काठमाडौँ । गण्डकी प्रदेशका निलम्बित सांसद दीपक मनाङे (राजीव गुरुङ) को कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।
न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाले २०८१ कात्तिक २० गते सुनाएको फैसलाको पूर्णपाठ सर्वोच्चले सार्वजनिक गरेको छ। न्यायाधीशद्धय सुवेदी र ढुङ्गानाको इजलासले मनाङेलाई कर्तव्य ज्यान सम्बन्धी उद्योग मुद्दामा दोषी ठहर गर्दै पाँच वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चको फैसला लगत्तै उनी केही दिन फरार रहेका थिए । फरार रहेका उनलाई कात्तिक २७ गते प्रहरीले राजधानीको सानोभर्याङको कम्फर्ट हाउजिङबाट प्रहरीले पक्राउ गरेको थियो।
सर्वोच्चले मनाङेलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको थियो । जिल्ला, उच्च र सर्वोच्चले दोषी ठहर गरेको थियो भने सजाय उच्चले फरक गरेको थियो । उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि सोही सजाय सदर गर्ने फैसला सुनाएको थियो ।
ज्यान मुद्दामा मनाङे २०७५ साल पुसमा थुनामा समेत बसेका थिए । उनको मुद्दा सर्वोच्चमा २०७५ फागुन ३ गते सुरु भएको थियो । उनले थुनाबाटै पुनरावेदन गरेपछि सर्वोच्च अदालतले २०७५ साल पुस ६ गते धरौटी राखेर उनलाई थुनामुक्त गर्न पत्र लेखेको थियो । त्यसपछि मनाङे जेल बाहिर रहेर मुद्दा लड्दै आएका थिए । सर्वोच्चले पूर्णपाठ सार्वजनिक गरेपछि उनको सांसद पदबारे पनि निर्णय गर्ने बाटो गण्डकी सरकारलाई खुलेको छ।
प्रतिक्रिया