ताजा अपडेट »

आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान केन्द्रित गर्ने बेला आएको छः प्रचण्ड

शनिबार, २० पुस २०८१, १८ : २८
26 Shares
शनिबार, २० पुस २०८१
26 Shares

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आर्थिक अवस्थामा परिवर्तन ल्याउन अर्थतन्त्रमा व्यापक सुधार गर्ने समय आएको बताएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको सातौं वार्षिक साधारण सभा तथा तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

‘विगत लामो समयदेखि नेपालको अर्थतन्त्रमा देखिएका चुनौतीहरूको सामना गर्दै यसको सुधारका पक्षमा व्यवसायीहरूले धैर्यता र संयमताका साथ गरिरहेको योगदान स्मरणीय र उल्लेखनीय छ’, उनले भने,  ‘अब क्रमशः नेपालको अर्थतन्त्रमा सुधारका संकेतहरू देखा पर्न थालेका छन् । लगानीमैत्री वातावरण, उत्पादन वृद्धि र व्यापार व्यवसायको प्रवर्धन मार्फत स्वरोजगारी र रोजगारीका अवसर सिर्जना गर्दै अर्थतन्त्रमा व्यापक सुधार गर्न हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्ने बेला आएको छ ।’

लामो राजनीतिक संघर्ष र ठूलो बलिदानपछि देशमा जनताको व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको उल्लेख गर्दै उनले परिवर्तित राजनीतिक व्यवस्थाअनुकूल जनताको अवस्था परिवर्तन गर्न आर्थिक क्षेत्रमा व्यापक सुधार अनिवार्य भएको बताए । सामाजिक न्यायमा आधारित आर्थिक समृद्धिले मात्रै जनताको जीवनस्तर माथि उठाउन संभव भएको स्पष्ट गर्दै उनले देशको सम्पूर्ण ध्यान आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा केन्द्रित गर्ने बेला आएको बताए ।

‘यहाँहरू जानकार नै हुनुपर्छ, मैले तीनपटक प्रधानमन्त्री हुँदा मुलुकको आर्थिक सुधारका लागि उल्लेख्य थालनीहरू गरेको थिएँ । मेरो पहिलो कार्यकाल पूर्वाधार विकास र प्रशासनिक सुधारमा केन्द्रित थियो’, अध्यक्ष प्रचण्डले भने,  ‘मध्यपहाडी लोकमार्ग जस्ता राष्ट्रिय गौरवका परियोजनाले पहाडी क्षेत्रको अर्थतन्त्रलाई सुदृढ गर्न महतत्वपूर्ण सफलता प्राप्त भएको छ । मेरो दोस्रो कार्यकाल नेपालको इतिहासकै महत्वपूर्ण मानिएको ऊर्जा संकट समाधानमा केन्द्रित थियो ।’

दिनमा १८ घण्टासम्म लोडसेडिङ भित्तामा लोडसेडिङको तालिका टाँसेर आफ्नो उद्योग व्यवसाय सञ्चालनको समय पर्खनुपर्ने जर्जर अवस्थालाई अन्त्य गर्दै आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा लोडसोडिङमुक्त उज्यालो नेपालको थालनी गरिएको स्मरण गर्दै उनले भने,  ‘नेपालको अर्थतन्त्र सुधारका लागि यो ऐतिहासिक कोशेढुंगा थियो भन्नेमा आम उद्योगी व्यवसायीहरू जानकार नै हुनुहुन्छ । मेरो दोस्रो कार्यकालकै परिणामको स्मरण गर्दा चौधौं राष्ट्रिय योजनामा लक्ष्यभन्दा

अध्यक्ष प्रचण्डले आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्न पाउँदा सुशासन र सामाजिक न्यायसँगै आर्थिक समृद्धिलाई महत्वपूर्ण राष्ट्रिय एजेण्डाको रुपमा स्थापित गरेर यसलाई राज्यको अभियानकै रुपमा अघि बढाएको बताए । ‘मैले सरकारको नेतृत्व लिँदै गर्दा नेपालको अर्थतन्त्र कमजोर मात्र थिएन, विभिन्न आर्थिक संकट झेलिरहेका देशहरूसँग तुलना गर्दै नेपाल पनि आर्थिक संकटमा जाँदैछ भनेर एक प्रकारले आतंक नै खडा गरिएको थियो’, उनले भने,  ‘तर, भ्रष्टाचारविरुद्ध कडा कदम चाल्दै जनतामा नयाँ आशाको जागृत गरेर आर्थिक क्षेत्रमा संरचनागत सुधारको प्रयास थालेपछि अर्थतन्त्र विस्तारै लयमा फर्कन थाल्यो र अहिले आशालाग्दो गरी यसले गति लिइरहेको छ । क्रमशः आर्थिक सुधारका सकारात्मक परिणाम पनि आउन थालिसकेका छन् ।’

चालु आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणसम्म आइपुग्दा अर्थतन्त्रका रुपान्तरणकारी क्षेत्रको पहिचान र परिचालनका लागि स्पष्ट योजना अघि सारेका जानकारी दिंदै उनले भने,  ‘कृषिलाई आधार र सूचना प्रविधिलाई नेतृत्वदायी भूमिकामा राख्ने अवधारणासहित कृषि, पर्यटन, जलविद्युत, उद्योग र सूचना प्रविधि क्षेत्रलाई रुपान्तरणकारी क्षेत्रका रुपमा पहिचान र परिचालन गर्नु आर्थिक समृद्धिको क्षेत्रमा महत्वपूर्ण सुरुवात हो । हामीले व्यवस्थितरुपमा अघि बढाएका यी आर्थिक सुधारका पहल र कार्यक्रम वर्तमान सरकारले त्यही गतिमा सञ्चालन गरिरहेको छैन । नेपाल राष्ट्रिय व्यवसायी महासंघ लगायत आर्थिक क्षेत्रका नेतृत्वदायी संस्थाहरूले अघिल्लो सरकारले अघि बढाएका अर्थतन्त्र सुधारका व्यवस्थित पहल र योजनाहरू कार्यान्वयनका लागि सरकारलाई दबाब दिन आवश्यक देखिएको छ र त्यसका लागि सबै व्यवसायी साथीहरूलाई म आग्रह पनि गर्दछु ।’

संविधानको अभिष्ट समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नु रहेको उल्लेख गर्दै उनले त्यसका लागि उत्पादनमुखी अर्थतन्त्रलाई प्रवर्धन गर्दै आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्नुपर्नेमा जोड दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।