गर्न सक्छौं । राष्ट्र के हो, मुलुक के हो अथवा देश के हो वा राज्य के हो भनेर भावी पुस्तालाई सुनाउन र बुझाउन आवश्यक छ । नेपाल नाम रहनु अगाडिको धेरै लामो इतिहास छ । रैथाने परम्परादेखि चलिआएको किराँत सभ्यता र इतिहासलाई हामीले विर्सनु हुँदैन् । किराँत इतिहास र सभ्यता १६६३ तिरदेखिको हो । कतिपय अवस्थामा हाम्रो इतिहासलाई  खण्डीकरण गरिएको छ । त्यसैले इतिहासको वास्तविक पक्षलाई भावी सन्ततीलाई बुझाउन प्रमाण मात्र भएर हुँदैन्, सत्य मात्र भनेर हुँदैन् ।

तथ्यलाई प्रमाणित गरेर जानुपर्छ । फिल्ड र फाइललाई ट्रयाक बनाएर लैजान सकेमात्र इतिहासलाई छर्लङ्ग बनाउन सक्छौं । किराँत सभ्यता र इतिहासलाई हेर्ने हो भने सबै बंशहरु किराँत नै थिए भनेर पनि भन्न सक्छौं । जसमा गोपाल वंशहरु पनि किराँत नै  थिए ।  तर यीनिहरुलाई नेवार जातिको ज्यापू पनि भन्ने गरिन्छ । संसारका इतिहासका विज्ञहरुले पनि यसलाई यसरी नै व्याख्या गरेका छन् । किराँतकाल शासनकालको अन्त्यतिर एक प्रकारको समूह आएको देखिन्छ । इतिहासमा तर्क वितर्क गरिएपनि सत्य यहीँ नै हो । किराँत कालपछिको लिच्छविहरु पनि किराँत नै थिए । मल्लहरु पनि पनि किराँती नै थिए भनिन्छ । यसैगरी शाह र राणाहरु भने मुस्लिम हुन् भनिएको छ । तर खासगरी शाहहरु मगर हुन् । राणाहरु पनि ठकुरी हुन् भन्ने चलन छ । 

राणा र शाह वंशहरुको अन्तर सम्बन्ध किराँतहरुसँग कसरी जोडिनपुग्यो ? 

सुरुमा सबै किराँत नै हुन् । नेवारहरुले पछिल्लो समय बुद्धिज्मलाई बढी फोकस गरेको देखिन्छ । तर नेवारभित्र पनि सबै जातिहरु किराँत अन्र्तगत नै पर्छन् । किराँत शासनको अन्त्यतिर समूह आएर र भित्र छिरेर खण्डीकरण गराएर राज्य सञ्चालन गरेको देखिन्छ ।  किराँत सभ्यता र इतिहास लिच्छिविकालको सभ्यताको इतिहास निकै गर्विलो छ । अहिले राजदरबारको अन्त्य भएपछि मात्रै इतिहासहरु खोजिदैछ । 

राजा हिलिहाङ र पृथ्वी नारायण शाहबीच के कारण सम्बन्ध जोडियो ?

राजा हिलिहाङ योङहाङ तत्कालीन लिम्बूवानका १८ औँ पुस्ताका राजा हुन् । उनले वि.सं. १८१४–१८४४ सम्म शासन गरेको भेटिन्छ । उनी पृथ्वी नारायण शाहका समकालिन राजा हुन् । यि दुवै राजाले १८ सय ३१ साउन २२ गते सम्झौंता गरेपछि  वर्तमान नेपालको नक्सा कोरिन सफल भएको हो । पृथ्वीनारायण शाहले स–साना राज्यमाथि आक्रमण गर्दै पूर्वी क्षेत्रको छुट्टै राज्य लिम्बूवानमा प्रवेश गर्दा याङ्वरक थुमको हस्तपुरगढीका राजा हिलिहाङसँग १७ पटकसम्म युद्ध भएपनि दुवैतर्फबाट हारजित नभएपछि लिम्बूवानलाई स्वतः अधिकार दिने गरी गोरखा–लिम्बूवानबीच सम्झौता भएको हामीले इतिहासमा पढेका छौं । 

