ताजा अपडेट »
उदाहरणीय सामुदायिक विद्यालय:

कान्तिको क्रान्ति गरेका ‘हेड सर गोविन्द’

शुक्रबार, २६ पुस २०८१, १९ : ५२
686 Shares
शुक्रबार, २६ पुस २०८१
686 Shares

बुटवल । आज भन्दा १९ वर्ष अघि बुटवलको हाटबजार स्थित कान्ति माध्यमिक विद्यालयमा जम्मा ३२५ जना विद्यार्थीहरु मात्रै थिए, भन्दा झट्ट विश्वास नलाग्न सक्छ । तर,  वि.स. २०६२ सालमा कान्तिमा गोविन्द ज्ञावली अध्यापनका लागि त्यस विद्यालयमा जाँदा जम्मा ३२५ विद्यार्थी नै थिए ।

‘म कान्तिमा २०६२ सालमा जोडिएको हुँ । त्यो बेला विद्यालयको अवस्था कमजोर नै थियो । कान्ति माविमा आउनु भन्दा अघि २ वर्ष शान्ति माविमा अध्यापन गराएको थिए,’ उनले विगतलाई सम्झदै भने । त्यो बेला कान्ति विद्यालयमा १६ कोठा मात्रै थिए ।

२०६२ मा कान्तिमा अध्यापन गराउन भन्दै कान्ति छिरेका गोविन्द ज्ञावली २०६६ सालमा भने विद्यालयको प्रधानाध्यापक बने । ज्ञावली प्राध्यानाध्यापक हुनु भन्दा अघि नै वि.सं. २०६४ सालमा उनकै नेतृत्वमा कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापन संकायमा पठनपाठन सुरु भयो । 

‘म २०६६ साल पुस ८ गते विद्यालयको प्रधानाध्यापकमा नियुक्त भएको थिए । त्यस भन्दा पहिला मेरो नेतृत्वमा नै विद्यालयमा शिक्षा र व्यवस्थापन संकायमा वि.स. २०६४ सालमा कक्षा ११ मा पढाई सुरु भएको थियो,’– उनले भने ।

पुसमा प्रधानाध्यापक बनेका गोविन्द ज्ञावलीले शैक्षिक शत्र २०६७ बाट नै अंग्रेजी माध्यममा पनि पठनपाठन सुरु गरे । त्यस पछि कान्तिले निरन्तर रुपमा छलाङ्ग मार्न सुरु गर्यो । अहिले कान्तिले सामुदायिक विद्यालयमा पढाई गुणस्तरीय हुँदैन भन्नेहरुलाई गतिला झापट हानेको छ ।

२०६७ सालमा नर्सरीबाट अंगे्रजी सुरु गरेको विद्यालयमा २०७५ सालमा आउँदा १२ सम्म नै अंग्रेजी माध्यमम पढाइ सुरु भयो । ‘२०६७ नर्सरीबाट कान्तिमा अंगे्रजी माध्यमबाट पनि पढाई भएको थियो । २०७५ सालसम्म आउँदा नर्सरीदेखि कक्षा १२ सम्म नै अंगे्रजी माध्यममा पठन–पाठन सुरु गर्न सफल भयौँ,’– उनले भने ।

331491548_650931980121784_7966507668877519017_n

यस्तै वि.स. २०६७ सालबाट नै विज्ञान संकायमा पनि पठनपाठन भयो । सुरुको वर्षमा नै विज्ञान संकायमा १०० जना भन्दा बढी विद्यार्थी भर्ना भए । यो १९ वर्षको विचमा कान्तिले शैक्षिकसँगै सम्रग विद्यालयको भौतिक पूर्वाधारको विकासमा पनि लोभ लाग्दो तरिकाले फड्को हान्यो । वि.स. २०६२ सालमा जम्मा १६ वटा कोठा रहेको विद्यालयमा अहिले ९५ वटा कोठामा पठन–पाठन् हुन्छ ।

