काठमाडाैं । नेपालमा पञ्चायती कालरात्रिको अन्त्य, प्रजातन्त्रको प्राप्ति र मुलुकमा आमूल परिवर्तन गर्ने लडाइँ चलिरहेका बेला वि.स. २०४७ अन्तरिम संविधान रहेकै अवस्थामा हाम्रो समुदायका एक योद्धा बसिर मियालाई अर्घाखाँचीमा प्रहरीबाट घरभित्र नै पसेर गोली हानेर हत्या गरियो । सो घट्नालाई हामी मुस्लिम समुदायका केही अगुवाहरूले समुदायको हक, हित र एकता गरेर अघि बढ्न एउटा सङ्गठनमा आबद्ध हुने सोच अनुसार अघि बढ्यौँ । समुदायको हक हितमा केही गर्नुपर्छ भनेर २०४८ सालमा नेपाल मुस्लिम इत्तेहाद सङ्गठन स्थापना गरेका हौँ । केन्द्रीय कार्यालय काठमाडौँमा राखेर सातै प्रदेशमा हाल प्रदेश अधिवेशन सम्पन्न गरिसकेका हौँ ।
नेपाल मुस्लिम इतिहासमा पाँचवटा राष्ट्रिय महाधिवेशन गरिसकेका छौँ । सङ्गठनको मूल उद्देश्य राष्ट्र, राष्ट्रियता, मुलुकको आमूल परिवर्तन र प्रजातन्त्रको संस्थागत विकास नै हो । मुलुकमा बिगतका सरकारबाट समुदायमाथि गरेको उत्पीडन शोषण, दमन गर्ने खालको प्रवृत्तिका विरुद्धमा र सोही अनुसारका माग अगाडि बढाउने साथै समुदायको शैक्षिक, आर्थिक र रोजगारीका साथै अल्पसंख्यक समुदाय भएको हुनाले पनि सुरक्षाको प्रत्याभूति महशुस गराउने ढंगले यो सङ्गठन अगाडि बढेको छ र क्रियाशील छ ।
गण्डकी प्रदेशका आठ नौ वटा जिल्लामा मुस्लिमहरूको बाक्लो नै बसोबास छ । यस हिसाबले सङ्गठनको ऐतिहासिक अधिवेशन पर्यटकीय नगरी पोखरामा गर्दैछौं । यही पुस २० गते शनिबार अधिवेशनलाई ऐतिहासिक रूपमा सम्पन्न गर्ने गरी अन्तिम तयारीमा छौँ ।
सत्तारुढ दल नेकपा(एमाले)को भ्रातृ सङ्गठनका रूपमा क्रियाशील सङ्गठनमा पार्टीका महासचिव नै ल्याउने तयारी गरे पनि २१ गते एमालेको केन्द्रीय कमिटीको बैठक भएको हुँदा पोखरा ल्याउन सकेनौँ । सङ्गठनका दक्ष इन्चार्ज भानुभक्त ढकाल प्रमुख वक्ता र सङ्गठनका अध्यक्ष शेराफ फारुफको प्रमुख आतिथ्यतामा अधिवेशन हुनेछ ।
समुदायको हक, हितमा खासै त्यति उपलब्धिमूलक काम गर्न सकेका छैनौँ । तर उद्देश्य चाहिँ बोकेकै हो । धेरै समयपछि यहाँ नेपाली काँग्रेसले पनि एउटा मुस्लिम संघ खोल्नुभएको छ । स्पष्ट भन्नुपर्दा उहाँहरूले एमालेको भातृ सङ्गठनको सिको गर्दै मुस्लिम संघको स्थापना गर्नुभएको हो । उहाँहरूले पनि हाम्रै मितिमा नै अधिवेशन गर्ने तयारीमा हुनुहुन्छ । मुस्लिम सङ्गठन दुई वटामा बाँडिएको अवस्था छ । गण्डकी प्रदेशमा ६०–४० को अवस्था छ । समग्र प्रदेशको हकमा हामी ६० छौँ र काँग्रेस ४० रहेको अवस्था छ ।
