ताजा अपडेट »

बुटवलमा भोलीदेखि ७ लाख पुरस्कार राशिको पुरुष भलिबल

मंगलबार, १६ पुस २०८१, १८ : ४८
2.69K Shares
मंगलबार, १६ पुस २०८१
2.69K Shares

बुटवल । मदन भण्डारी स्पोर्स्टस एकेडेमीको आयोजनामा भोली (बुधबार)देखि काठमाडौ उपत्यका बाहिर पहिलोपल्ट सबैभन्दा ठूलो राशीको मदन भण्डारी गोल्ड इन्डो-नेपाल रनिङशिल्ड पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । बुटवल-१२ रामनगरस्थित खेलमैदानमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगिताको विजेताले ७ लाख रुपैयाँ नगद राशीसहित रनिङशिल्ड प्राप्त गर्ने छ । प्रतियोगिताको उपविजेता टिमले नगद तीन लाख पचास हजार, तृतीय टिमले नगद एक लाख पचहत्तर हजार तथा सान्त्वना टिमले नगद एक लाख रुपैयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । उत्कृष्ट खेलाडीलाई पच्चिस हजार तथा विभिन्न विधागत रुपमा जनही १० हजार नग राशी प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीसहित विभागीय टिम त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएएफ क्लब, बुटवलको मणिमुकुन्द भलिबल क्लब, भारतको गुजरात स्टेट भलिबल एशोसिएशन, गलकोट भलिबल क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र गरि नेपाल र भारतका आठ वटा टिमले प्रतिष्पर्धा गर्नेछन ।

पौष २४ गतेसम्म आयोजना हुने प्रतियोगिताको मंगलबार आर्कषक ट्रफी सार्वजनिक गरिएको छ । एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले पोलिटब्युरो सदस्य लिला गिरि, नेकपा एमाले जिल्ला अध्यक्ष यज्ञ गैरे, एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यबाहक अध्यक्ष विश्वास ढकालले ट्रफी अनावरण गरेका छन् । ‘यो स्वर्ण जलप गरिएको भलिबल ईतिहासमा नै आर्कषक ट्रफि हो ।’– अध्यक्ष आचार्यले भने । १५ केजी तौल भएको ट्रफिले लुम्बिनी र पर्यटनलाई उजागर गर्ने उनले दाबी गरे । खेल पर्यटनलाई उजागर गर्ने गरि ट्रफीमा लुम्बिनीको अशोक स्तम्भ, मायादेवि मन्दिर र शान्ति दीप कुदिएको छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले यस वर्षका लागि सार्वजनिक गरेका विभिन्न खेल तालिका अनुसार बुधबार भलिबल खेलको उद्घाटनसँगै सम्पूर्ण आयोजनाहरुको उद्घाटन हुने छ । एकेडेमीले डेढ दर्जन खेलका कार्यतालिका सार्वजनिक गर्नुकासाथै करीब १० करोड ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । नवप्रतिभा र युवा खेलाडीहरु अन्तर्राष्ट्रिय स्तरमा सहभागी हुने गरि खेल प्रतियोगिता गर्न लागेको एकेडेमीका अध्यक्ष आचार्यले बताए ।

बुटवलमा हुने पुरुष भलिबलका लागि खेलाडीहरुको आवास ब्यवस्थापन आयोजकबाट नै हुनेछ । प्रतियोगितामा १ करोड ६० लाख रुपैया खर्च हुने आयोजकको अनुमान रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।