ताजा अपडेट »

आज ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

विहीबार, १८ पुस २०८१, ०८ : ३९
40 Shares
विहीबार, १८ पुस २०८१
40 Shares

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न ६ वटा समितिको बैठक बस्दैछ । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानून, न्याय तथा मानवअधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । सबै समितिका बैठक बिहान ११ देखि दिउँसो ३ को बीचमा सिंहदरबारमा बस्नेछन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक वर्ष २०८१–८२ को कार्यक्रम तथा हालसम्मको प्रगतिका बारेमा छलफल हुनेछ । यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्न गठित उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ । कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित दफाहरूमा छलफल गर्ने कार्यसूची रहेको छ ।

पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीहरूसँग छलफल गर्ने तयारी छ । यसैगरी, विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।