‘म सुरुमा आउँदा त जम्मा १६ वटा कोठा मात्रै थिए । अहिले ९५ वटा कोठामा पठन–पाठन मात्रै हुन्छ । लाइबे्ररी, अफिस, होस्टेल सबै जोड्ने हो भने त १०० भन्दापनि धेरै कोठा छन्,’–उनले भने । विद्यालयमा हाल २४ स्थायी शिक्षकसहित २०० भन्दा बढी शिक्षक, कर्मचारीहरु कार्यरत रहेका छन् ।

बाँकी शिक्षक कर्मचारीलाई विद्यालयको आन्तरिक स्रोतबाट तबल दिदैँ आएको र अझै २४ जनाशिक्षकको अभाव रहेको प्रधानाध्यापक ज्ञवाली बताउँछन्। विद्यालयले हाल १८ वटा बसबाट पूर्व सुनवल, पश्च्मि हरैया, दक्षिणमा तिलोत्तमा म्रणिग्रामबाट २ हजार ३०० विद्यार्थीहरुलाई लाउने ल्यौजाने गर्छ ।

विद्यालयमा अनुभवी र दक्ष शिक्षक तथा शिक्षिकाले अध्यापन गराउने गरेकाले विद्यालयले राम्रो नजिता हासिल गर्न सकेको कारणले विद्यार्थीहरुको आकर्षण निरन्तर रुपमा बढीरहेको दावी गरे । साथै यो वर्षदेखि विद्यालयलाई अझ व्यवस्थित सूचना अधिकारी, गुनासो सुन्ने अधिकारी, छात्रा सञ्जाल संयोजक र सूचना प्रमुखको व्यवस्था गरेको उनले बताए।

वि.सं २००८ सालमा पुरानो बुटवलमा सुरु भएको गणेश विद्या भवन प्राइमेरी स्कुल र खस्यौलीमा सुरु भएको जनता भवन प्राइमरी स्कुलको एकीकरण गरी वि.स. २०१० साल पुस २ गतेदेखि गणेश जनता विद्या भवन प्राथमिक विद्यालयको नामबाट हालको कान्ति माविको सुरुवात भएको थियो ।  २०३३ सालमा आएर मात्रै स्कुलको नामाकारण कान्ति राखिएको थियो ।

विद्यालयको २ विगाहा १० कठ्ठा ३ धुर क्षेत्रफलमा रहेको छ । यस्तै विद्यालयको रुपन्देहीको सैनामैना नगरपालिका वडा ५ मा समेत १० कठ्ठा जग्गा रहेको छ ।

विद्यार्थीको लोभ लाग्दो आर्कषण
पछिल्लो केही वर्षयता विद्यालयमा विद्यार्थीहरुको लोभ लाग्दो आर्कषण देखिन्छ । विद्यालयमा भर्ना भएर पठन–पठान हुन चाहनेहरुका लागि ठूलै सकस नै पर्छ । जसको कारणले विद्यालयले प्रवेश परीक्षा लिएर मात्रै भर्ना लिदैँ आएको छ ।

१९ वर्ष अघि ३२५ विद्यार्थी संख्या रहेको त्यो संख्या हाल १७ गुणा भन्दा बढीले बढेको देखिन्छ । हाल विद्यालयमा र्सरीदेखि १२ कक्षासम्म गरी करिब ५ हजार ६०० विद्यार्थी छन् । कान्ति मावि अहिले देश भरकै सबै भन्दा धेरै विद्यार्थी संख्या हुनेमा पर्छ ।

गतवर्ष विद्यालयमा भर्ना हुन आएका सबै विद्यार्थीहरुलाई भर्ना गरेको भए, विद्यालयमा ७ हजार भन्दा धेरै विद्यार्थीहरु हुने प्रधानाध्यापक ज्ञावली बताउँछन् । ‘अहिले विद्यालयमा ५ हजार ६०० विद्यार्थीहरु अध्ययनरत छन् । गतवर्ष १५ सय भन्दा बढी विद्यार्थीहरुलाई भर्ना लिन नसक्दा फिर्ता गर्नु पर्योे,’–उनले भने ।

