ताजा अपडेट »

क्यान्सर पीडित अमृतालाई सामाजिक अभियन्ता भन्नेलेनै पुर्याए सडकमा

विहीबार, १८ पुस २०८१, १० : ५१
552 Shares
विहीबार, १८ पुस २०८१
552 Shares

बुटवल । बुटवल उपमहानगरपालिका-८ सुख्खानगरकी ८१ वर्षीया अमृता सुनारले हातमा केही अपूरा कागजात लिएर न्याय खोज्दै हिड्ने दैनिकी बनेको छ । क्यान्सर रोगसँग लडिरहेकी उनले उपचारका लागि करोड बढी पर्ने घर–जग्गा विक्री गरिन् तर सो बापतको रकम नपाएपछि सडकमा आउनु परेको हो । 

बुटवल-११ देवीनगर करुणपथ बस्ने जानकी बराहलाई १ करोड १८ लाखमा घर–जग्गा विक्री गरेकी अृमताले सो बापतको रकम नपाउँदा सडकमा आउनु परेको छ । नजिकको चिनजानका आधारमा कुनै लिखत वा कागजातनै नबनाई विश्वास गरेर आफ्नो नामको घर–जग्गा सही छाप गरेर जानकीलाई जिम्मा लगाएकी अमृताले कारोबार भएको ७ वर्ष बढी समय हुँदा पनि अझै ८४ लाख रुपैयाँ रकम पाउन बाँकी नै छ । छातीमा क्यान्सर रोग देखिएपछि उपचार गराउन घर बेचेकी उनले ३४ लाख रुपैयाँ प्राप्त गरे पनि बाँकी रकम भने नपाएपछि सडकमा आउनु परेको हो । 

‘आफू क्यान्सर रोगले पीडित, छोरा डिप्रेसनको बिरामी, भएको घरजग्गा दलालले खाइदियो । न्याय खोज्न जाउँ प्रमाण छैन भनेर ढोकैबाट फर्काउँछन् ।’-चाउरी परेका गालामा आँसुका धारा चुहाँदै अमृताले गुनासो गरिन् । आफ्ना ४ भाई छोरामध्ये साहिलो छोरा दुर्गा खड्कासँग बस्दै आएकी उनी घर न घाटको हुन पुगेकी हुन् । छोरा दुर्गा दिप्रेसनका रोगी छन् । 

२०७३ साल माघ २१ गते अमृताले आफ्नो घर विक्री गरेकी थिइन । आफूलाई सामाजिक अभियन्ता समेत बताउने जानकी बराहले आफूलाई सडकमा ल्याउन बाध्य पारेको गुनासो पीडितको छ । जानकीले बाँकी रहेको ८४ लाख रुपैयाँ रकम नदिइ नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ८ मा रहेको ७ कट्ठा ६ धुरको जग्गा दिने भनि प्रलोभन देखाइन् । तर उक्त ठाउँमा जाँदा जग्गासमेत नभेटिएपछि अमृताले आफू ठगिएको महशुस गरिन् । अमृता र जानकी बीच घर–जग्गा किनबेचको कारोबार गराउने मुख्य व्यक्ती जानकीका भाई विक्रम बराह हुन् । 

अमृताले न्यायका लागि बुटवल-८ को वडा कार्यालयमा निवेदन गरेपछि पटक-पटक छलफल र सहमतिहरु पनि भए । तर कार्यान्वयन भएन । वडा अध्यक्ष यज्ञप्रसाद पंगेनीले अमृता पीडित भएको स्वीकार गरे । न्याय दिलाउने आफ्नो पटक–पटकको प्रयास असफल भएको उनी बताउँछन् । बुटवल उपमहानगरको न्यायिक समितिमा समेत अमृताले न्याय खोज्न पुगिन । तर, प्रमाण नपुग्ने भन्दै उनलाई त्यहाँबाट फर्काइयो । उपप्रमुख सावित्रा देवी आर्यालले अमृता बास्तवमै अन्यायमा परेको भए पनि प्रमाण र आधारहरु नपुग्ने भएकाले आफूले न्याय दिलाउन नसकेको स्वीकार गरिन् । पटक-पटक पीडितहरुसँग आफूले भेटेर कुराकानी गरेको बताउँदै उनले न्याय दिलाउन प्रमाण नपुग्ने भएकाले असम्भव भएको उल्लेख गरिन् । ‘मैले उहाँहरुसँग भेटेर कुराकानी गरेकी छु । प्रयाप्त प्रमाण र आधारहरु नभेटिएका कारण इजलासमा लैजान सकिन ।’-उपप्रमुख अर्यालले भनिन्, ‘उहाँहरु पीडित नै हो भन्ने मैले बुझेकी छु तर, कुनै उपाए लागेन ।’

अमृताको घर खरिद गर्ने जानकी कानुन व्यवसायी समेत हुन् । पीडित परिवारसँग विभिन्न बसाइ तथा फोन सम्पर्कमा समेत कानूनी रुपमा आफू बलियो भएको र जे पनि गर्न सक्ने धम्कीपूर्ण भाषाहरु प्रयोग गर्ने गरेको पीडितको गुनासो छ । अमृताको सोझोपनको फाइँदा उठाउँलै करोडौंको कारोबार गर्दा पनि कुनै कागजातनै नबनाएर लेनदेन गर्नुले पनि उनीहरुको नियतमाथि प्रश्न उठ्छ । पीडित अमृताले सुरुमा कारोबार गर्दा कागजात गर्नुपर्ने प्रस्तावसमेत राखेकी थिइन्, तर जानकीले आफू कानून व्यवसायी भएकाले कुनै कागजात बनाउन नपर्ने भनेपछि विश्वासकै आधारमा घर-जग्गा पास गरिदिइन् । अमृताले जानकीसँग रकम माग्दा विभिन्न बहाना बनाउने तथा आफू कानून व्यवसायी भएकाले कसैले केही गर्न नसक्ने आसयका धम्कीहरु समेत दिने गरेको गुनासो गरिन् । 

घर खरिद गर्ने जानकीले भने सबै कुरा आफ्नो भाइ विक्रमलाई देखाएर पन्छिदै आएकी छन् । आफूले कारोबार गर्दा ३५ लाख रुपैयाँ रकम र बाँकी रकम बराबर जग्गा दिएको उल्लेख गरिन् । जानकीका श्रीमान टिकाराम गौतमले आफूहरुबाट सबै रकम भुक्तानी भएको बताउँदै अमृतासँग कुनै पनि कारोबार बाँकी नरहेको दाबी गर्छन् । अमृताले पाउनु पर्ने बाँकी ८४ लाख रकम विक्रमलाई बुझाएको र विक्रमले अमृतालाई जग्गा दिने सहमति भएको उनले उल्लेख गरे । तर, सहमति अनुसार अमृताले भने जग्गा पाएकी छैनन् भने रकम समेत नपाएपछि न्यायको खोजीमा भौतारिनु परेको छ । यस विषय बुझ्न खोज्दा जानकीका भाई विक्रमसँग सम्पर्क हुन सकेन । दुई दिदी-भाई मिलेर क्यान्स रोगले पीडित अमृतालाई थप पीडित बनाएको जनप्रतिनिधिहरुले समेत जान्दा जान्दै पनि न्याय दिलाउन नसक्ने भएपछि अन्तिम विकल्प खोज्न उनीहरु मिडियामा आएका छन् । 
 

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।