बुटवल । प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल आज बुटवल आउँदै छन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले सार्वजनिक गरेको वार्षिक कार्यतालिका अनुसार आजदेखि बुटवलमा सुरु हुने मदन भण्डारी इन्डो नेपाल रनिङशिल्ड पुरुष भलिबलको उद्घाटनका लागि उनीहरु बुटवल आउन लागेका हुन् ।
संघीय राजधानी काठमाडौं बाहिर हालसम्मकै सर्वाधिक पुरस्कार राशीसहितको यो प्रतियोगितामा विदेशी क्लब तथा नेपालका क्लबहरुबाट समेत विदेशी खेलाडीसहित ८ समुहको सहभागिता रहने छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसको अवसरमा बुटवल–१२ रामनगरस्थित खेलमैदानमा कार्यतालिकाको पहिलो इभेन्ट आयोजना गर्न लागिएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।
प्रतियोगिताको विजेताले ७ लाख रुपैयाँ नगद राशीसहित रनिङशिल्ड प्राप्त गर्ने छ । उपविजेता टिमले नगद तीन लाख पचास हजार, तृतीय टिमले नगद एक लाख पचहत्तर हजार तथा सान्त्वना टिमले नगद एक लाख रुपैयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । उत्कृष्ट खेलाडीलाई पच्चिस हजार तथा विभिन्न विधागत रुपमा जनही १० हजार नग राशी प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीसहित विभागीय टिम त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएएफ क्लब, बुटवलको मणिमुकुन्द भलिबल क्लब, भारतको गुजरात स्टेट भलिबल एशोसिएशन, गलकोट भलिबल क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र गरि आठ वटा टिमले प्रतिष्पर्धा गर्नेछन ।
लिग कम नकआउटका आधारमा यही पौष २४ गतेसम्म आयोजना हुने प्रतियोगिताको मंगलबार आर्कषक ट्रफी सार्वजनिक गरिएको छ । एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले पोलिटब्युरो सदस्य लिला गिरि, नेकपा एमाले जिल्ला अध्यक्ष यज्ञ गैरे, एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यबाहक अध्यक्ष विश्वास ढकालले ट्रफी अनावरण गरे । १५ केजी तौल भएको ट्रफिमा लुम्बिनी र पर्यटनलाई उजागर गर्ने गरी अशोका स्तम्भ मायादेवी मन्दिर र शान्ति दीपसहित तयार पारिएको छ ।
यो वर्षका लागि एकेडेमीले डेढ दर्जन खेलका कार्यतालिका सार्वजनिक गर्नुकासाथै करीब १० करोड ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । नवप्रतिभा र युवा खेलाडीहरु अन्तर्राष्ट्रिय स्तरमा सहभागी हुने गरि खेल प्रतियोगिता गर्न लागेको एकेडेमीका अध्यक्ष आचार्यले बताए । बुटवलमा हुने पुरुष भलिबलका लागि खेलाडीहरुको आवास ब्यवस्थापन आयोजकबाट नै हुनेछ । प्रतियोगितामा १ करोड ६० लाख रुपैया खर्च हुने आयोजकको अनुमान रहेको छ ।
प्रतिक्रिया