त्यतिबेला हिलिहाङ र उनका सन्ततिले हस्तपुर याङ्वरक (यक)मा शासन संचालन गर्न पाउने, शाहवंशीय राजालाई दाजु र लिम्बूवानका राजालाई भाइ मान्ने, केन्द्रीय सरकार गोरखालाई मान्ने, हस्तपुर (याङ्वरक) यकमा तैनाथ सैनिक (तिलिंगा)हरुलाई लाग्ने सम्पूर्ण खर्च राजा हिलिहाङ आफैंले स्वधिकार प्रयोग गर्न पाउने र सम्भावित सबैतिरका आक्रमणलाई दुवै पक्ष मिली परास्त गर्ने सहमति भएको पनि हामीले इतिहासमै पढेका हौं ।

मैंले लामो अध्ययन अनुसन्धान गरेपछि नेपाल सरकारसँग मुद्दा लडेर पनि काम गरेको छु । पछिल्लो  समय नेपाल सरकारले पनि सम्बोधन गरेपछि सबै जाति, धर्म, लिंङ्गभन्दा माथी रहेर हिलिहाङ फाउण्डेसन संस्था दर्ता गरेका हौं । फाउण्डेसनको टिमले विभिन्न पहलकदमीहरु गरेपछि सरकारले अहिले करौंडौको लगानीमा दरबारको संरचनाहरु संरक्षण गरिरहेको छ । सबै जातिपाति, धर्म, लिंङ्ग समुदायको  आ–आफ्नो सभ्यता वा संस्कार र इतिहासहरु खोज्दै विश्वलाई बुझाउँदै जानु र लानुपर्छ भन्ने मान्यता हाम्रो हो । एकले अर्कालाई सम्मान र सम्मानित हुँदै जानु र लानु भनेको देशमा विकास हुनु हो । समृद्धि हुनु हो र निकास निस्किनु हो । 

पृथ्वी नारायण शाहको फौज र हिलिहाङ राजाको फौजहरुबीच सम्बन्ध चाहीं कस्तो रहेको पाइन्छ ?

भित्री रुपमा विभिन्न किसिमका राजनीतिक वा रणनीतिहरु योजनाहरुका कारण एक प्रकारको खण्डीकरण भएको देखिन्छ । सानो–सानो राजा रजौटाहरुको जन्म भएको  देखिन्छ । ती मध्ये एउटा हिलिहाङ पनि हुन् । र ती मध्ये पृथ्वी नारायण शाह पनि हुन् । पछिल्लो समय पृथ्वी नारायण के गरे, के गरेनन् भनेर हुँदैन् । ओभरल एउटा विशाल नेपालको कन्सेप्ट बनाएर उहाँले नेपाल एकीकरणको अभियान अगाडि बढाउनुभयो । पश्चिमबाट अभियान चलाउँदै गर्दा सबैतिर उहाँले राजनीतिक, रणनीतिक  र कुटनीतिक अस्त्रहरु प्रयोग गरेर र कतै मित लगाएर काम गरेको देखिन्छ ।

राजनीति र रणनीति अपनाएर बिशाल नेपाल निर्माणको एउटा सपना उहाँको थियो । उहाँले जुन अभियान सुरु गर्नुभयो त्यो अभियान एक प्रकारले सफल पनि भएको देखिन्छ । तत्कालीन हिलिहाङ राजाले पनि सहजीकरण गरेपछि एउटा सभ्य–भब्य सम्झौतामार्फत नेपालको नक्सा कोर्न सफल भएको हामीले पाउँछौं । साना गाउँ नै पिच्छे, ठाउँ नै पिच्छे साना ठूला राजा रजौटाहरु थिए । तीनिहरु एकीकरण गर्ने काममा दुबै राजाले भूमिका खेलेको देखिन्छ । नेपाल एकीकरण गर्ने अभियान अगाडि त लिम्बुवानका विभिन्न राजा रजौटेहरुको सिक्किसम्म सम्बन्ध थियो ।

