तिलोत्तमा । सार्वजनिक शैक्षिक गुठी न्यु लाइट माविले अभिभावकलाई स्वस्थ खाना बनाउने तालिम प्रदान गरेको छ । ‘अभिभावकलाई सीप’ कार्यक्रम अन्तर्गत आयोजित ३ दिने निःशुल्क ‘हाइजेनिक फुड प्रिपेरेसन ट्रेनिङ’को समापन गर्दै तिलोत्तमा नगरपालिका वार्ड नं. १ का वडाध्यक्ष फर्सुराम गिरीले विद्यालयको नौलो खालको कार्यक्रमको प्रशंसा गरे ।
“विद्यालयले अभिभावकलाई स्वस्थ खाना बनाउने तालिम दिएको पहिलोपटक सुन्दैछु” गिरीले भने, “बालबालिकालाई जंक फुडको असरबाट बचाउन विद्यालयले आयोजना गरेको तालिम सह्राहनीय र अनुशरणीय छ ।” समापन कार्यक्रममा विद्यालयका प्राचार्य रमेश ज्ञवालीले विगत केही वर्षदेखि विद्यालयले समुदायसँग जोडिने कार्यक्रमहरु आयोजना गरिरहेको र त्यहीं कार्यक्रम अन्तर्गत अभिभावकलाई सीप कार्यक्रम शुरुवात गरिएको उल्लेख गरे ।
तालिममा सहभागी अभिभावक कालिका काफ्ले र जमुना थापाले घरमै उपलब्ध हुने सामग्रीले स्वस्थ खाना बनाउने तालिम पाएकोमा खुसी व्यक्त गरे र व्यवहारमा लागु गर्न थालेको पनि बताए । समापन समारोहमा तालिममा सहभागी ३० जना अभिभावकहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
तालिममा यस क्षेत्रका ख्यातीप्राप्त होटल म्यानेजमेण्टका प्रशिक्षक विशाल श्रेष्ठले विभिन्न परिकारको बनाउने तालिम दिएका थिए भने र होटल म्यानेजमेण्टका विद्यार्थी शिशिर कुमाल र सोफिया भण्डारीले सहयोगी प्रशिक्षार्थीको भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा तिलोत्तमा वार्ड नं. १ का वडासदस्यहरु हिरादेवी विक र विष्णुप्रसाद पाण्डेको पनि सहभागिता रहेको थियो । समापन कार्यक्रम विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष खड्गबहादुर गौतमको अध्यक्षता र मावि कोअर्डिनेटर गोकुल पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया