ताजा अपडेट »

उध्रेका कपडा सिलाउने प्रेमको परिकल्पना

विहीबार, १८ पुस २०८१, ०८ : ४९
1.18K Shares
विहीबार, १८ पुस २०८१
1.18K Shares

प्रेम परियार २९ वर्षका अविवाहित युवा हुन् । खास घर उनको गुल्मी कालीगण्डकी गाउँपालिका वडा-५ फोक्सिङ्, लितुङमा छ । यतिबेला उनी बुटवलमा बस्छन् । तिलोत्तमा नगरपालिका वडा नं.३, जोगीकुटी बजारमा ‘उध्रेको टेलर्स’ एक महिनादेखि सञ्चालन गर्दै आएका प्रेमको मुख्यपेसा शिक्षण हो । उनले बुटवलको दीप बोर्डिङ्गमा कक्षा ८ र ९ का विद्यार्थीलाई सामाजिक विषय अध्यापन गर्न थालेको एक वर्ष पुग्यो । 

प्रेमले २०७० सालको एसएलसीमा गाउँकै जनकल्याण माविबाट प्रथम श्रेणीमा उत्तीर्ण गरेका थिए । सोही विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेपछि राजनीतिशास्त्र र अर्थशास्त्र विषयमा बुटवल बहुमुखी क्याम्पसबाट स्नातक गरे । थप उच्चशिक्षाका लागि त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस कीर्तिपुरबाट समाजशास्त्रमा तेस्रो सेमेष्टर पूरा गरेपनि स्नातकोत्तरको पढाइ पूरा गर्न भ्याएनन् । अहिले बुटवल बहुमुखी क्याम्पसमा समाजशास्त्र विषयमा नै पहिलो सेमेष्टर  भर्ना भएका छन् । पढाइ उनको रुचिको विषय हो । साहित्यमा उनको गहिरो चासो र चिन्तन छ । 

दिउँसो उनले पढाउँछन् । साँझ–विहान आफ्नै टेलर्समा समय, श्रम र सीप  खन्याउँछन् । नामै ‘उध्रेको टेलर्स’ युनिक नाम । जिभ्रोमा नै झुण्डिने नाम । प्रेमले मनैदेखि जुराएको नाम । अर्गानिक नाम । 

उध्रेको सिलाउने काम । फिटिङ् गराउने ठाम । टाँक हाल्नेदेखि पुराना कपडा टाल्ने । भद्दा कपडालाई घटाउनेदेखि साना लुगामा मान्छेलाई अटाउन हाल्ने काममा ‘उध्रेको टेलर्स’ कटिबद्ध छ । प्रेमले सहरमा उध्रेको लुगा सिलाउने ठाउँ नदेखेपछि यस्तो टेलर्सको कन्सेप्ट तयार गरे । केही समय सोही विषयमा अध्ययन गरेपछि उध्रेको टेलर्स खोले । सुरुवातीको एक महिनामा उनले करीव सात हजारको आम्दानी गरे । चार हजार पाँच सय रुपैयाँको घर भाडा तिर्न उनलाई आफ्नो तलव छुट्याउन परेन । प्रचारप्रसार भएमा नयाँ लुगा सिलाउने दाँजोमा कमाउन सक्ने उनको दृढ संकल्प रहेछ । 

‘टेलर्सका सूचीकारले उध्रिएको कपडा विहान बुहानी नहुँदै ल्याएमा अशुभ मान्छन् र दिनभर फाटेकै लुगा सिउनु पर्ने र आम्दानी उचित नहुने भएकाले उध्रेका लुगा सिलाउँदैनन’– प्रेमले आफ्नो अनुभव सुनाए । उनका बाबाआमाले टेलर्स चलाउँदाका तीतो अनुभव त्यस्तो रहेछ । उध्रेको लुगा सिलाउने कामलाई तल्लोस्तरको काम र अशुभ सोच्नेहरुलाई उनले ‘उध्रेको टेलर्स’ खोलेर च्यालेन्ज दिए । उनको पुरानो तर नयाँ सोचका साथ काम गर्ने शैली देखेर धेरैलाई अचम्म लाग्नेछ ।

केही समय उनले आफ्नै गाउँपालिकामा कृषि संयोजकका रुपमा करार सेवा पनि गरे । यतिबेला आफ्नो  पढाइ र पढाउने कामदेखि बाँकी रहेको समय उध्रेको लुगामा नै खर्चिएका छन् । उनको कामलाई उनकी भाञ्जीले साथ दिएकी छन् । पुर्ख्यौली पेसाका रुपमा सिकेको आफ्नो ज्ञान, सीपलाई प्रेमले आधुनिक र प्रतिष्ठित तरिकाले आयआर्जनसँग जोडेका छन् ।
 
 न्यूतम १० रुपैयाँदेखि पाँच सय रुपैयाँसम्म सर्ट, पाईन्ट, कोट उध्रेमा सिलाएको ज्याला लिने प्रेमले बताए । उध्रेको सिलाएरमात्र आफ्नो टेलर्स चल्छ वा बन्द हुने हो ? प्रेमलाई ठूलो चुनौती छ । त्यीनै चुनौतीका पहाडमा उक्लिने उनको दृढ सपना छ । फरक काम फरक तरिकाले गर्दा आउने चुनौती आफूलाई स्वीकार रहेको प्रेमले हाँसीहाँसी बताए । 

दुई दाजु र एउटी दिदीकी कान्छो भाइ प्रेम, पढ्न र बोल्न खुबै जानेका छन् । उनका बाबा सहनाई बजाउन माहिर छन् । गाउँमै लुगा सिलाएर आफ्नै पौरखमा बाँचेका उनका बाबाआमालाई  सहरमै सुख गरि राख्न प्रेम आफ्नै कर्ममा गतिशील छन् । विहेका लागि समेत जुटेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।