दाङ । तुलसीपुर उपमहानगरपालिका ९ का वडाध्यक्ष धनश्याम ढकाल २०७४ र ७९ मा कांग्रेसबाट गरी दुई पटक निर्वाचित भए । शुरुमा उन्नत जातको बाख्रा तथा गाई पालन गरेको गर्दै आएका उनले करिब अढाइ वर्षदेखि व्यवसायिक रुपमा कालिज पालन गर्दै आएका छन् ।
यो पटक उनले ७ सय कालिजहरू पालेका थिए, भने अहिले २ सय जति बिक्री भएका छन्, भने ५ सय जति रहेको र यसबाट राम्रै आम्दानी हुने उनले बताए । उनले भने,‘ म किसानको छोरा हुँ १ मलाई कृषि गर्न निकै राम्रो लाग्छ ।
फेरि साँझ बिहानको समय सदुपयोग गरेको हुँ । पहिला बोयर जातका बाख्रा र उन्नत जातका गाई पालेको थिए । त्यो सबै हटाएर अहिले कालिज , फाइटर तथा लोकल कुखुरा, लुइँचे पालिरहेको छु । यसमा धेरै मेहनत गर्नु पर्दैन । जसले गर्दा पनि मलाई यो राम्रो लागेको हो ।’
उनका अनुसार मासु खाने उद्देश्यले ३ वटा पोथी र २ वटा भाले कालिज ल्याएकोमा देख्दा पनि राम्रो लाग्यो । त्यहीबाट पालेर शुरु गरेको यो पटक ७ सय रहेकोमा २ सय जति बिक्री भएको उनले बताए । उनका अनुसार कालिजका बच्चा पनि आफैले उत्पादन गर्ने हुँदा सहज भएको छ । अहिले जोडीलाई ३ हजारमा दिने गरेको समेत उनले बताए ।
यो चिसो मौसममा कालिज निकै बिक्री हुने गरेको समेत उनले बताए । उनले भने,‘ विदेशमा राष्ट्रपति भएका ब्यक्तिहरू त कृषि लगायत अन्य काममा गरेको खबर सुनिन्छ । त्यसैले हामीले पनि आफ्नो आयआर्जनको लागि कुनै पनि काम गर्दा कुनै फरक पर्दैन । जनताको सेवासँगै आफ्नो बचेको समय सदुपयोग मात्र गरेको हुँ’ कालिज पालनको लागि तारबार गर्दा अहिलेसम्म ३ लाख लगानी लागेको भन्दै उनले अझै बढाउने सोच रहेको पनि बताए । उनले भने,‘ दिनभर काम गरेर आउँदा कहिँले काहिँ बोर भएको हुन्छ । तर, यि चराचुरुङ्गीसँग रमाउन पाउँदा निकै आनन्द लाग्छ ।
जसले गर्दा २र ४ पैसा आम्दानी पनि हुने , मन लागेको बेला मासु पनि खाने मिल्ने र आफूलाई पनि आनन्द महसुस हुने हुँदा यो शुरु गरेको हुँ , गाई बाख्रा पालनमा भन्दा यसमा खासै दुख हुँदैन ।’ यस्तै आफू घरमा नभएको समयमा घरपरिवारले हेर्ने गरेको समेत उनले बताए । उनका अनुसार एक सिजनमा कालिजको पोथीले ७० देखि एस २० वटा अण्डा पार्ने रहेछ । सानो बच्चा हुर्काउने बेला मात्र समस्या हुन्छ, बाँकी चारो हाल्दिए पुग्छ । यसलाई कुनै रोग लाग्ने समेत नरहेको उनको भनाइ छ । उनले दाना घरमै बनाउने गरेको भन्दै कालिजले ७० प्रतिशत घाँस खाने र बाँकी चारो खाने हुँदा पनि दिनका पटक चारो दिए पुग्ने बताए ।
यस्तै उनले अहिले एउटा मात्र भैँसी पालेको भन्दै बिहानको दूध डेरीमा लैजाने गरेको र महीनामा १५÷२० हजार आम्दानी हुने गरेको समेत बताए । यस्तै उनले नेपाल कृषि प्रधान देश भएयता पनि अहिले सबै युवाहरू विदेशतिर पलायन भइरहेको अवस्था रहेको बताए । उनले युवाहरू स्वदेशमा बस्ने राम्रो वातावरण नहुँदा र राज्यले पनि कृषिलाई प्राथामिकतामा राखेको भएयता पनि पहुँच र सत्ता शक्तिको भरमा अनुदान दिने गर्दा वास्तविक किसानहरूले नपाउने र विस्तारै कृषि पेशा हराउँदै गएको बताए ।
उनका अनुसार जिल्लामा कुनै समय उन्नत जातको गाईपालन र बाख्रा गर्ने लहर निकै चलेको थियो । तर, अहिले त्यो विस्तारै हराउँदै गइरहेको छ । मुख्य समस्या भनेको उत्पादन भएको बस्तु बिक्री नहुन र बिक्री भएमा राम्रो मूल्य नपाउनु नै हो ।
प्रतिक्रिया