हिलिहाङको फुपुलाई सिक्किमका राजाले बिवाह गरेर लगेका थिए । जसको कारण सिक्किबाट पनि साइनो वा सम्बन्ध हात हतियारहरुसँग पनि थियो । जसका कारणले अहिले पनि उता सिक्किमबाट राजारानी आएर बस्ने हिलिहाङ दरबारकै माथिल्लो डाँडामा अहिले पनि भोटेगढी छ । नेपाल एकीकरणको अभियान चलाउँदा पश्चिमबाट त हारेकै हुन् । जब लिम्बुहरुसँग पुगेपछि १७ औं पटकसम्म युद्ध लड्दा पनि अन्तत दुबैको जितहार नभएपछि एउटा सभ्य र भव्य सम्झौता गरेको र वर्तमान नेपालको नक्सा कोरिन सफल भएको हो । 

अरु व्यक्तिगत अन्तर सम्बन्ध थिएन् ?

राजनीतिक, रणनीतिक र कुटनीतिक सम्बन्ध थियो । त्यस बाहेक राज खान्दानको एउटा दौत्य सम्बन्ध थियो । जसका कारणले सिक्किमबाट पनि सहयोग आएको देखिन्छ । लिम्बुहाङ सेना र सिक्किमको संयुक्त र पृथ्वीनारायण शाहका सेनासँग लडाइ भएको पाइन्छ । जुन १७ औं पटक लड्दा नि हारजित नभएपछि अन्तिममा सम्झौता गरेको देखिन्छ । 

हिलिहाङ दरबार क्षेत्रको संरक्षणको अभियानमा जुटिरहँदा त्यस दरबारलाई राज्यले कस्तो नजर राखेको पाउनुहुन्छ ?

हिलिहाङ फाउन्डेसनको माग दाबी भनेको नै एउटा विशाल नेपालको परिकल्पना गर्ने र त्यसमा हिलिहाङलाई पनि उचित सम्बोधन गरिनुपर्छ भन्ने हो । दुबैलाई पृथ्वीनारायण शाहलाई जसरी राज्यले सम्बोधन गरेको छ त्यसरी नै लिम्बुहाङका अन्तिम राजा हिलिहाङलाई पनि सम्बोधन गरिनुपर्छ भनेर हामीले अडान लिइरहेका छौं । पछिल्लो समयमा राज्यले सम्बोधन गरेर करोडौंको संरचनाहरु हिलिहाङ राजाको स्मृतिमा संरचना बनाइरहेको छ । भर्खरै हिलिहाङको स्मृतिमा विशाल दरबार बनाइसकेको छौं । पुरातात्विक हिसाबले फोटोजेनिक शालिक गेट अर्थात प्रवेशद्धार बनाइसकेको छौं । उहाँकै नाममा पहाडमा खेल मैदान बनाइसकेको छौं । जसको कारण पछिल्लो समयमा राज्य सकारात्मक भएको देखिन्छ । उहाँको जन्मोत्सव पनि मनाउन थालेको आधा दशकजति भइसकेको छ । 

दरबारका लागि योजना र बजेट विनियोजनमा स्थानीय सरकार कत्तिको सकारात्मक छ ? 

स्थानीय तहको सहयोगले नै दरबारको संरक्षण संभव भएको हो । फाउन्डेसनको माग अनुसार धेरै काम भएको छ । दरबार कुनै पार्टी वा जातिको मात्र होइन् । हामी सबैको हो । सबै पार्टीले सहयोग गरेका छन् । 

हिलिहाङ राजाले छुट्टै नक्सा तयार पारेको भन्ने चर्चा छ, त्यो सत्य हो ?

एकदम सत्य हो । अहिले पनि नेपाली सेनाको झण्डा जस्तै लिम्बुहाङले प्रयोग गर्ने गरेको पाइन्छ । सम्झौतापछि चाँही डबल बनाएको पाइन्छ । त्यो झण्डाहरु अहिले नेपाली सेनासँग देख्न सकिन्छ । त्यस कारण त्यसबेला लिम्बुहरु बलिया थिए भन्ने प्रमाण हो । एकीकरण गरिसकेपछि ०६२–६३ को जनआन्दोलन भन्दा अगाडिको हरेक पैसामा राजदण्डको लोगो हेर्न सकिन्छ । त्यहाँ राजदण्ड दुबैले सम्झौता गरेपछि एकातिर गोर्खाली, अर्कोतिर लिम्बुहाङ सेनाले राजदण्डलाई सुरक्षा दिएको लोगो पैसामा छ । जनआन्दोलनपछि मात्र लोगो हटाइएको देखिन्छ । 

