भैरहवा । रुपन्देहीको भैरहवामा आज ‘स्ट्रीट फूड फेस्ट’ सडक खाना महोत्सव–२०२५ हुने भएको छ । ‘सडकमै खाउँ, सडकमै रमाउँ, पर्यटकहरुलाई स्वागत गरौं, स्थानीय खाना र बजारको प्रवर्द्धन गरौं’ भन्ने मूल नाराका साथ चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा महोत्सव हुने भएको हो ।
महोत्सवको तयारी अन्तिम चरणमा पुगेको उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले बताए । स्थानीय कलाकार, स्थानीय परिकारको प्रवर्द्धनमा जोड दिदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पाहुनालाई स्वागत गर्न तयार छौं भन्ने सन्देश दिन महोत्सवको आयोजना गरिएको बताए ।
प्रहरीटोलमा हुने महोत्सवको साँझ ६ बजे लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले उद्घाटन गर्नुहुने अध्यक्ष श्रेष्ठले जानकारी दिए । संगठनका वरिष्ठ उपाध्यक्ष सचिन रोक्काले अंग्रेजी नयाँ वर्ष २०२५ लाई स्वागत गर्दै आयोजना गरिएको सडक खाना महोत्सवमा ४० वटा स्टल राख्ने तयारीमा रहेको बताए । त्ससमध्ये ३० वटा स्टल बुक भइसकेको र बाँकी स्टल आज आउने उनले बताए ।
‘सानादेखि ठूला होटलसम्मका परिकार रहनेछन्, सकभर स्टल कम राख्ने गरी अघि बढेका छौं’ उनले भने, ‘एउटैप्रकारका स्टल भन्दा पनि थारु, नेवारी, गुरुङ, मगर लगायत विभिन्न समुदायहरुको खानाका परिकार राखिनेछ । आएका स्टलधनीको धेरै व्यापार होस् र उहाँहरु खुशी भएर जानुहुन्छ भन्ने योजनाका साथ अघि बढेका छौं ।’
महोत्सवको सह–आयोजकमा सिद्धार्थनगर नगरपालिका रुपन्देही, यूनिक साउण्ड भैरहवा, संरक्षकमा नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेश, प्रवर्द्धकमा पर्यटन विकास परिषद् लुम्बिनी प्रदेश रहेको संगठनकी महासचिव लक्ष्मी अधिकारीले बताइन् । अँगेजी नयाँ वर्षलक्षित सडक खाना महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया