काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले आफ्ना भावी योजनाबारे जानकारी दिने उद्देश्यसहित आज दिउँसो पत्रकार सम्मेलन गर्ने भएका छन् । नयाँ पार्टी गठन गर्ने तयारीमा रहेका रावलले काठमाडौंको कार्की बैन्क्वेटमा दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने तय भएको छ ।
एमालेले यही पौष १० गते पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि पार्टी गठनको तयारीमा जुटेका रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिँदै आएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको खुलेर विरोध गर्दै आएका रावलले २०७८ सालमा चितवनमा आयोजित १० औं महाधिवेशनमा ओलीविरुद्ध अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए । उनी पराजित भएपछि एमालेले सल्लाहकार कमिटीमा राखेको थियो । तर उनले त्यो जिम्मेवारी बहन गरेका थिएनन् ।
पछिल्लोपटक गत दशैंमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउनका लागि जग्गा दानमा लिने पार्टीको निर्णयको उनले खुलेर विरोध गरेका थिए । त्यसपछि अनुशासन विपरीत गतिविधि गरेको भन्दै रावललाई एमालेले पार्टीबाटै हटाउने निर्णय गरेको थियो । आजको पत्रकार सम्मेलनपछि मेची–महाकाली अभियान चलाउने उनको योजना छ ।
गत सोमबार बिहान मात्रै उनले नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटवार्ता गरेका थिए । भेटवार्तामा रावलले विभिन्न पार्टीबाट अन्यायमा परेकाहरू एकठाउँमा आएर देशभक्त समाजवादी पार्टी बनाउने प्रस्ताव राखेको स्रोतले जनाएको छ ।
प्रतिक्रिया