काठमाडौँ । आफ्नो कामबाट खाली हुनुभयो भने तपाईँ के गर्नुहुन्छ ? पक्कै पनि फोन निकालेर स्क्रोल गर्न थाल्नुहुन्छ होला । सबैजसो सामाजिक सञ्जालमा अकाउन्ट छँदै छ, मेसेजीङ एपमा नोटिफिकेसन उस्तै छन् । यस्तोमा सबै नोटिफिकेसन हेरेर मेसेजको रिप्लाई दिनै पर्यो । यति बेला तपाईँको ‘स्क्रिन टाइम’ अन हुन्छ ।
यस्तो व्यस्त समयमा मनोरञ्जन पनि लिनै पर्यो । त्यसका लागि फिल्म वा मन पर्ने कुनै सिरियल छुटाउनै भएन । यो पनि स्क्रिन टाइममै गएर जोडियो । अफिसमा लामो समयसम्म कम्प्युटरमा बसेर काम गर्नुपर्यो, फेरि यता पनि स्क्रिन टाइम जोडिहाल्यो । सामान्य अर्थमा भन्नुपर्दा स्क्रिनमा हेरिरहनु नै स्क्रिन टाइम हो ।
यति लामो समय सम्म स्क्रिनमा रहँदा स्क्रिन टाइम पनि बढ्छ । अब यसको परिणाम टाउको दुख्न थाल्छ । त्यसैले, यसबाट जोगिन ब्रेक लिनुपर्ने हुन्छ । तपाईँलाई पनि कहिलेकाहीँ टाउको दुख्ने समस्या त पक्कै भएको होला । अहिले यो टाउको दुखाइलाई स्क्रोलिङ र स्क्रिन टाइमसँग जोडेर हेर्ने गरिएको छ ।
डाक्टरका अनुसार टाउको दुख्ने धेरै कारण हुन सक्छन् । खास गरी थकान, ग्यासट्राइटिस, निन्द्राको कमी, तनाव वा रक्सीको सेवनले टाउको दुखाउन सक्छ । तर, यसैमा लामो समयसम्म स्क्रिन हेर्नु पनि टाउको दुखाइको कारणका रूपमा जोडिने गरेको छ ।
मोबाइल, ल्यापटप वा टिभीजस्ता डिभाइसहरू लामो समयसम्म हेर्दा पनि टाउको दुखाइको समस्या देखिन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार धेरै लामो समयसम्म स्क्रिन हेर्दा आँखामा तनाव पर्न सक्छ । आँखा सुख्खा हुन्छन् । यसले गर्दा टाउको दुखाइको समस्यालाई बल मिल्छ । लामो समयसम्म स्क्रिन हेर्दा टाउको दुखाइको समस्यालाई कसरी बल पुग्छ होला ?
डाक्टरहरूको अनुसार यदि तपाईँ लामो समयसम्म स्क्रिन हेर्दै वा त्यसमा काम गर्दै बस्नुहुन्छ भने तपाईँको गर्दन झुकेको अवस्थामा रहन सक्छ । यसले तपाईँको स्पाइन (मेरुदण्ड)मा तनाव उत्पन्न गर्छ । जसका कारण टाउको दुखाइको समस्या देखिन्छ ।
तपाईँको बसाई गलत छ भने त्यसले तपाईँको काँध र गर्दनमा थप तनाव पुर्याउन सक्छ । यसले टाउको दुख्ने समस्या निम्त्याउन सक्छ । टेन्सन हेडेक (तनावका कारण हुने टाउको दुखाइ) चारमध्ये तीन वयस्कलाई प्रभाव पार्न सक्छ । जसमा किशोरकिशोरी पनि समावेश छन् ।
त्यस्तै स्क्रिनबाट आउने उच्च गतिको प्रकाश पनि टाउको दुखाइको कारण हुन सक्छ । डाक्टरहरू भन्छन्, यो स्क्रिनबाट आउने लाइटले मान्छेको मस्तिष्कमा केमिकलको स्तर बढाउन सक्छ । लामो समयसम्म स्क्रिन हेर्दा आँखामा तनाव (आई स्ट्रेन) बढ्छ जसका कारण टाउको दुख्न सक्छ ।
टाउको दुखाइलाई के कस्ता कारणले बल दिन्छ भन्ने विषयमा थप अन्वेषण भइरहेको छ । चाहे त्यो खराब तरिकाको बसाइ होस्, स्क्रिनको दूरी, तनाव, आँखाको तनाव वा स्क्रिनबाट निस्किने उच्च गतिको प्रकाश होस्, यी सबै विषयमा अनुसन्धान भइरहेको छ ।