विद्यालयमा पढन आउने सबैलाई भर्ना लिने चाहना हुँदाहुँदै पनि विद्यालयको क्षमता काकारण विद्यार्थीहरुलाई भर्ना गर्न नसक्दा दुःखलाग्ने गरेको ज्ञावली बताउँछन् । कान्ति मावि वि.सं. २०७१ सालको तत्कालिन एसएलसी परीक्षामा पश्चिमाञ्चाल प्रथम भएको बताए ।

यस्तै २०७३ सालको एसईई परीक्षामा प्रदेश नं. ५ प्रथम, २०७६ सालको कक्षा ११ को नतिजामा सामुदायिक विद्यालयतर्फ नेपाल प्रथम भएको विद्यालयले कक्षा ११ र १२ को बोर्ड परीक्षामा पनि राष्ट्रिय रुपमै उत्कृष्ट नतिजा प्राप्त गरिरहेको छ।

लुम्बिनी प्रदेश सरकार शिक्षा तथा सामाजिक विकास मन्त्रालयबाट आर्थिक वर्ष २०७७/७८ का लागि रुपन्देही जिल्लाको उत्कृष्ट विद्यालयको रुपमा सम्मानित सम्मानित भयो । यसका साथै विभिन्न समयमा भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगिता विजेता तथा उपविजेताका रुपमा सम्मानित हुँदै आएकोे छ ।

कान्तिले २०८० सालमा आन्तराष्ट्रिय गुणस्तर (आइएसओ) को मान्यता प्राप्त गरेको थियो । सो विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुले विभिन्न विधामा पूर्ण छात्रवृत्ति पाउँदै आएको ज्ञावलीले बताए ।

विज्ञान संकायमै पनि विद्यार्थीहरुको चाप
विद्यालयमा अहिले कक्षा ११ मा विज्ञान संकायमा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या उल्लेखनीय रुपमा छ । विद्यालयमा रहेको ल्याब, अतिरिक्त क्रियाकलाप लगायतका कारणले पनि विज्ञान संकायमा चाप रहेको प्रधानाध्यापक ज्ञावली बताउँछन् । अहिले कक्षा ११ र १२ विज्ञान संकायका मात्रै १०÷१० वडा सेक्सन रहेका छन् । गतवर्ष विद्यालय विज्ञान संकायमा मात्रै ५३५ जनाविद्यार्थीहरु भर्ना भएका थिए ।

‘ग्रेडिङ्ग स्टिमका कारणले गतवर्ष अधिकांश विद्यालयमा विज्ञान संकाय पढ्ने विद्यार्थीको संख्या घटेको थियो । तर, हाम्रो विद्यालयमा भने अहिले सम्मकै धेरै विद्यार्थीहरु भर्ना भए, सायद विज्ञान संकायमा सबै भन्दा धेरै अध्यापन गर्ने विद्यायल नै कान्ति हो,’–ज्ञावलीले भने ।

विज्ञान संकायमा मात्रै होइन, व्यवस्थापन र शिक्षा संकायमा पनि विद्यार्थीहरुको आकर्षण नै छ । व्यवस्थापन संकायमा पनि अहिले कक्षा ११ मा १० वटा सेक्सन छन् भने शिक्षा संकायमा अहिले एउटा सेक्सन मात्रै रहेका छन् ।
‘विज्ञान संकाय मात्रै होइन, व्यवस्थापन र शिक्षा संकायमा पनि विद्यार्थीहरुको उल्लेखनीय चाप नै छ , व्यवस्थापन संकायतर्फ पनि कक्षा ११ मा १० वटा सेक्सन मात्रै छन्,’– उनले भने ।

