ताजा अपडेट »

न्युट्रास्युटिकल्स तथा सौन्दर्य प्रशाधनका नाममा प्रतिबन्धित औषधि बिक्री

शुक्रबार, २६ पुस २०८१, ०६ : ४५
24 Shares
शुक्रबार, २६ पुस २०८१
24 Shares

काठमाडौँ। औषधि व्यवस्था विभागले भिटामिन तथा खनिज मिश्रित फर्मास्युटिकल बनावटका औषधिहरू न्युट्रास्युटिकल्सका नाममा र औषधि मिश्रित आइन्टमेन्ट, क्रिमहरु सौन्दर्य प्रसाधन सामग्रीका नाममा आयात गरी बिक्री वितरण भइरहेको भन्दै तत्काल रोक्न सार्वजनिक सूचना निकालेको छ।

विभागले बजार अनुगमनका क्रममा न्युट्रास्युटिकल्स तथा सौन्दर्य प्रसाधनका नाममा प्रतिबन्धित र दर्ता नभएका औषधि बिक्री भइरहेको फेला परेको भन्दै बिक्री वितरण रोक्न सूचना निकालेको हो। विभागले अनुगमनका क्रममा फार्मेसीहरूमा यस्ता सामग्री फेला परेमा कारबाही गर्ने चेतावनी पनि दिएको छ। 

'विभागमा दर्ता नभएका र नेपाल सरकारबाट प्रतिबन्धित औषधिहरू समेत बिक्री वितरण भइरहेको पाइएकोले यस्ता औषधिहरूको बिक्री वितरण अविलम्ब रोक्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना पुनः प्रकाशित गरिएको छ। यस सूचनाको अवज्ञा गरी त्यस्ता उत्पादनहरू निरीक्षणको क्रममा विक्री वितरण गरेको पाइएमा कानुन अनुसार जफत तथा औषधि ऐन, २०३५ बमोजिम कारबाही हुने छ,' विभागद्वारा जारी सूचनामा भनिएको छ।


विभागले निरीक्षणका क्रममा सरकारबाट २०४९ सालमा नै प्रतिबन्धित गरिएका भिटामिन तथा खनिज सम्मिश्रण समेत बजारमा भेटिएको भन्दै कारबाहीको चेतावनी दिएको हो।  विभागमा दर्ता भएका औषधिहरूसँगको सक्रिय तत्त्व र ब्रान्ड नामसँग दुरुस्त मिल्दोजुल्दो हुने र देखिने गरी न्युट्रास्युटिकल्स तथा सौन्दर्य प्रसाधनका नाममा विभागमा दर्ता नै नगरी आयात गरी औषधि पसल मार्फत बिक्री वितरण भइरहेको समेत फेला परेको भन्दै विभागले यस्ता गैर कानुनी काम रोक्न भनेको छ। 

दर्ता नभएका सामग्रीले स्वास्थ्यकर्मी र बिरामीमा भ्रम सिर्जना भइरहेको उल्लेख गर्दै विभागले दर्ता नभएका यस्ता औषधि तथा सामग्रीमा औषधिको सुरक्षितता, गुणस्तरीयता र मूल्य सार्थकता यकिन नहुने हुँदा जनस्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने जोखिम सृजना भएको उल्लेख गरेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।