बुटवल । रोटरी क्लब अफ क्यापिटल बुटवलले सडक दुर्घटनापछि उद्धारमा प्रयोग हुने हाईड्रोलिक मेटल कटर मेसिन लुम्विनी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालयलाई हस्तान्तरण गरेको छ।
दुर्घटनाबाट हुने मानवीय क्षति कम गर्न र उद्धारमा उपयोगी हुने गरि रोटरी ईन्टरनेश्नल डिष्ट्रिक ३२९२, का डिष्ट्रिक अफिसीयल नुगल आनन्द बैद्यको संयोजनमा रोटरी क्लब अफ क्यापिटल बुटवलले प्राप्त गरेको उक्त हाईड्रोलिक मेटल कटर सुरक्षित यात्रा अभियान नेपालसँगको समन्वयमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवललाई हस्तान्तरण गरिएको हो।
बुटवलमा आयोजित एक कार्यक्रममा रोटर क्लब अफ क्यापिटल बुटवलका संस्थापक अध्यक्ष दिनेश पाण्डे, क्लबका अध्यक्ष बिजय खनालले लुम्विनी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीलाई हस्तान्तरण गरिएको थियो।
करीब १२ लाख रुपैयाँ बराबरको उक्त उपकरणको प्रयोगले घटनास्थलमै पुगेर दुर्घटनामा परेका सवारी साधनहरुमा च्यापिएका मानिसहरु उद्धार गर्न सहज हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) दान बहादुर कार्कीले प्रहरीलाई प्रविधिमैत्री बनाउँदा समाज सुरक्षित हुने बताए।
आम सर्वसाधारण नागरिक, ब्यवसायी र समाजको सबै क्षेत्रको सहयोगबाट मात्र दुर्घटनाको ग्राफ घटाउन सकिने उनले बताए। ‘समुदायमा अपराध नियन्त्रणका लागि हरेक नागरिकको साथ चाहिन्छ नागरिकको साथ र प्रविधियुक्त प्रहरी संगठनबाट समाजमा हुने अपराधका घटनाहरु नियन्त्रण गर्न सहज हुन्छ ’–उनले भने।
कार्कीले सरोकारवालाहरु मिलेर दुर्घटना र अपराध नियन्त्रणका लागि सचेतना जगाउने कार्यक्रमहरु गर्न जरुरी रहेको बताए।
कार्यक्रममा रोटरी डिष्ट्रिक सर्भिस प्रोजेक्ट चेयर राजेन्द्र लम्सालले सामाजिक कार्य गर्दा समुदायको आवश्यकता र दिगोपनालाई प्राथमिकतामा राख्ने गरेको बताए। रोटरी संस्थागत रुपमा ठूला परियोजनाहरु गर्दै आएको भन्दै केही ढिलाई गरेर भएपनि उपयोगी उपकरण सहि निकायमा हस्तान्तरण गर्न पाएको उनले बताए। रोटरीबाट संचालन भएका परियोजनाहरु गुणस्तरका हिसाबले उत्कृष्ट देखिने समेत दाबी गरे।
मेशिनसँगै थप एउटा सवारी साधनको आवश्यकता महसुस भएको भन्दै यसमा सरोकारवालाहरुबाट आवश्यक सहकार्य गर्न सकिने समेत उनले बताए। दुर्घटना रोक्ने गरि सचेतना कार्यक्रमलाई विशेष प्राथमिकता दिन समेत उनले आग्रह गरे।
लुम्विनी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीले ट्राफिक प्रहरीलाई प्राप्त उपकरणको अधिकतम प्रयोग गरिने बताए। उनले ट्राफिक ब्यवस्थापनमा नागरिक र सरोकारवाला ब्यवसायीहरुको सहकार्य आवश्यक रहेको बताए।
कार्यक्रममा रोटरी क्लब अफ क्यापिटल बुटवलका चार्टर अध्यक्ष दिनेश पाण्डेले क्लबले सुरक्षित आवागमनका लागि सचेतना कार्यक्रम गर्दै आएको बताउँदै सडकमा हुने अकाल मृत्युबाट कसैको पनि ज्यान जान नपाओस भन्ने अभियान सञ्चालन गरिने बताए। उनले गतवर्ष रुपन्देहीमा ट्राफिक सचेतनाको वृहत कार्यक्रम गरिएको उल्लेख गर्दै चालकहरुलाई सवारी र सडकका लेनबारे जानकारी दिने, सचेतना र्याली र सुरक्षित हेलमेट वितरण जस्ता निक्कै प्रभावकारी कार्यक्रम गरिएको बताए।
क्लवका अध्यक्ष बिजय खनालको अध्यक्षता, निवर्तमान अध्यक्ष विश्व दिपक नेपालको स्वागत तथा कृष्ण डुम्रेको सञ्चालनमा सम्पन्न कार्यक्रममा रोटरीयनहरुसँगै यातायात ब्यवसायीहरुको सहभागिता थियो।
लुम्बिनी प्रदेशका १२ जिल्लामा वार्षिक २४ सय बढी सवारी दुर्घटना हुने गर्दछ। दुर्घटनामा परेर ६ सय जनाले ज्यान गुमाउने गरेको तथ्याङ्कले देखाउछ।
प्रतिक्रिया