यस्तै विद्यालयको भवनको नाम बुटवलको ऐतिहासिक स्थल झल्कने गरी नामाकरण गरिएको छ । विद्यालयमा रहेका भवनको ब्लकको नाम जीतगढी, तिनाउ, रामापिथेक्स र हिलपार्क राखिएको छ ।

वि.व्य.स. गठनमा ढिलाई, ‘२०७३ को जस्तै अवसर गुम्ने चिन्ता’
अहिले कान्ति मावि ९ महिनादेखि विद्यालय व्यवस्थापन समितिविहिन अवस्थामा छ । कान्तिमा विद्यालय व्यवस्थापन समितिविहिन भएको यो पहिलो घटना भने होइन।  वि.सं. २०७३ सालमा पनि कान्ति विद्यालय व्यवस्थापन समितिविहीन भएको थियो । त्यो बेला व्यवस्थापन समिति गठन समयमा हुन नसक्दा हातमा आएको अवसर गुमाउनु परेको तितो अनुभव ताजा नै रहेको प्रधानाध्यापक ज्ञावली गुनासो गर्छन् ।

‘यस भन्दा पहिला पनि २०७३ मा विद्यालय व्यवस्थापन समिति गठनमा विलम्ब हुँदा नमुना विद्यालय हुनबाट चुकेको तितो अनुभव मलाई अहिले पनि ताजा नै छ, यसकारण मैले सम्बन्धीत निकायलाई तत्काल समिति गठन गर्न आग्रह गरिरहेको नै छु,’– उनले भने ।

वि.स. २०६२/६३ सालमा विद्यालयको अवस्था कमजोर हुँदा समितिमा बस्न कोहि पनि नमान्ने गरेको र अहिले भने धैरेले आकांक्षा राख्दा समस्या भएको उनी बताउँछन् । समिति नहुँदा विभिन्न योजनाको माग गर्न त दिर्घकालीन योजना काम अघि बढाउन समस्या भएको प्रधानाध्यापक ज्ञावली बताउँछन् ।

समिति गठन नहुँदा बाहिर विद्यालयप्रति नकारात्मक धारण गएको बताउँदै ५ हजार भन्दा बढी विद्यार्थीहरुको भविष्यमाथि खेलवाड नगरी तत्काल सहमति गरी निकास निकाल्न प्रमुख राजनीतिक दलहरुलाई आग्रह गरे । यस्तै विद्यालय व्यवस्थापन समिति नहुँदा २४ जना शिक्षकको आवश्यकता रहेता पनि नियुक्त गर्न नसकिएको उनले बताए ।

स्नातक संचालनगर्ने सोच तर, कानुन बाधक
कान्ति माध्यमिक विद्यालयले स्नातक (ब्याचर) संचालन गर्ने सोचमा रहेता पनि कानुन बाधक हुँदा रोकिएको छ । ‘हामी व्यवस्थापन संकायमा स्नातक तह संचालन गर्ने सोचमा त थियौ, तर कानुनतः एकै ठाउँ संचालन गर्न नमिल्ने कानुन हुँदा संचालन गर्न सकिएको छैन्,’– प्रधानाध्यापक ज्ञावलीले भने ।

स्नातक तह संचालन गर्नका लागि अभिभावकहरुबाट पनि पटक–पटक आग्रह हुँदै आएको उनी बताउँछन् । अन्य विद्यालयसँग मर्ज गरेर जान खोजे पनि उपहानगरपालिकाले मर्जको लागि स्वीकृति दिएको छैन् ।

‘अहिले कान्तिसँग मर्ज गर्न लक्ष्मी, जनज्योति, भवानी मावि विद्यालय तयार नै छन् । तर, उपमहानगरपालिको स्वीकृति नदिँदा यो तत्कालका लागि प्रक्रिया रोकिएको छ,’– उनले भने।

 

 

 

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।