ताजा अपडेट »

बामे गतिमा बुटवलमा बन्ने भनिएको बृहत कृषि उपज बजार

विहीबार, २५ पुस २०८१, १८ : ३३
160 Shares
विहीबार, २५ पुस २०८१
160 Shares

बुटवल । बुटवलमा बन्ने भनिएको आधुनिक प्रविधियुक्त बृहत कृषि उपज बजारका लागि जग्गाको टुङ्गो नलाग्दा गति लिन सकेको छैन । २ अर्ब रुपैयाँ भन्दा बढी लागतको आधुनिक प्रविधियुक्त थोक कृषि बजार निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया पूरा नहुँदा ६ वर्ष पुग्न लाग्दा पनि यो योजना सुरु हुन सकेको छैन । 

बुटवलको पुरानो बसपार्कमा रहेको कृषि थोक बजार केन्द्र साँघुरो भएकाले बुटवलको वडा नंं. १५ र १६ मा पर्ने सेमलारमा संघीय सरकारको कृषि मन्त्रालयले एकीकृत थोक कृषि बजार बनाउने प्रक्रिया अघि बढाएपनि जग्गाको टुङ्गो नलाग्दा यो योजना सुरु हुन सकेको छैन । कृषि उपज संकलन, प्रशोधन तथा ब्राण्डिङ गरी स्वदेशी तथा विदेशी बजारमा बिक्री वितरण गर्ने उद्देश्यले बन्ने कृषि बजारको लागि २ अर्ब २ करोड ४४ लाख बजेट लाग्ने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा उल्लेख गरिएको छ । 

यसअघि बुटवल उपमहानगर र सैनामैना नगरपालिकाको सीमा क्षेत्रमा कृषि उपज बजार स्थापना गर्ने भनिए पनि जग्गाको विषयमा कुरा नमिल्दा पुन बुटवल १५ मा नयाँ जग्गाको खोजी र स्वामित्व प्राप्तिको काम सुरु हुन लागेको छ । यसै सन्दर्भमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयमा छलफल अघि बढाएका छन् । 

अर्थमन्त्री पौडेलले बुधबार अर्थमन्त्रालय, कृषि तथा पशुपन्छी बिकास मन्त्रालय र शहरी बिकास मन्त्रालयका परियोजना सम्बद्ध अधिकारीहरुसँग छलफल गरेका हुन् । नेपाल सरकार र कृषि बिकासका लागि अन्तर्राष्ट्रिय बिकास कोष (आईफ्याड) को सहकार्यमा आवश्यक स्रोतको व्यवस्थापन भइसकेको अर्थमन्त्री पौडेलले जानकारी दिए । यस परियोजनाका लागि राष्ट्रिय योजना आयोगबाट राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुपमा स्वीकृत गराउने, बुटवल उपमहानगरबाट प्रस्तावित जग्गाको भोगाधिकार आयोजनाको नाममा ल्याउने र वनसँग सम्बन्धित केही बाँकी काम सम्पन्न गर्न बाँकी रहेको जानकारी दिए । सबै प्रक्रिया पूरा गरेपछि मात्रै भौतिक पूर्वाधार निर्माणको जिम्मा शहरी बिकास मन्त्रालय अन्तरगत शहरी बिकास तथा भवन निर्माण विभागले लिनेछ । यो परियोजना सफल भएसँगै नेपालको व्यवसायिक कृषिले फड्को मार्ने अर्थमन्त्रीको दाबी छ । 

नेपाल सरकारले नेदरल्याण्डस् सरकारलाई आधुनिक प्रविधियुक्त थोक कृषि बजार निर्माणको लागि अनुरोध गरेपछि सन् २०१९ डिसेम्बर १७ मा पहिलो र दोस्रो चरणको सम्भाव्यता अध्ययनको लागि अनुदान सम्झौता भएको थियो । प्रक्रिया अघि बढेको लामो समयसम्म पनि जग्गा प्राप्ति नभएपछि बुटवल उपमहानगरपालिकाले स्थानीय र सरोकारवालासँग विभिन्न समयमा छलफल समेच चलाउँदै आएको छ । 

बजार स्थापनासँगै १ लाख मेट्रिक टन क्षमताको खाद्यान्न बालीको गोदाम राख्ने योजना छ । ५० हजार टन क्षमताको तरकारी, पशुपन्छी, फलफूलसम्बन्धी वैज्ञानिक प्रविधिसहितको गोदाम घर, खाद्य, तरकारी, फलफूलको गुणस्तर निर्धारण गर्ने प्रयोगशाला, प्रशोधन केन्द्र र बीउ भण्डार गृह निर्माण गर्ने गरी डिपिआरमा योजना बनेको बुटवल उपमहानगरका प्रवक्ता तथा वडा नम्बर १५ का अध्यक्ष शिव राना बताउँछन् । यो योजना सफल भएमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कृषि उपजलाई विदेश निर्यात गरी ठूलो आर्थिक लाभ लिन सकिने उनी बताउँछन् । यो योजना सफल भएमा यस क्षेत्रका हालसम्मकै ठूलो परियोजना हुने बताइएको छ । 

डिपिआर अनुसार बुटवलमा बन्ने यो बजार १२.४७ हेक्टर क्षेत्रफलमा फैलिएको हुनेछ । कुल क्षेत्रफलमध्ये ४.३२ हेक्टर थोक बजार क्षेत्र, ४.५९ हेक्टर संकलन केन्द्रको क्षेत्र, १.५२ हेक्टर सामान्य सुविधाहरुका क्षेत्र, ०.३६ हेक्टर सानो बजार तथा खुद्रा क्षेत्र, ०.४८ हेक्टर अतिथि गृहको क्षेत्र र १.२१ हेक्टर ह्याच क्षेत्र रहने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बजार क्षेत्रमा वजन नाप्ने पुल, पार्किङ, विद्युत सञ्चय केन्द्र, जगेडा जेनेरेटर तथा सौर्य ऊर्जा आपूर्ति प्रणाली, ओभरहेड ट्यांकीका साथै पानी आपूर्ति प्रणाली, प्रशासन कार्यालय, सेवा केन्द्र, बाल हेरचाह केन्द्र, प्राथमिक स्वास्थ्य सेवा केन्द्र, सहकारी कार्यालय, सिसिटिभी निगरानी कक्ष तथा अन्य कृषि सुविधाहरु, प्रशोधन तथा भण्डारण सम्बन्धित सुविधाहरु, अतिथि गृह तथा चमेना गृह, बजारअन्तर्गत थोक व्यापार क्षेत्र, खुद्रा बजार क्षेत्र, कृषि उपज लिलामी क्षेत्र र फोहोर व्यवस्थापन तथा फोहोर पानी प्रशोधन केन्द्र रहनेछन् ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।