ताजा अपडेट »
शैक्षिक बहस

शिक्षकहरुले नै विद्यालय बनाउँछन्

शुक्रबार, २६ पुस २०८१, ०८ : ०१
144 Shares
शुक्रबार, २६ पुस २०८१
144 Shares

साँझको ५ बज्दै थियो हामीहरु बुटवल कालिका क्याम्पस पुग्दा । रुपन्देहीको बुटवल बेसक्याम्प नजिकै रहेको सो क्याम्पसका बारेमाभन्दा पनि कालिका मानवज्ञान माविका बारेमा बुझ्न इच्छुक भएर आएका थिए विहिवार, गुल्मी सत्यवती गाउँपालिका वडा नं.८, भार्से जनसहयोग मावि, विद्यालय व्यवस्थापन समितिका साथीहरु । टोलीमा वडाध्यक्ष एवम् सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर राना, सत्यवती गाउँकार्यपालिका सदस्य कमला काउचा, समितिका सदस्य सचिव एवम् प्रअ लोकहरि पाण्डेय, समितिका सदस्य नरबहादुर बुढाथोकी, युवराज काउचा । कालिका मानवज्ञान माध्यमिक विद्यालय बन्द भएको कारण विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष होमबहादुर गलामी र पूर्वप्रअ घनश्याम पाठकले कालिका मानवज्ञान माविको शैक्षिक र भौतिक प्रगतिका सन्दर्भमा बेलीबिस्तार लगाए । अहिले उनीहरु दुबैजना बुटवल कालिका क्याम्पसका अध्यक्ष र क्याम्पस प्रमुखका रुपमा क्रियाशील छन् । 

भार्से जनसहयोग मावि २००८ सालमा स्थापित गुल्मीको नामी स्कुल हो । कुनैबेला उक्त विद्यालयमा एक हजार पाँच सय बढी विद्यार्थी पढ्थे । आज उक्त विद्यालयमा एक सय १८ जना विद्यार्थी छन् । यसपालिको एसईईमा ११ जना विद्यार्थी सहभागी हुँदैछन् । हिजोका विद्यार्थी आज कहाँ गए ? विद्यार्थी संख्या किन दुब्लायो ? यसका बारेमा छुट्टै खोज, अध्ययन र अनुसन्धान गर्नुपर्ला तर आज जति विद्यार्थी छन् उनीहरुलाई कसरी गुणस्तरीय शिक्षा दिन सकिएला ? खास कुरा यहीं छ । हामी संख्यालाई आधार मानेर विद्यालयको मूल्याङ्कन गर्दैछौं । के यो सत्य हो ? मूल्याङ्कनको आधार नै विद्यार्थी हो ? एकपटक शिक्षासँग सरोकार राख्ने सबैले यो कुरालाई मनन गर्नुपर्ने देखिन्छ । 

गाउँमा बाटो पुग्यो । तर त्यो बाटो हुँदै गाउँलेहरु बसाइँ सरेर सहर ताकिए । गाउँमा विजुली पुग्यो तर बाल्ने मान्छे गाउँमा छैनन् । गाउँमा स्वास्थ्य चौकी बन्यो, स्वास्थ्यकर्मीहरु पुगे, ओखती गाउँमा पुग्यो तर विरामीहरु उपचारका लागि सहरतिर गए । धारा, पँधेराहरु प्रयोगविहीन हुँदैछन् । भार्सेले यही नियति भोगीरहेको छ । भार्से त हजारौं गाउँका दर्दनात्मक पीडाको प्रतिनिधि गाउँमात्र हो । दाँत झरेका हजुरबाबा र हजुरआमाहरुले गाउँका जीर्ण घरहरु रआफ्नै काल कुरिरहेका छन् । आजको यो अवस्था भार्से गाउँको मात्र होइन । सिंगो देशको चुनौतीको विषय बनेको छ । 

क्याम्पस सञ्चालक समितिका अध्यक्ष होमबहादुर गलामीले आफू पढ्दाको भार्से जनसहयोग माविको सन्दर्भ र समयलाई व्याख्या गरे । विद्यार्थी घट्नुका कारण खोजे । गाउँमा मानिसहरु घट्दै गएकोमा चिन्ता व्यक्त गरे । विद्यालयलाई राम्रो बनाउन शिक्षकहरुले नै सक्छन् भन्ने उनको निचोड थियो । आफूहरुले केवल व्यवस्थापन गर्न सक्ने तर शैक्षिक गुणस्तरीयताको लागि विद्यालय प्रशासन प्रमुख प्रअ र शिक्षकहरुले पहल गर्नुपर्नेमा जोड दिए । राजनीतिले विद्यालयलाई गाँजेको कुरा सुनाए । शिक्षक नियुक्तिमा पनपक्ष गर्न नहुनेमा उनको जोड थियो । उनका धेरै कुरामा सहभागीहरुले टाउको हल्लाए । त्यतिबेला बुद्ध सूर्यवंशी र विजय रानाभाटले होमबहादुर गलामीका कुरामा गम खाइरहेका थिए । 