सङ्ख्यात्मक रूपमा हामी पहाडमा बसोबास गर्ने पहाडी मुस्लिमको संख्या न्यून छ । राज्यले विभाजन गरिदिएको अवस्था छ । मधेसी मुस्लिम, पहाडी मुस्लिम, उपत्यका गरी नेपाली मुस्लिमहरू तीन खण्डमा विभाजित गरिदिएको छ ।
हामी जतिसुकै सन्तुलित हुन खोजे पनि अब भेगीय नाता हुन्छ । जनआधार कम भएको हुँदा प्राय सङ्गठनको नेतृत्व अहिलेसम्म तराई मूलका समुदायका साथीहरूसँग गइरहेको अवस्था छ । तर हामी छैटौँ अधिवेशन गर्दैछौं । राष्ट्रिय महाधिवेशन यहीँ माघ–फागुनतिर कोहलपुरमा गर्दैछौं । यसमा मेरो पनि नेतृत्वमा पुग्ने कोसिस रहनेछ । साथीहरूबिच पनि सम्झौता भएको छ ।
लामो समयदेखि पार्टी र सङ्गठनमा लागेर पहाडी मूलका मुस्लिम भएका नाताले यहाँले जिम्मेवारी लिनुपर्छ भन्ने प्रस्तावहरू पनि आइरहेका छन् । हुन त दावा मात्रै गरेर सम्भव काँहासम्मको हुन्छ त्यो महाधिवेसनबाट थाहा हुनेछ । म नै अध्यक्ष हुँ भन्ने अवस्था त छैन तर दाबी कायम रहन्छ ।
सङ्ख्यात्मक हिसाबले अब मधेसमा बस्ने मुस्लिमहरूको बाहुल्यता ठुलो भएको हुँदा उहाँहरूले विभिन्न पदमा दावा गर्नु स्वाभाविक पनि हो पहाडमा समेत अर्थात् अर्घाखाँची, पाल्पा, गुल्मी, स्याङ्जा, तनहुँ, कास्की, लमजुङ, गोरखा, मनाङ, मुस्ताङ जस्ता मुस्लिमहरूको बसोबास छ । मलाई लाग्छ पहाडी मुस्लिमहरूलाई पछाडि पारिएको छ भन्ने लाग्दैन । गण्डकी प्रदेशको हकमा प्रजातन्त्र प्राप्तपछि तीन जना मुस्लिम माननीय पाएका छौँ । हसिना मियाँ, कलिला मियाँ र सफिक मियाँ लगायतका माननीयहरू पाएका छौँ । पहाडी मुस्लिमहरू पछाडि त परेका छैनौँ । तर सङ्ख्याको हिसाब किताबले हामीहरू भन्दा धेरै अगाडि उहाँहरू हुनुहुन्छ ।
मुस्लिम आयोगका अध्यक्ष उहाँहरू नै हुनुहुन्छ । हिजो मन्त्रीहरू पनि उहाँहरू नै हुनुभयो । अहिले नेकपा एमालेको केन्द्रीय कमिटीमा पनि मधेसी मुलुकका मुस्लिम साथीहरूकै बाहुल्यता छ । त्यस अर्थमा चाहीं पहाडीलाई थोरै अन्याय भएकै हो । किनभने नेकपा एमालेको विचार बोकेको पनि अहिले करिव ४२÷४३ वर्ष भयो । यो विचारलाई अहिले पनि बोकी रहेको अवस्था छ । टोल सदस्य, गाउँ सदस्य, वडा सदस्य, नगर सदस्य, क्षेत्रीय सदस्य, जिल्ला कमिटीको सदस्य हुँदै प्रदेश सचिवालयसम्म पुग्ने अवसर पाएको छु ।
