ताजा अपडेट »

११ विद्यार्थीलाई पत्रकारिता छात्रवृत्ति

शुक्रबार, २६ पुस २०८१, १५ : ४७
12 Shares
शुक्रबार, २६ पुस २०८१
12 Shares

काठमाडौं । सूचना तथा प्रसारण विभागले पत्रकारितामा अध्ययनरत ११ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

विभागको कार्यालयमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालको उपस्थितिमा छात्रवृत्ति वितरण गरिएको हो । सचिव अर्यालले मर्यादित र वास्तविक पत्रकारिता गर्न विद्यार्थीहरुलाई सुझाव दिइन् ।

पछिल्लो समय समाचार पहिचान गर्नै नसकिने अवस्था आएको बताउँदै सचिव अर्यालले दक्ष पत्रकारको अभाव खड्किँदै गएको बताइन् । विभागका महानिर्देशक प्रदीप परियारका अनुसार छात्रवृत्ति स्वरुप जनही रु २५र २५ हजार प्रदान गरिएको छ । गत वर्ष रोकिएको छात्रवृत्तिलाई पुनः निरन्तरता दिएको महानिर्देशक परियारले जानकारी दिए । अनलाइन फाराममार्फत विद्यार्थीको समावेशीता, अवस्था र आवश्यकता ख्याल गरेर छात्रवृत्ति वितरण गरिएको उनको भनाइ छ ।

उनका अनुसार कक्षा १२ र स्नातक तहमा अध्ययनरत ३२ विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिएका थिए । मधेसी र मुस्लिम समुदायका विद्यार्थीको आवेदन नपरेको उनले बताए । यो वर्ष छात्रवृत्ति पाउनेमा लक्ष्मी तामाङ, रुपेश थापा, शशाङ्क कोइराला, प्रकाश कपाली, मञ्जुली कोजु, आर्जु सत्याल, स्वस्तिका तिमल्सिना, तेन्जिङ डोल्सा तामाङ, सुमन मचामसी, अमिता परियार र नवराज सोती छन् ।

सो कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले सामाजिक सञ्जाल र पत्रकारिता बीचको फरक छुट्याएर पत्रकारिता गर्नुपर्ने धारणा राखे । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले दक्ष र सक्षम पत्रकारको अभाव भएको बताउँदै सरकारले यसका लागि आमसञ्चार प्रतिष्ठान छिट्टै गठन गर्नुपर्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।