ताजा अपडेट »

व्यावसायिक किबीखेती गर्दै गुल्मी भार्सेका किसान

शुक्रबार, २६ पुस २०८१, ०७ : १४
42 Shares
तश्विरः टिका श्रीष
शुक्रबार, २६ पुस २०८१
42 Shares

गुल्मी । कुनै समय लाहुरेहरुको बस्ति भएको ठाँउभनि आफनो पहिचान बनाएको गुल्मीकाे भार्से आज सांकृितक सम्पदा गाउँका रूपमा परिचित छ । जिल्लामा व्यावसायिक किवी खेतीमा किसानको आकर्षण बढ्दै गएसंगै याहाँकाे पहीचान किवी खेती मार्फत पनि चिनिन थालेकाे छ । 

जिल्लाको सत्यवती गाउँपालिका–८ अन्तर्गत भार्सेका किसानले किवी बिक्री गरेर वार्षिक रु ८० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । २०६५ सालदेखि किवी लगाउन थालेका त्यहाँ किसानको बारी यति बेला किबीका लहराले ढपक्कै ढाकेको छ । भार्सेका किसान यति बेला किवीको व्यावसायिक उत्पादन सुरु गरेपछि उनीहरूको आर्थिक स्तर समेत वृद्धि हुँदै जान थालेको छ ।

जिल्लामा सबैभन्दा धेरै किवी उत्पादन गर्ने पालिकामा सत्यवती गाउँपालिका पर्छ । सत्यवतीको भार्सेमा हाल ४० हेक्टर क्षेत्रमा किवीको व्यावसायिक रूपमा उत्पादन हुँदै आएको छ । यो वर्ष त्यहाँका किसानले ८० टनभन्दा बढी किवी उत्पादन गरेको स्थानीय किसान एवं वडा सदस्य यमबहादुर थापाले जानकारी दिए । भार्सेमा उत्पादित किवी स्थानीय बजार तथा पाल्पा र बुटवलसम्म पुग्ने गर्छ । बजारमा उपलब्ध किवीको तुलनामा भार्सेमा उत्पादित किवीको औसत मूल्य रु दुई सय छ । यहाँका किसानको मुख्य आम्दानी यति बेला किबीखेती बनेको छ ।

kiwi

सत्यवती गाउँपालिकाले भार्सेलाई किवीको पकेट क्षेत्र घोषणा गरेसँगै किवी उत्पादनमा स्थानीयको आकर्षण बर्सेनि बढ्दै गएको हो । किवी खेतीको व्यावसायिक उत्पादनका लागि किसानलाई गाउँपालिकाबाट प्राविधिक सहयोगदेखि तालिम, बिरुवा, पोल निर्माण र सिँचाइलगायत क्षेत्रमा सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष टीकाराम सापकोटाले बताए । यस वर्ष पनि गाउँपालिकाबाट नर्सरी स्थापना, बगैँचा व्यवस्थापनसँगै किवीको जाम र वाइन बनाउने तालिम प्रदान गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिए ।

भार्सेका किसान यमबहादुर थापाले व्यावसायिक रूपमा किबीखेती गर्दै आएका छन । उनले लगाएका एक सय ५० बोटमध्ये एक सय ३० बोटले फल दिन थालेको बताए । यस पटक थापाले २५ क्विन्टल किवी स्थानीय बजार हुँदै पाल्पा र बुटवलसम्म बिक्रीका लागि पठाएका छन् । गत वर्षको तुलनामा यस पटक उत्पादन बढेसँगै किवीको मूल्य घटेको उनको भनाइ छ । उनको बारीमा ‘रेडकिबी’, ‘हेवार्ड’, ‘एलिसन’, ‘ब्रुनो’ गरी चार जातका किवी रहेका छन् । अन्य खेतीको तुलनामा किवीबाट राम्रो आम्दानी हुने उनको अनुभव छ । यीमध्ये एलिसन जातको किवी मीठो र स्वादिलो हुने थापाले बताए ।

bharse

सिजनमा भार्सेका बारी किवीले ढपक्कै ढाकिएका हुन्छन् । किवीको बिरुवाले रोपेको तीन वर्षबाटै फल दिन सुरु गर्दछ । यसले एउटै बोटबाट ६० देखि एक सय २० किलोसम्म फल दिने गरेको वडाध्यक्ष होमबहादुर रानाले बताए । बाँदर, बँदेल र चराचुरुङ्गीबाट अन्य खाद्य बाली जोगाउन समस्या परेको अवस्थामा किबीखेती त्यहाँका किसानका लागि वरदान साबित भएको छ ।

किवी बढी झुसिलो हुने भएका कारण पनि अन्य वन्यजन्तु टाढै बस्ने गरेको बताइएको छ । जिल्लामा एक हजार दुई सय मिटरदेखि दुई हजार मिटर उचाइसम्म किबीखेती गरिँदै आएको छ । गुल्मीमा सत्यवती गाउँपालिकालगायत काली गण्डकी, मदाने, मालिका, धुर्कोट, छत्रकोट लगायत पालिकामा किवीको व्यावसायिक खेती गर्न थालिएको छ ।

किवी फल एक स्वस्थ र स्वादिष्ट फल मानिन्छ । किवीमा भिटामिन ‘सी’ धेरै हुने भएका कारण यसले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । यसमा फाइबरसमेत पाइने भएकाले पाचन प्रक्रियालाई पनि राम्रो बनाउन मद्दत गर्छ । यसलाई जुस बनाउन र सलादका रूपमा प्रयोग गर्ने गरिन्छ । यो फलमा धेरै पौष्टिक तत्त्व भएका कारण सबै उमेर समूहका व्यक्तिका लागि उपयुक्त मानिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।