सम्भवतः चार वटा राष्ट्रिय महाधिवेशन, एउटा विधान महाधिवेशन, एउटा राष्ट्रिय प्रतिनिधि परिषद् ६ वटा राष्ट्रिय स्तरका कार्यक्रममा म चाहिँ प्रतिनिधि भएर जाने अवसर समेत पाएको छु । सबैको सहयोग पाएका पार्टीको केन्द्रीय कमिटी सदस्यमा पुग्ने इच्छा चाहिँ छ । अधिवेशनमा कुनै त्यस्तो बाधा एवम् चुनौतीहरू केही पनि छैन । एक खालको निर्णय बनाइसकेका छौँ ।
सम्भवतः यो गण्डकी प्रदेशको इन्चार्जको हैसियतले यहाँका आठ वटा जिल्लाहरूमा अधिवेशन सिद्ध्याएका छौँ । कान्छो जिल्ला म्याग्दीमा अधिवेशन गर्न बाँकी छ । त्यहाँ जबुल मियाँ उपमहासचिव हुनुहुन्छ । उहाँ त्यतातिर सक्रिय हुनुहुन्छ । गण्डकी प्रदेशका मुस्लिम समुदायहरू र नेकपा एमालेमा आवद्ध शुभचिन्तक सङ्गठनका एकजुट भएर अधिवेशनलाई ऐतिहासिक बनाउन कस्सिएका छौँ । गण्डकी प्रदेशको ऐतिहासिक पहिलो अधिवेशन सकाएर कार्यक्रम र योजनाहरू बनाएर अघि बढ्छौँ ।
सकारात्मक पक्ष के छ भने हिजो पार्टी सरकारमा रहँदा अर्थात् विभिन्न कालखण्डमा बनेका सरकारबाट समुदायप्रति बोकेको धारणा र विचार सम्मान गर्नपर्छ । एमाले र श्रद्धेय नेताहरूलाई धन्यवाद दिनै पर्छ । मुलुकमा चरम छुवाछुत, जातीय विभेद चलिरहेको अवस्था एउटा कालरात्रि अवस्थाको चिरफार गर्दै नेपाल सङ्गठनलाई अगाडि बढाउनमा पार्टीको हात छ ।
जाँचबुझ आयोग गठन गरी हरेक जिल्लाभरि एउटा संस्थाले दौडाह नै गर्यो । अहिले गर्व लाग्छ । मधेस आयोगहरू सरकारको मातहतमा चलेका छन् । शिक्षकहरूलाई पनि पारिश्रमिक दिने व्यवस्था भएको छ । सबैभन्दा खुसीको कुरा मानव भएर बाँच्न पाएको छौँ । हिजो मानव मानवको बिचमा पनि जातीय द्वन्द्व, छुवाछुत एकले अर्कोलाई हेला गर्ने जुन प्रथा थियो त्यसलाई जरैबाट नेकपा एमालेले खारेज गरेको अवस्था छ । समुदायको हक हितमा सबै पर्याप्त नभए पनि धेरै काम गरेको छ ।
मुस्लिमहरूमाथि हेर्ने दृष्टिकोण राज्यको जुन थियो त्यसलाई समाप्त पार्ने काम पार्टीले गरेको छ । जातीय समानता, एकता, धार्मिक सहिष्णुता र छुवाछुतको अन्त्य मानव मानवबिचको द्वन्द्वको अन्त्य गर्ने योजना एमालेले ल्याएकाले स्वतन्त्र भएका छौँ । आफ्ना विचार प्रस्टसँग राख्ने भएका छौँ ।
(नेपाल मुस्लिम इत्तेहाद सङ्गठन केन्द्रीय कमिटीका बरिष्ठ उपाध्यक्ष एवम् गण्डकी प्रदेश इन्चार्ज इस्लाम मियाँसँग गरीएको कुराकानीमा आधारित)
प्रतिक्रिया