बुटवल । बुटवलको ढवाहमा आर्चरी प्रतियोगिता (धनुषबाण) शुरु भएको छ । छन्त्याल समुदायको महान पर्व म्हिलाङे सोङती माघे संक्रान्तिको अवसरमा नेपाल छन्त्याल संघ जिल्ला समिति, रुपन्देहीको आयोजनामा बुधबारदेखि छन्त्याल तारा खेल मैदान बुटवल १२ ढवाहमा उक्त प्रतियोगिता सुरु भएको हो।
प्रतियोगिताको एक कार्यक्रमबीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले धनुषवाण हानेर उद्घाटन गरे । सो अवसरमा बोल्दै प्रमुख पाण्डेयले बुटवलले सबै खेललाई सम्मान रुपमा हेर्ने बताए । साथै उनले छन्त्याल समुदायको महान पर्व म्हिलाङे सोङतीको सफलताको शुभकामना व्यक्त गरे ।
पौष २७ गतेसम्म चल्ने प्रतियोगितामा ७ टिमको सहभागिता हुने नेपाल छन्त्याल संघ रुपन्देहीका अध्यक्ष भरत छन्त्यालले बताए । प्रतियोगितामा छन्त्याल आर्चरी क्लब, रुपन्देहीबाट ‘ए’ र ‘वि’ टिम, थकाली सेवा समिति, बुटवल, देवदह आर्चरी क्लब, सैनामैना आर्चरी क्लब, मुगिर्या र सगरमाथा आर्चरी क्बल भलबारीले सहभागिता जनाउने उनले बताए ।
प्रतियोगितामा प्रथम हुनेले २० हजार, द्वितीय हुनले १५ हजार र तृतीय हुनेले नगद १० हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष छन्त्यालले बताए । यस्तै उत्कृष्ट प्लेयरलाई नगद २ हजार र उत्कृष्ट खोलेलाई नगद १ हजार पुरस्कार प्रदान गरिने उनले बताए । छन्त्याल समुदायहरु विचको आपसी सम्बन्धलाई मजबुद गराउने मुख्य उद्धेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको उनले बताए ।
यस्तै वि.स. २०४३ सालदेखि नै छन्त्याल समुदायको महान पर्व म्हिलाङे सोङती माघे संक्रान्तिको अवसरमा धनुषवाण प्रतियोगिता गर्दै आइरहेको र यस पटक आयोजना गरिएको प्रतियोगिता पनि त्यसैको निरन्तरता रहेको नेपाल छन्त्याल संघका केन्द्रिय सदस्य योगेन्द्र छन्त्यालले जानकारी दिए । साथै आगमी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित र स्तरीय गराउँदै लगिने केन्द्रिय सदस्य छन्त्यालले बताए ।
कार्यक्रममा वडा नम्बर १५ का अध्यक्ष तथा नगर प्रवक्ता शिव राना, बुटवल–१२ का वडाध्यक्ष डिल्लीप्रसाद शर्मा, वडा नम्बर २ का अध्यक्ष शुनिल शाक्य, नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाँ, वडा सदस्या गंगा वि.क., तिलोत्तमा नगरकार्यपालिका सदस्य नरबहादुर छन्त्याल, तिलोत्तमा १४ का वडा सदस्य भुपालसिंह छन्त्याल, नेपाल छन्त्याल संघ बुटवल अध्यक्ष टिकाबहादुर छन्त्याल, तारा खेल अध्यक्ष नरबहादुर छन्त्याल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।
कार्यक्रम संघका जिल्ला अध्यक्ष भरतबहादुर छन्त्यालको सभापतित्व, लुम्बिनी प्रदेश अध्यक्ष तारा छन्त्यालको स्वागत तथा सचिव नन् छन्त्यालको सञ्चालनमा भएको कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया