बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तरगत नवलपुरको दुम्कीबासमा पुल भासिँदा अवरुद्ध सडक डाइभर्सन निर्माणपछि आंशिक सञ्चालनमा आएको छ । शुक्रबार साँझ करिब ५ बजेको समयमा पुल भासिएपछि पूर्व–पश्चिम यातायात अवरुद्ध भएको थियो ।
सडक अवरुद्ध भएपछि बीचमै अलपत्र परेका यात्रु तथा सवारी साधनलाई गन्तव्यतर्फ पठाउन डाइभर्सन निर्माण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । डाइभर्सन निर्माणसँगै साँझ करिब ७ बजेदेखि ठूला तथा साना सवारीका साधन चल्न सक्ने भएका हुन् । डाइभर्सनलाई थप सहज बनाउनका लागि थप निर्माण कार्य भने जारी रहेको छ ।
पुल भासिएपछि भारतीय मालबहाक ट्रकको ओभरलोडका कारण पुल भासिएको भन्दै सर्वत्र आलोचना भएका छन् । नेपालका ढुवानी व्यवसायी तथा विभिन्न संघ-संस्थाहरुले भारतीय मालबहाक ट्रकहरु सडक क्षमताभन्दा ओभरलोड हुने गरेको भन्दै नियन्त्रण गर्नुपर्ने आवाज उठाउँदै आएका छन् । शुक्रबार पनि पुलमा मालबहाक भारतीय ट्रक (लरी) गुडिरहेको समयमा पुल भासिएको थियो ।
नवलपरासीमा रहेकामध्ये विनयी खोला पुल सबैभन्दा लामो हो । सोही पुल भासिदा राजमार्ग अवरुद्ध बनेको थियो ।
प्रतिक्रिया