दाङ । दाङमा सवारी दुर्घटना विकराल रुपमा बढ्दै गइरहेको भन्दै न्यूनिकरण गर्नका लागि सरोकारवालाहरूको चासो दिनु पर्ने अवस्था रहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार चालु आर्थिक वर्षको करिव ६ महिनामा सवारी दुर्घटनाबाट ४५ जनाले ज्यान गुमाएका छन्, भने १०४ वटा सवारी दुर्घटना भएका छन् ।
जसमा ८० जना गम्भिर घाइते भएका छन्, भने सख्त घाइते ६४ जना भएको दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए । उनका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा ९८ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएको थिए ।
जसमा २०३ वटा सबारीसाधन दुर्घटना भएको थिए । यस्तै २३७ जना घाइते भएको र सख्त घाइते ११५ जना भएको उनले बताए । यो तथ्याङ्कले जिल्लामा सवारी दुर्घटना विकराल रुपमा अगाडि बढि रहेको बताए । यस्तै अहिले विगत एक महिनादेखि जिल्लामा सडक दुर्घटना बढ्दो क्रममा रहेको समेत उनले बताए ।
यस्तै जिल्लामा सवारीसाधनको सङ्ख्या बढ्दै गइरहेको र ट्राफिक प्रहरीको जनशक्ति कम रहेको समेत उनले बताए । उनले आफूहरूको जनशक्ति कम हुँदाहुँदै पनि दुर्घटना न्यूनिकरणको लागि दिनरात काम गर्दै आइरहेको समेत बताए । उनले भने,‘ दाङ जिल्ला भौगोलिक क्षेत्रफलका हिसाबले पनि ठुलो क्षेत्र रहेको छ ।
जिल्लामा वि।सं २०६० सालमा स्वीकृत भएको ३१ जनाको मात्र दरबन्दी रहेको छ । अहिलेसम्म पनि त्यही दरबन्दी नै रहेको छ । तर, हामीले काजमा थप ल्याएर ६५ जना ट्राफिक रहेका छौँ । ४० हजार भन्दा बढि गाडीहरू रहेका छन् ।’ यस्तै उनले यातायात व्यवस्था कार्यालयमा गत वर्षसम्म ४० हजार सवारी दर्ता भएको र अझै बढेको हुने सक्ने भन्दै जिल्ला भित्र पर्ने पूर्वपश्चिम राजमार्गमा दैनिक ८० हजार सवारी साधन गुड्ने हुँदा जनशक्तिको अभाव रहेको समेत बताए । उनका अनुसार एक जना ट्राफिक प्रहरीले दैनिक ४ देखि ५ हजार सवारी साधन हुनु पर्ने अवस्था रहेको छ ।
जिल्लाभर २ हजार १०७ किलोमिटर सडक रहेको र एक जना ट्राफिकले ३२ किलोमिटर सडक हेर्नु पर्ने अवस्था रहेको बताए । यस्तै सबैभन्दा बढि लापरबाहीका कारण सबारीसाधन दुर्घटना हुने गरेको उनको भनाइ छ । त्यसपछि सडक, यान्त्रिक, मौसम, प्राकृति प्रकोप जस्ता कारण रहेको उनले बताए ।
चालकको लापरबाहीका कारणले नै दुर्घटना हुने गरेको भन्दै उनले जिल्लामा सबै भन्दा धेरै मोटरसाइकल हुने गरेको समेत बताए । उनले भने,‘ ट्राफिकको उद्देश्य राजश्व सङ्कलन गर्ने होइन् । हाम्रो मुख्य काम र जिम्मेवारी भनेको दुर्घटना न्यूनिकरण गर्ने हो । तर दुर्घटना शून्य भन्ने हुँदैन । हामीले जिल्लामा विभिन्न कार्यक्रम गर्दै आएका छौँ । चालकसँग एक मिनेट, हेलमेट खोई, प्रशिक्षण लगायतका कार्यक्रमहरू हामीले गर्दै आएका छौँ ।’
यस्तै उनले ट्राफिकको पहिलो काम भनेको सवारी आगमनलाई सहज तुल्याउन रहेको र कानुन विपरित सवारी साधन सञ्चालन गर्नेलाई कारबाही गर्ने रहेको समेत बताए । यस्तै उनले पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको नर्तिदेखि भालुवाङसम्म १५ किलोमिटर सडकमा टाइमकार्ड लागू गरिएको समेत बताए ।
बेलुका ४ बजेदेखि ८ बजेसम्म टाइमकार्ड लागू गरिएको उनले बताए । त्यो क्षेत्रमा यही समयमा धेरै सवारी दुर्घटना हुने गरेको तथ्याङ्क रहेको समेत उनले बताए । गत पुस १५ गतेदेखि दुर्घटना न्यूनिकरण गर्न टाइमकार्ड लागू गरिएको हो । प्रति घण्टा ४० किलोमिटरको गतिमा चलाउने गरि टाइमकार्ड लागू गरिएको हो ।
यस्तै घोराही तुलसीपुर सडक खण्डमा पनि आफू आउनुभन्दा अगाडि टाइम कार्ड लागू गरिएको भएयता पनि आफूहरूको जनशक्ति लगायत विभिन्न कारणले सफल बनाउन नसकेको भन्दै उनले चेकजाँचलाई नै प्रभावकारी बनाएको समेत बताए । जसका कारण केहि समय दुर्घटना कमी भएयता पनि भर्खरै मात्र दुर्घटना भएको भन्दै यो सडकमा पनि कसरी जाने भन्ने कुरामा आफूहरु छलफलमा रहेको उनको भनाइ छ ।
प्रतिक्रिया