“टाउको दुख्ने समस्या बढ्दै गएको छ किनभने हाम्रो समाज अहिले सात दिन चौबिसै घण्टा सक्रिय समाज बनेको छ,” बीबीसी हिन्दीसँगकाे कुराकानीमा न्युरोलोजिस्ट डा. मञ्जरी त्रिपाठी भन्छिन्, “बच्चा र युवाहरू निन्द्रा त्यागेर रातभर काम गरिरहेका हुन्छन् ।”
उनी अगाडि भन्छिन्, “आजकल बालबालिका धेरैजसो मोबाइल, टिभी हेर्छन् र सामाजिक सञ्जाल (सोसल मिडिया) मा सक्रिय रहन्छन् । भर्चुअल संसारको प्रयोग निकै बढेको छ । यसका कारण टाउको दुखाइ पनि स्क्रिन टाइमसँग सम्बन्धित हुने गरेको पाइन्छ ।”
जति धेरै हामी कृत्रिम प्रकाश (आर्टिफिसियल लाइट) र स्क्रिन टाइमको सम्पर्कमा आउँछौँ टाउको दुख्ने समस्या त्यति नै बढ्ने सम्भावना रहेको डा. त्रिपाठीको भनाइ छ । “हामीले अनुसन्धान पनि गरेका थियौँ त्यसले पनि के देखाएको छ भने यदि स्क्रिन टाइम कम गरियो भने टाउको दुखाइ कम हुन्छ,” उनले थपिन् ।
यी निलो प्रकाश (ब्लु लाइट) उत्सर्जन गर्ने डिभाइसको प्रयोगले निन्द्रामा पनि बाधा पुर्याउन सक्छ । धेरै किशोर किशोरीहरू रातभर यस्ता डिभाइस चलाउँछन् जसले उनीहरूको स्मरण शक्ति (याद गर्ने शक्ति) मा पनि असर पार्न सक्ने डाक्टरहरू बताउँछन् ।
“लगातार सामाजिक सञ्जालको प्रयोगलाई एक प्रकारको ‘सफ्ट एडिक्सन’ (मन्द लत) मानिन्छ । जो व्यक्ति लगातार सामाजिक सञ्जालको सम्पर्कमा रहन्छन् उनीहरूलाई ‘ब्रेन रट’ भन्ने गरिन्छ,” डा. त्रिपाठीले भनिन्, “यस्तो अवस्थामा, मानिसहरूको स्मरण शक्ति कमजोर हुन थाल्छ, टाउको दुख्ने समस्या देखा पर्छ र दिमागमा ‘फग’ (ब्रेन फग) जस्तो महसुस हुन्छ ।”
‘ब्रेन रट’ का कारण मस्तिष्कले सामान्य रूपले काम गर्न सक्दैन । त्यस्तै अर्को शब्द ‘पपकर्न ब्रेन’ पनि प्रयोगमा आएको छ । यसले त्यो अवस्थालाई जनाउँछ जहाँ हाम्रो मस्तिष्क निरन्तर एक विषयबाट अर्को विषयमा सर्न थाल्छ । यसले गर्दा स्मरण शक्ति सही रूपमा विकास नै हुन सक्दैन ।
यस्ता मन्द किसिमका लतले टाउको दुख्ने समस्या, स्मरण शक्ति कमजोर हुने र मानसिक थकान बढाउने काम गर्छन् । निरन्तर स्क्रोलिङ र मल्टिटास्किङले मानिसको ध्यान केन्द्रित गर्ने क्षमतामा गम्भीर असर पुर्याउँदैछ ।
स्क्रिन स्ट्रेसलाई कसरी कम गर्न सकिन्छ ? विश्व स्वास्थ्य सङ्गठनका अनुसार २० मिनेटसम्म काम गरेपछि (स्क्रिन हेरेपछि) २० सेकेन्डका लागि २० फिट टाढा कुनै चिज हेर्नुपर्ने हुन्छ । अर्थात् ब्रेक लिनुपर्ने हुन्छ । तपाईँको डिभाइस वा ग्याजेट तपाईँको आँखाबाट कति टाढा छ भन्ने विषय निकै महत्त्वपूर्ण हुन्छ । त्यसैले सुरक्षित दूरी राख्नुहोस् । तपाईँको डिभाइस वा ग्याजेटसँग एउटा निश्चित दूरी कायम गर्नुपर्ने हुन्छ ।
अब यी टाउको दुखाइका कारण बन्ने विभिन्न अवस्थाबाट बच्न के गर्ने ? बिच-बीचमा ब्रेक लिँदै गर्नुहोस् । तनाव नलिनुहोस् । खाना राम्रोसँग खानुहोस् । पर्याप्त निद्रा लिनुहोस् र स्क्रिनसँग सुरक्षित दूरी राख्नुहोस् ।
-बीबीसी हिन्दीको सहयोगमा
प्रतिक्रिया