ताजा अपडेट »

उडानका क्रममा विमानको आपतकालीन ढोका खोल्ने दुई यात्रुलाई जरिवाना

शुक्रबार, १९ पुस २०८१, ०६ : ४५
324 Shares
शुक्रबार, १९ पुस २०८१
324 Shares

काठमाडौँ । विमानको आपतकालीन ढोका खोल्ने दुई यात्रुलाई जरिवाना तिराइएको छ । बुद्ध एयरको दुई उडानका क्रममा ढोका खोल्ने यि यात्रुलाई र एक-एक लाख जरिवाना तिराइएको हो । जरिवानाबापत यात्रुबाट प्राप्त रकम परोपकारी संस्थालाई हस्तान्तरण गरिएको बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ । जनकपुरधामको महागङ्गा आरती–गङ्गासागर र पोखराको वृद्धाश्रमलाई रु एक-एक लाख सहयोग गरिएको हो ।

बुधबार (जनवरी १ तारिख) का दिन पोखराबाट काठमाडौँ (उडान सङ्ख्या छ सय १८) को उडान तयारीका क्रममा एक जना यात्रुले अनाहकमा विमानको आपतकालीन ढोका खोलेका थिए । प्राविधिक टोलीको परीक्षणपछि करिब तीन घण्टा ढिलो साँझ ६ः४० मा काठमाडाैँका लागि उक्त विमान उडेको थियो ।

यसैगरी काठमाडौँबाट जनकपुरका लागि गत अक्टोबर १० का दिन बिहान ६ः ०५ मा उडेको विमान जनकपुरको खराब मौसमका कारण डाइभर्ट भई विराटनगर पुगेको थियो । जनकपुरको मौसममा सुधार आएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको विमानमा ट्याक्सी वेबाट धावनमार्ग पस्दै गर्दा एक यात्रुले विमानको ‘इमर्जेन्सी’ ढोका खोलेका थिए ।

उक्त घटनापछि चालक दलले विमान पार्किङ–वेमै फर्काएका थिए । विमानको प्राविधिक जाँचका लागि काठमाडौँबाट टेक्निकल टिम गई सम्पूर्ण जाँचपछि दिउँसो १ बजे जनकपुर अवतरण गरेको थियो । यसबाट उडान प्रक्रिया अवरुद्ध भई त्यस दिनको उडान तालिका निकै प्रभावित बनेको थियो ।

अनाहकमा आपतकालीन ढोका खोल्ने यात्रुलाई विमानस्थल सुरक्षाकर्मीलाई जिम्मा लगाइने गरिएको छ । यात्रुले अब उप्रान्त यस्तो कार्य नगर्ने शर्तमा क्रमशः रु एक लाख क्षतिपूर्ति तिराइएको थियो ।आपतकालीन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडानअगावै विस्तृत रुपमा यात्रुहरूलाई जानकारी गराएका हुन्छन् । आपतकालीन अवस्थाबाहेक यसलाई खोल्न मिल्दैन, यसले उडान सुरक्षामै खलल पुर्याउँछ ।

हवाई उडानमा खलल पुर्याउने जोसुकैलाई ‘गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५’अनुसार एकदेखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरेर जन्मकैदसम्म सजाय हुने प्रावधान छ । विमान कम्पनीले उडान सुरक्षामा अनाहक खलल पुर्याउने यात्रुलाई उडानमा थप प्रतिबन्ध लगाउन पनि सक्छन् । कम्पनीले अनाकहमा आकस्मिक ढोका खोल्ने यात्रुबाट क्षतिपूर्ति रकम रु एक लाख तिराइ तिनै गन्तव्यका परोपकारी संस्थालाई सहयोग गर्ने बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।