ताजा अपडेट »

प्रतिभाशाली पवित्रा

आइतबार, २१ पुस २०८१, ०६ : ०७
594 Shares
आइतबार, २१ पुस २०८१
594 Shares

रसबहादुर र गोमा रम्तेलकी एक्ली छोरी हुन् पवित्रा रम्तेल । उनका दुई दाजुहरु छन् । जेठा सञ्जीव नेपाल प्रहरीमा र कान्छा अमीर भारततिर जागिरे छन् । दुबै दाजुका विहे भएर सन्तान भइसके । पवित्राभने कलाकारितामा लागेर विहे गर्ने फुर्सदमै छैनन् । रातोदिन उनी सिन्धुली कलाघरमा समर्पित छिन् । गाउँका कुनाकन्दरादेखि देश, विदेशसम्म आफ्नो कला प्रदर्शन गर्ने अभियानमा छिन् । सिन्धुली जिल्ला, कमलामाई नगरपालिका वडा नं.४ दर्लामी खट्टारकी उनले गाउँकै वरुनदेवी माविबाट २०७० सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेकी थिइन् । 

सिन्धुली सदरमुकाममा रहेको सिन्धुली बहुमुखी क्याम्पसबाट कक्षा ११ र १२ पास गरिन् । स्नातक गर्न भ्याइनन् । सानैदेखि उनलाई नृत्य र गायन मन पर्थ्यो । एसएलसीपछि उनी जिल्ला सदरमुकाम आइन् । बगरकिनारमा दुई, चारजना किशोरवयका साथीहरुसँग मिलेर उनीहरुले प्रगतिशील प्रतिभा केन्द्र खोले । केही समय सोही केन्द्रमा बसेर सडक नाटक सिकी प्रदर्शन समेत गरिन् । अहिलेको सिन्धुली कलाघर नै प्रतिभा केन्द्रको विकसित रुप हो । २०७० सालदेखि नै प्रगतिशील  प्रतिभा केन्द्रका संयोजक सुमन थापा ‘नेपाली बाबु’सँग मिलेर पवित्रा रम्तेलले सहसंयोजकको भूमिका निर्वाह गरिन् । 

गाउँबाट आएकी पवित्राले सिन्धुली सदरमुकाममा बस्दा कोठा भाडा र प्लस टुको शिक्षण शुल्क तिर्न सदरमुकाममा रहेका केही संस्थागत विद्यालयहरुमा नृत्य प्रशिक्षण गरिन् । यतिबेला उनी राष्ट्रिय लोकभजन, चुड्का संरक्षण प्रतिष्ठान, बाग्मति प्रदेशकी प्रशिक्षण विभागकी प्रमुख छिन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, सिन्धुलीकी उपाध्यक्ष  छिन् । सिन्धुली कलाघरकी संस्थापक उपाध्यक्ष भएर हालसम्म निरन्तर गतिशील छिन् । कर्मशील छिन् । क्रियाशील छिन् । 

गाउँघरमै हुँदादेखि उनले मादल बजाउन सिकेकी थिइन् । पछि उनले पञ्चेबाजा अन्तर्गतको दमाहा बजाउन थालिन् । यतिबेलाभने उनले सहनाई बजाउँदै आएकी छन् । जोर सहनाईमा उनलाई सञ्चिताले साथ दिएकी छन् । सहनाई हेर्दा र सुन्दा सजिलो लागेपनि बजाउन बाह्र बज्ने कुरा उनले सुनाईन् । पवित्राले मादल, बाँसुरीलगायतका बाजाहरु गतिलोगरी बजाउँछिन् । नौमति बाजामा उनलाई नरसिंहा बजाउन सकस लाग्छ । अरु बाजाभने मज्जाले बजाउने कला उनमा छ । सायद उनको जन्म बाजा बजाउनै भएको थियो कि भन्नेहरु नभएका होइनन् । 

कविता कोर्छिन् फुर्सदमा । गीत लेख्छिन् मनमा भावहरु उर्लेका बेला । चित्र कोर्छिन् शान्त परिवेशमा । उनमा बेजोड प्रतिभा छन् । तेकान्दोमा उनले ब्ल्याक बेल्ट उपाधि हाँसिल गरेकी छन् । त्यही भएर धेरै नाटकहरुमा उनले इन्स्पेक्टरको भूमिका निभाएकी छन् । विपत्ता सुहाएको देखिन्छ पनि । कालिका क्याम्पस, बुटवलका सञ्चालक समिति अध्यक्ष होमबहादुर गलामीले उनको नाटकमा इन्स्पेक्टरको रोल देखेपछि दङ्ग परेका थिए । उनले भनेका थिए–वाह ! यस्तो पो रोल । उनको सडक नाटकमा दरो भूमिका देखिन्छ । रियल अभिनय गर्छिन् । उनको प्रतिभा देखेर प्रभावित नहुने कमै हुन्छन् । 

