ताजा अपडेट »

बजारवादको सिकारमा परेका सचिन

शनिबार, २० पुस २०८१, १० : ४६
300 Shares
शनिबार, २० पुस २०८१
300 Shares

विश्व अर्थतन्त्रमा १९९० पछि विश्वव्यापीकरण, उदारीकरण तथा नीजीकरणको अभियान तिव्र गतिमा फैलिईरहेको छ । जसका कारण वर्तमान समयमा हरेक मानिस तथा कम्पनीले आफू र आफ्ना उत्पादनलाई विश्व बजारमा छोटो समयमा नै अत्यधिक चर्चामा ल्याउने तिव्र ईच्छाँ राखेको छ । यसका लागि उसले आफ्नो वा अन्य मानिसको क्षमता, योग्यता तथा अनुभवको चरम उपभोग गरिन्छ । यस प्रकारको कार्य बजार अर्थतन्त्रको आधारभूत विशेषता नै हो । जसको सिकारको प्रतिनिधि घटना बाल कलाकार सचिन परियार बनेका छन् । 

समाजवादी अर्थव्यवस्थामा हरेक कुराहरु समाजको आवश्यकताले निर्धारण गर्ने तथ्यमा आधारित रहेर नेपालको संविधान २०७२ ले नेपाली अर्थतन्त्रको मोडल समाजवादी अर्थतन्त्र रहने बताएको हो । यद्यपी वर्तमान नेपाली अर्थतन्त्रको व्यवहारिक अभ्यास पूर्ण रुपमा बजार अर्थतन्त्रमा अभ्यस्त रहेको छ । परिवर्तित सामाजिक आर्थिक परिवेश र परिस्थितीले सिर्जना गरेको विनिमय तथा वितरणको चक्रका कारणले उत्पन्न बजारको अवधारणालाई केही सीमित मानिसले कब्जा गरि विज्ञापन, सञ्चार इन्टरनेट र अन्य प्रचारप्रसार माध्यको प्रयोग गरि आम मानिसलाई भावनात्मक तरिकाले उत्तेजित बनाई आय आर्जन गर्ने प्रणालीको विकास भएको छ । जसलाई अर्थशास्त्रीय सन्दर्भमा बजारवाद नामाकरण गरिएको पाईन्छ । बजारवादको मुख्य उद्देश्य नै नाफाको सिर्जना गर्नु हो र यसका लागि यसले सामाजिक सद्भाव, एकता, पारिवारिक आत्मिय सम्बन्धमा समेत प्रविधि र पुँजीको चरम दुरुपयोग गरेर हमला गरि आफ्नो निहित स्वार्थ पूरा गर्ने गर्दछ । बजारवादको सफलता भनेको श्रमिकको क्षमतालाई चरम उपयोग गरि बुजुर्वा वर्गको आम्दानीमा रुपान्तरण गर्नु हुने गर्दछ ।  

बजारवादको चरमोत्कर्षका कारण मानिसको भौतिक शरिर र कलाको कसरी दोहन गरिन्छ भन्ने कुराको ज्वलन्त उदाहरण सचिन परियार हुन् । सामाजिक सञ्जाल युट्बुर तथा केही सामाजिक अभियान्ताको आयआर्जनको माध्य बनेर आफ्नो बाल्यकालको सहज अनुभव गर्न नपाएका बाल कलाकार सचिन परियार २०७७ सालमा सामाजिक सञ्जालकै माध्यमबाट बालकलाकारका रुपमा प्रवेश गरेका थिए । शरिरमा जोस जागर हुदाँको समयमा उनि दर्शकका लागि कलाकार तथा सर्जकका लागि आम्दानी बढाउने मालका रुपमा प्रयोग गरिए । यसक्रममा उनले आफ्नो परिवारको मायाँ र शैक्षिक गतिविधिलाई निरन्तरता दिन पाएनन् । 

वर्तमान समयमा नेपाली अर्थतन्त्रको स्वरुप उत्पादन बिस्तार गर्ने भन्दा पनि बजारमा आएको माललाई हरेक तवरबाट उपभोग गर्ने उपभोगवादी संस्कारमा परिणत भएको अवस्थामा सचिनको कलालाई अत्यधिक दोहन गरियो । यस क्रममा उनले साँस्कृतिक कार्यक्रमको धपेडिका कारण आफ्नो स्वास्थ्यका बारेमा ध्यान दिन सकेनन् । जसका कारण मिति २०८१ पौष १८ बिहान १०ः४५ बजे टिचिङ् अस्पताल महारागञ्जमा अप्रिय घटना हुन पुग्यो भनेर छुट पाउने नैतिकता विगतमा उनको क्षमतालाई प्रयोग गरेर आफ्नो गर्जो टारेकाहरुले भन्ने अधिकार नरहेता पनि वर्तमान बजार अर्थतन्त्रमा यस्तो परिस्थितीलाई सामान्य नै मान्ने गरिन्छ ।

लाखौँ नेपालीहरुले रुचाएको बाल कलाकारको यस्तो दर्दनाक घटना हुनुले नेपाली समाजमा कलाकारहरुप्रति अहिले सम्मान कम हुदैँ गएको निष्कर्ष निकाल्न हतार नगरौँ । यद्यपी लाखौँ मान्छेलाई पीडामा हसाउँन सक्ने एक कुशल बालकलाकार उपचार सम्भव रहेको रोगकै कारणले मृत्यु वरण गर्नुपर्ने दिन आउनु भनेको राज्यको समेत असफलता नै हो । कलाकार राष्ट्रका सम्पत्ति हुन तिनीहरुलाई गरिने सम्मानले सम्रग देशको ईज्जत, मान, प्रतिष्ठा नै बढ्ने गर्दछ । यस्तो विश्वव्यापी तथ्यलाई अझ धेरै सान्दर्भिक बनाउनका लागि सरकार तथा कलाकारका संघ, संगठनको भूमिका अभिभावकीय रुपमा हुनु पर्नेमा सचिनका लागि नहुनु हामी सबैका लागि दुःख कुरा हो । 

सामाजिक सञ्जालमा भाइरस हुने र डलर कमाउने अभियान चलाएकाहरुबाट सचिन परियार प्रयोग गरिए तर विगत ६ महिनादेखि उनको उपचार चलिरहेको र यसका लागि आर्थिक सङ्कटको उनले सामना गरिरहेको कुरा जोडतोडमा साथ चर्चामा नआउनुले पनि हामी नेपालीमा पनि क्रमश मानवता मानवियता हराउँदै गई बजारवादमा धुमिल भएको प्रमाणित भएको छ । 

अन्त्यमा, जिवित रहुञ्जेल सचिन परियारको कलाकारीतालाई आफ्नो आम्दानीको माध्यम बनाईएका सामाजिक सञ्जालका सटरहरु अन्य व्यत्तिको यसै प्रकारको दोहनका लागि प्रयोग नहुने वातावरणको निर्माण गर्न सकेमा मात्रै सचिन प्रतिको सच्चाँ श्रद्धासुमन हुनेछ । लाखौँलाई के छ हजुर ? भनेर मुस्कान सहित आफ्नो कला प्रस्तुत गर्ने प्रिय बालकलाकार सचिन तिमी अवसरवादी बजारवादको चरम दोहनमा फसेर बाल्यकालमा संसार छोडेपनि हाम्रो मनमा सधैंभरि नै रहनेछौँ भन्दै भावपूर्ण श्रद्धाञ्जली सहित अल बिदा ! 


 

हुमराज भुसाल
लेखकको बारेमा
हुमराज भुसाल