कालिका मानवज्ञान माविका पूर्वप्रअ एवम् वर्तमान क्याम्पस प्रमुख घनश्याम पाठकले आफ्ना तीतामीठा अनुभवहरु करिव डेढघण्टा सुनाए । उनको जोड थियो प्रअले सक्षम नेतृत्व गर्न सके, राम्रोसँग  व्यवस्थापकको भूमिका निर्वाह गर्न सक्षम भए र सवल योजना निर्माण एवम् कार्यान्वयन गर्न सकेमा शैक्षिक गुणस्तरीयता कायम हुनेमा दुईमत नरहेको बताए । विद्यार्थी थोरै हुनु चिन्ता नरहेको बरु उनीहरुलाई कसरी गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्ने कुरामा सरोकारवालाहरुले चिन्तन गर्नुपर्ने बताए । ‘विद्यार्थी फेलरहीत विद्यालय’’ बनाउन सरोकारवालाहरुले पहल गरेमा नतीजा सकारात्मक निस्किनेमा आफू ढुक्क रहेको बताए । 

‘शिक्षकको मोरल डाउन हुन दिनुहुन्न । उनीहरुलाई प्रशंसा, सम्मान र सहयोग गर्दै गएमा विद्यालयको नतीजा सतप्रतिशत् आउँछ ।’  पाठकले जोड दिए । उनले भने ‘राजाको काम कहिले जाला घाम’ यस्तो व्यवहारले शिक्षकको प्रतिष्ठा घटाउँछ । आत्मसम्मानमा आँच पुराउँछ । हर शिक्षकले आफू ‘शिक्षक हुनुमा गर्व गर्नुपर्छ’ उनको सोच थियो । ‘भन्ने र गर्ने’ कुराको तादम्यता मिलाउन सक्नुनै राम्रो नतीजा ल्याउने बाटो रहेको उनको तर्क थियो । कक्षा तीनसम्म पढ्नेहरुलाई पढाईमा जोड र त्यसमाथिका विद्यार्थीका पढाईमा ध्यान सकिएमा नतीजा सकारात्मक आउने देखिन्छ । कुन कक्षाका विद्यार्थीलाई जोड र कुन तहका विद्यार्थीलाई ध्यान दिनेभन्ने ज्ञान नहुँदा विद्यार्थीको नतीजाले मार खाइरहेको पाठकले सुनाए । 

कक्षाकोठामा पूरा समय पढाउने, संस्कृति र सभ्यतालाई प्रमुख रुपमा ध्यान दिने, विद्यार्थीलाई सम्मानजनक शब्दले सम्बोधन गर्ने, सहशिक्षण क्रियाकलाप, अतिरिक्त क्रियाकलापमा जोड दिने र अनुशासनमा विशेष चासो दिन सकिएमा विद्यालय स्वतः निर्माण हुनेछ । विद्यार्थीले सोचेकोभन्दा राम्रो नतीजा ल्याउन सक्छन् । यी सबै कुरा घनश्याम सरले सुनाइरहँदा कार्यपालिका सदस्य कमला काउचाले भिडियो खिचिइरहिन् । मोबाईल समाइरहँदा उनका हात पाट्टिएपनि मन,मस्तिष्कमा उर्जा थपिएको मैले अनुमान गरें । 

भार्से जनसहयोग माविका प्रअ लोकहरि पाण्डेयले विद्यालयको भौतिक एवम् शैक्षिक अवस्था, अभिभावकहरुका अवस्था र सामाजिक परिवेशका बारेमा जानकारी दिए । लौरो हातमा लिएर विद्यार्थी तर्साउन आफूले नसक्ने बताए । समस्या रहेको तर समाधान गर्न एकैपटक नसकिने बताए । समितिका सदस्य नरबहादुर बुढाथोकीले आफूहरु विद्यालयमा भौतिक एवम् शैक्षिक प्रगतिका लागि कटिवद्ध रुपमा लागेपनि परिणाम सोचेजस्तो आउन नसकेकोमा आफूहरु खुबै चिन्तित रहेको बताए । 

खिस्स हाँसिरहने युवा वडाध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर रानाले छलफलमा प्राप्त ज्ञानलाई आफ्नो विद्यालयमा लागू गर्न अभ्यास गर्ने बताए ।  समाज परिवर्तनका लागि राजनीतिमा लागेपनि विद्यालयमा आफूले राजनीतिलाईभन्दा शैक्षिक गुणस्तरीयता र नतीजालाई पहिलो प्राथमिकतामा राख्दै आएको सुनाए तर नतीजा सोचेजस्तो नआएकोमा दुःखी रहेको बताए । उनले आफ्नो गाउँ भार्सेको अवलोकन र भार्से जनसहयोग माविमा आफ्ना शिक्षक, अभिभावक र विद्यार्थीलाई अभिमुखीकरणका लागि निम्तो दिन  उनले भुलेनन् । पाठक सर र होमबहादुर गलामीले आफूहरु छिट्टै भार्से आउने आश्वासन दिए । 


 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार