बुटवल । तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले सडक पूर्वाधारमा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । सडक यातायातलाई सुरक्षित र भरपर्दो बनाउनका लागि पूँजीगत लगानी वृद्धि गर्न आवश्यक रहेको उल्लेख गरे ।
पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.को पाँचौं तथा पश्चिम नेपाल बस व्यवसायी बहुउद्देश्यीय सहकारीको चौथौ वार्षिक साधारणसभाको अवसरमा आइतबार तिलोत्तमामा आयोजित कार्यक्रममा बोल्दै उनले सडक बिस्तार तथा निर्माणको मोडालिटीमा समेत सुधार गर्न आवश्यक रहेको उल्लेख गरे । हाल निर्माणाधिन बुटवल-नारायणगढ सडक बिस्तारको काम वर्षौसम्म बिलम्ब हुँदा यात्रुले सास्ती खेप्नु परेको बताउँदै उनले बुटवल–चन्द्रौटा सडकमा त्यस्तो अवस्था आउन नदिन नयाँ मोडालिटी अपनाउनु पर्नेमा जोड दिए । समयमा निर्माणको काम नसकिने तथा गलत विधिबाट पूर्वाधार निर्माणका काम गर्दा यात्रुमात्र नभई यहाँका उद्योगी व्यवसायीले समेत ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने भएकाले सचेत हुन आग्रह गरे ।
कार्यक्रममा प्रा.लि तथा सहकारीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दधिराम खरेलले स्तरीय सडक पूर्वाधारको अभावले वर्षेनी मानिसहरुले अकालमा ज्यान गुमाउनु परेको गुनासो गरे । सडक पूर्वाधार बिस्तारमा हुने ढिला सुस्तीले सबैभन्दा बढी यातायात व्यवसायीले मार खेप्नु परेको गुनासो गर्दै उनले राज्यबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरु समेत विचौलियाको हातमा पर्ने गरेको उल्लेख गरे । पछिल्लो समय विद्युतीय सवारीको आयात तथा प्रयोगमा वृद्धि भएपनि यसका लागि सरकारले दिनेगरेको भन्सार छुटको सुविधा यातायात व्यवसायीले नभई विचौलियाले लिने गरेको गुनासो गरे । पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. विद्युतीय सवारी सञ्चालनमा दोस्रो संस्थाको रुपमा रहेको उल्लेख गर्दै उनले अब देशकै पहिलो संस्थाको रुपमा स्थापित गर्ने उल्लेख गरे ।
यसैगरी यातायात व्यवसायीहरुको अस्वस्थ प्रतिस्पर्धाले ठूलो लगानी गर्नुपरेको तथा कतिपय व्यवसायी विस्तापित हुनु परेको उल्लेख गर्दै उनले सचेत हुन सदस्यहरुलाई आग्रह समेत गरे । हाल २२ सय बढी सदस्य रहेको प्रा.लि.ले सेवालाई थप गुणस्तर र विश्वसनीय बनाउँदै टिकट काउन्टरलाई महिलामैत्री बनाउने समेत योजना प्रस्तुत गरे । कार्यक्रममा बोल्दै संस्थाका पूर्व अध्यक्ष तुलसीराम बन्जाडे, जीवन बन्जाडे, मोहन पीएस लगायतले बोल्दै कोरोना महामारी तथा आर्थिक मन्दीले सबैभन्दा बढी यातायात व्यवसायीले मार खेप्नु परेको गुनासो गरे । सरकारले व्यवसायीमैत्री नीति ल्याउनु पर्ने बताउँदै उनीहरुले व्यवसायीहरु विस्तापित हुनुपर्ने बाध्यतालाई अन्त्य गर्न आग्रह गरे ।
कार्यक्रममा हालै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनबाट निर्वाचित केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा सदस्य तथा रुपन्देही जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई सम्मान गरेको छ । सो अवसरमा बोल्दै रुपन्देही जिल्लाका नवनिर्वाचित अध्यक्ष दिनेश पाण्डेले महासंघ यातायात व्यवसायीहरुसँग सहकार्य गर्न तयार रहेको बताए । निजी क्षेत्रसको समस्याबा बारेमा महासंघले आवाज उठाउन सधै तयार रहेको उल्लेख गर्दै सत्य र तथ्यमा आधारित रहेर कलम चलाउन सधै प्रतिवद्ध रहेको बताए । कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.मा लामो समय काम गर्ने मजदुर, कर्मचारी तथा व्यवसायीहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन प्रा.लि.का सञ्चालक रामचन्द्र भुसालले गरेका थिए ।
प्रतिक्रिया