pratima-ramtel1

दोहोरीगीत गाउन उनलाई विपत्तै आउँछ । पछिल्लो पटक उनले चर्चित लोकदोहोरी गायक चीज गुरुङसँग कडा दोहोरी गाएकी थिइन् । उनीहरुकाबीच कडा प्रतिस्पर्धा भएको थियो । बेजोड प्रतिभाकी धनी पवित्राले आफूलाई दोहोरीगीतमा स्थापित गर्दैछिन् । सिकाईले नै आफूलाई दोहोरी गीतमा प्रखर बनाउँदै लगेको सुनाइन् पनि । भजन, चुड्का पनि उस्तै माहिर छिन् । पूर्वेली भजन, चुड्का गाएर दुनियाँलाई चकित तुल्याएकी छिन् । नृत्य उनको सानैदेखिको रहर हो । नृत्यप्रतिभा कलात्मक छ । उनको नाँच हेरिरहुँ लाग्छ । आँखा झिमिक्क गर्दा नै घाटा लाग्लाजस्तै हुन्छ । 

१४ वर्षको उमेरदेखि कलाकारितामा लागेकी पवित्राले ११ वर्ष यही कलाकारितामा खर्चिदा धेरै कुरा बिर्सेकी छन् । सम्झिेकी छन् केवल आफ्नो सिन्धुली कलाघर, आफ्नो कलाकारिता, प्रतिभा, साथीहरुसँग मिलेर कलाघर नजिकै संसारकै कलासंग्रहालय बनाउने सपना । कलाघरलाई कलापाठशाला बनाउने अठोट र वृद्धावस्थाका लागि कलाघरमै कलाआश्रम बनाउने दृढ संकल्प । त्यसैका लागि उनीहरु कला, संगीत अभियानमा देशव्यापी रुपमा लागेका छन् । सिन्धुली कलाघरमा पाहुनाहरुलाई बोलाएका छन् । आफ्नो सांगीतिक कला र प्रतिभा देखाउन देश, विदेश पुगेका छन् । विहेमा नौमति बाजा बजाउन गाउँ, सहरमा पुगेका छन् । आएको आम्दानीले कलाघरलाई समृद्ध बनाएका छन् । कलाकारहरु पालिएका छन् । भौतिक संरचनामा खर्चिएका छन् । 

यसरी कलामा नै जीवन समर्पित गर्दै आएकी पवित्रालाई विहे हतारमा गरेर फुर्सदमा पछुताउनु छैन । उनको पहिलो प्राथमिकतामा विहे परेको पनि छैन । भन्नेहरुले उनलाई कुनैबेला बिहेका बारेमा नानाथरि नभनेका पनि होइनन् तर आज उनको कलाप्रतिको लगाव, झुकाव र समर्पणले सबैका मुखमा ताल्चा ठोक्दिएको छ । उनका कुरा काट्नेहरु यतिबेला उनको कलाकारिताको प्रशंसक भएका छन् । बनेका छन् । तारिफ गर्ने मूडमा छन् । 

सादा जीवन, उच्च विचारकी पवित्रालाई सामान्य खाना मन पर्छ । उनलाई पकाउने, खुवाउने काममा भन्दा आफ्नै कलाकारितामा समय बढी पोख्न मन लाग्दोरहेछ । सादा पोसाकमा रहन रुचाउने उनलाई बैंसमा पनि धेरै चिरिच्याँट्ट बन्ने रहर छैन । मेकअप गर्ने समय पनि आफ्नै ‘कलामा खर्चिन पाए’ हुने उनले सुनाइन् । आफूलाई उत्प्रेरित गर्ने जो कुनै कलाकार उनको उत्प्रेरक हुन सक्ने रहेछन् । सबै प्रकारका कलाकार र उनीहरुका कलामा आफ्नो सम्मान हरदम रहने उनको सोचाई रहेछ । फिल्म हेर्न मन पार्ने पवित्राले आफूलाई केही नेपाली फिल्महरुले आकर्षित गरेको सुनाइन् तर सबै फिल्मलाई उत्तिकै सम्मान रहेको बताइन् । 

आफ्ना हजुरबाबा नै उनको प्रेरणाका स्रोत रहेको बताउने पवित्राले बाबाआमाको नाँचगान गर्ने बानीलाई साह्रै सम्मान गर्छिन् । त्यहि सिकोले आफूलाई कलाकार बन्न प्रेरणा दिएको सुनाउन बिर्सिनन् । सांगीतिक र रमाईलो परिवारमा हुर्केकी पवित्राले बाबाआमा र समाजको चित्त, कलाकारितामार्फत बुझाउने प्रयासमा छिन् । देशव्यापी रुपमा सिन्धुली कलाघर र उपाध्यक्ष पवित्रा रम्तेललाई सहनाइवाली भनेर नचिन्ने को पो होलान् र ?
 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार