बुटवल। नेपाल कमर्शियल आर्टिष्ट सङ्घ, जिल्ला समिति रुपन्देहीले आफ्नो स्थापना दिवस तथा राष्ट्रिय विभूति अरनिको स्मृति दिवस मनाएकाे छ । सङ्घले मंगलबारबुद्ध जन्मस्थल लुम्बिनीमा लाइभ आर्ट वर्कसप को आयोजना गरी स्थापना दिवस मनाएकाे हो । कार्यक्रमकाे लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजनले समुद्घाटन गरेकी थिइन ।
प्रमुख अतिथि हरिजनले संघको प्रयासको प्रशंसा गर्दै ‘आर्टिष्ट कलाकारहरू राष्ट्रका गहना भएको र उनीहरूको संरक्षण र प्रवर्द्धन आफ्नाे प्रथामिकतामा भएको बताइन। उनले कला र संस्कृति जोगाउन नगरपालिकाले सक्दो सहयोग बताउदै लुम्बिनी क्षेत्रको कला–संस्कृति र पर्यटन प्रवर्द्धनमा स्थानीय सरकारको भूमिका अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाले आर्टिष्टहरूसँग सहकार्य गर्दै नगर सौन्दर्यीकरण, कला–संस्कृतिको जर्गेना, र पर्यटन प्रवर्द्धन लाइ थप सशक्त बनाउने योजनालाई नगरपालिकाले प्राथमिकतामा राखेको बताइन । उपप्रमुख हरिजनले नगरपालिकाले यस्ता गतिविधिहरूलाई निरन्तर सहयोग गर्ने र सङ्घसँगको सहकार्यलाई अझ गतिशील बनाउने प्रतिबद्धता जनाइन् ।
कार्यक्रम कला–संस्कृतिको जर्गेना, आर्टिष्ट कलाकारहरूको सम्बन्ध प्रगाढ बनाउने र लुम्बिनीलाई विश्व मञ्चमा थप प्रभावकारी रूपमा चिनाउन योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रम संयोजक तथा सङ्घका कला संस्कृति उपसमिति सदस्य गणेश घिमिरेले बताए । उनले यस्ता गतिविधिहरूले पर्यटन प्रवर्द्धन सहयोग पुर्याउने र लोप हुँदै गएका कला तथा कलाकारहरूको समेत पुनर्जागरण गर्ने उल्लेख गरे ।
कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाल कमर्शियल आर्टिष्ट सङ्घका केन्द्रीय सदस्य रवि घिमिरेले सङ्घको सक्रियताप्रति खुसी व्यक्त गरे । उनले भने, ‘यस्तो प्रकारका कार्यक्रमहरूले स्थानीय स्तरमा पलाएन हुँदै गएका कलाकारहरूको पहिचान गर्ने मात्र नभई उनीहरूलाई संरक्षण गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले आर्ट वर्कसपलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै यसले कला–संस्कृति जोगाउन मात्र नभई नगर सौन्दर्यीकरण र पर्यटनको प्रवर्द्धनमा समेत ठुलो योगदान दिन सक्ने बताए ।
कार्यक्रममा नेपाल कमर्शियल आर्टिष्ट सङ्घ, जिल्ला समिति रुपन्देहीका अध्यक्ष दिनेशमणि कोहारले रुपन्देही जिल्लामा रहेका हजारौँ कलाकारहरूलाई एकीकृत गरी कला क्षेत्रमा नयाँ उचाइ प्रदान गर्न आवश्यक रहेको बताउँदै रुपन्देही जिल्लामा रहेका ३० भन्दा बढी आर्ट पसलहरू सङ्घसँग आबद्ध रहेको र यिनको सक्रिय सहभागिताले मात्रै आफूहरूले लक्ष्य हासिल गर्न सक्ने बताए ।
३० भन्दा बढी कलाकारहरूको उपस्थिति रहेको वर्कसपमा सहभागी कलाकारहरूले बुद्धत्व झल्किने कलाकृतिहरू पेन्टिङ मार्फत प्रस्तुत गरेर कार्यक्रममा रङ्ग भरेका थिए । यी कलाकृतिहरूले लुम्बिनीको सांस्कृतिक धरोहरलाई झल्काउने काम गरेका थिए । आगामी दिनहरूमा समेत यस किसिमको गतिविधिलाई सङ्घले निरन्तरता दिने बताएको छ ।
कार्यक्रममा सहभागी कलाकारहरूले यस्ता कार्यक्रमहरूले आफूहरूलाई अझ प्रेरित बनाएको र आफ्नो सृजनशीलतामा निखार ल्याउने अवसर प्रदान गरेको भन्दै खुसी व्यक्त गरेका थिए । कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष अशोक कुमालको स्वागत तथा सचिव बिशन गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया