बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सहकारी ठगलाई जनताले भगवान ठानेको भन्दै आपत्ती जनाएका छन्। 'जो सहकारी ठग छ उसकै पक्षमा सडकमा नाराबाजी ? अरुले खान हुने रविले खान नमिल्ने भन्दै मान्छेहरु सडकमा आउछन् यस्तो पनि हुन्छ?'- प्रगतिशील पत्रकार संघको १८औं स्थापना दिवसका अवसरमा बोल्दै केसीले प्रश्न गरे।
केसीले हालको राजनीतिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै कतिपय मान्छेहरुले राजनीतिलाई कमाउने भाँडो बनाइएका कारण समस्या उत्पन्न भएको बताए। केसीले संघीयता खारेज गर्नुपर्ने र लोकतन्त्र जोगाउन आवश्यक रहेको धारणा राखे। उनले भने, “देशमा पञ्चायत र राजतन्त्र जनताको त्यागबाटै समाप्त भए । तर, अहिले राजनीतिमा भ्रष्टाचारले संस्थागत रूप लिएको बताए।
केसीले प्रदेशलाई तत्काल खारेज गरी स्थानीय तहलाई सबल बनाउनुपर्नेमा जोड दिए। “लोकतन्त्र र गणतन्त्रलाई जोगाउनु अहिलेको मुख्य आवश्यकता हो, प्रदेश तत्काल खारेज गर्नुपर्छ प्रदेशको भार मुलुकले थेग्न सक्दैन” उनले थपे।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले देशको समृद्धिका लागि प्रेस जगतले सकारात्मक भूमिका खेल्नुपर्ने बताए। त्यस्तै, नेपाल पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डे,पत्रकार महासंघ केन्द्रिय सदस्य रामराज पोखरेल नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्षहरु शेर बहादुर केसी, डिआर घिमिरे, डा. बालकृष्ण चापागाई, प्रेस युनियन रुपन्देहीका अध्यक्ष कबिन्द्र नेपाल र प्रेस चौतारीका अध्यक्ष लक्ष्मण पौडेल लगायतले प्रेस स्वतन्त्रताको संरक्षण र समकालिन चूनौतिहरूका विषयमा आआफ्नो धारणा राखे।
कार्यक्रमका अध्यक्ष श्यामलाल पोखरेलले लोकतन्त्र र प्रेस स्वतन्त्रताको संरक्षणका लागि पत्रकारहरुको भूमिका अपरिहार्य रहेको बताए । कार्यक्रमको सञ्चालन सचिव बिरेन्द्र कुंवरले गरेका थिए।
प्रतिक्रिया