काठमाडाैँ । सर्वोच्च अदालत बार एसोसिएसनको निर्वाचनबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल विजयी भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा वरिष्ठ अधिवक्ता पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् । सर्वोच्च अदालत बार एसोसिएसनको नेतृत्वका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पोखरेलले ३६८ मत ल्याएर विजयी भएका हुन् । अध्यक्षका निकटतम प्रतिद्वन्द्वी अधिवक्ता महेशकुमार थापाले १८१ मत पाएका थिए भने अधिवक्ता प्रेमसिंह धामीले १५ मत मात्र पाएका थिए । अन्य पदमा पनि पोखरेल नेतृत्वको टिमकै वर्चस्व कायम भएको छ।
उपाध्यक्षमा अम्बरबहादुर राउत ३४६ मत पाएर विजयी भएका छन्भने सचिवमा यही टिमबाट रमणकुमार कर्ण र सहसचिवमा पुनदेपी महर्जन निर्वाचित भएका छन्। यस्तै कोषाध्यक्ष पदमा रामचन्द्र पौडेल, महिला सदस्यमा शशि बस्नेत निर्वाचित भएका छन्। अन्य विजयी सदस्यहरूमा दुर्गामोहन श्रेष्ठ, इन्द्रशेखर खड्का, प्रदीपकुमार श्रेष्ठ, नागेश्वरप्रसाद चौधरी, निर्मलप्रसाद उपाध्याय, ओमकृष्ण श्रेष्ठ, प्रमोद रेग्मी र प्रदीपकुमार राजवंशी रहेका छन्। उनीहरु सबै पोखरेल नेतृत्वको प्यानलबाटै निर्वाचित भएका हुन्। फरक प्यानलबाट एक जना सदस्य सतीशराज मैनाली मात्र निर्वाचित भएका छन्।
सर्वोच्च अदालत बारकाे निर्वाचनमा दुइ समुह प्यानल बनाएर हाेमिएका थिए । नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) र नेकपा एकीकृत समाजवादीनिकट समाजवादी लयर्स एसोसिएसन (एसपीएलए) ले संयुक्त प्यानल बनाएर निर्वाचन लडेका थिए भने एमाले, माओवादी, राप्रपा, रास्वपा लगायत निकट संगठनले अर्काे संयूक्त प्यानल बनाएका थिए। फरक प्यानलबाट एक जना सदस्य सतीशराज मैनाली मात्र निर्वाचित भएका छन् उनी माओवादीनिकट क्रान्तिकारी कानुन व्यवसायी संगठन (आरपीएलए) को प्रतिनिधित्व गर्छन्।
एमालेनिकट प्रगतिशील पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) बाट भने कोही पनि निर्वािचत हुन सकेनन्।
---
प्रतिक्रिया