हिमालयको वरीपरि त्यतिबेला किराँत सभ्यता बोकेको इतिहास थियो । नक्सा त्यही किसिमको थियो । अहिले नक्सा खुम्चिएको हो । भारतका कतिपय भाग किराँत राज्य थियो । त्यसको सन्धी सम्झौताबारे लेखकहरुले पनि लेखिसक्नुभएको छ । पाँचवटा वुँदामा सम्झौता भएको छ । परस्पर दाजुभाइको नाता कायम हुनेगरी सम्झौता भएको छ । अहिले विभिन्न लोकसेवाका कितावहरुमा पनि पढ्न पाइन्छ । त्यो सम्झौता दाजुभाइको नाताको हेर्दा सबै जातिय हिसाबले अलिकति फरकपन देखिएछ भनेपनि हामी एउटै हौं भन्ने सन्देश हो । किनकी पृथ्वीनारायण शाह र हिलिहाङको सम्झौता अनुसार दाजुभाइ हो है भनेर लेखिएको छ । सम्झौता अनुसार छिमेकी मुलुकमा संयुक्त युद्ध लड्ने जस्ता लिखित सम्झौता थिए । 

हजुरले पृथ्वी नारायण शाहलाई चाहीं कसरी बुझ्नुहुन्छ ? 

पृथ्वी नारायण शाह र हिलिहाङबच् िसम्झौता गरिसकेपछि १८३१ पुसमा पृथ्वीनारायण शाह मारिएको इतिहास पनि पढेका छौं । तर इतिहास बाङ्गिएको छ । उहाँलाई विषकन्या प्रयोग गरेर मारिएको हो नि त । तर यो कुरा धेरै इतिहासकारहरुले किन बोल्न चाहेनन् मलाई थाहा छैन् । तर उहाँलाई विषकन्या प्रयोग गरेर मारिएको हो । त्यसमा हामीले आफ्नो ढंगले खोज अनुसन्धान गर्न सकिन्छ । उहाँको हत्यापछि धेरै कुराहरु आउन थाले । राजेन्द्र लक्ष्मीदेवी शाह र बहादुर शाहको द्धन्द्ध सुरु भयो । त्यसले गर्दा उक्त सम्झौता छाँयामा पर्न पुग्यो ।

नेपाल एकीकरणको अभियान जे जस्तो एउटा परिकल्पना पृथ्वीनारायण शाहले गर्नुभयो तर यसलाई ठोस रुपमा पूरा गर्ने काम काममा बहादुर शाहको ठूलो भूमिका खेल्नुभएको छ  । तर इतिहासमा बहादुर शाहलाई छायामा पारिएको छ । बहादुर शाहको खासै चर्चा परिचर्चा हुने गरेको देखिदैन् । र नेपाली जनताले पनि खासै चर्चा गरेका छैनन् । तर एकीकरणको परिकल्पना पृथ्वीनारायण शाहले गर्नुभयो । सबैभन्दा बढी दुःख बहादुर शाहले गरेको देखिन्छ । 

हिलिहाङ दरबारको संरक्षण गर्न अब के के गर्न बाँकी छ ? 

दरबार त राज्यको सम्पति हो  । त्यो  राज्यको  सम्पतिलाई राज्यले नै संरक्षण, प्रर्वद्धन र ऐतिहासिक हिसावले गर्नुपर्छ । हामीले त खोतल्ने र बाहिर निकाल्ने काम मात्र गरेका हौं । अहिले धेरै कामहरु भएका छन् । पुरातात्व विभागले त २०७०÷७१ सालमै दरबारको उत्खनन् गरेको हो । अब चाहीं दरबारलाई पुरातात्विक हिसावले सम्र्वद्धन गरेर पूर्वी नेपालकै एउटा विशाल पर्यटकीय स्थल बनाउनुपर्ने आवश्यक्ता छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।