ताजा अपडेट »

वैकल्पिक राजनीतिक शक्ति

सोमबार, १५ पुस २०८१, १२ : ००
32 Shares
सोमबार, १५ पुस २०८१
32 Shares

महेन्द्र बहादुर सिंह

हुनत संघीय संसदमा १४ दलको प्रतिनिधित्व छ। ७ दललाई राष्ट्रिय दलको मान्यता प्राप्त छ। तैपनि सत्ता र राष्ट्रिय राजनीतिमा मूलतः दुई दल नेपाली कांग्रेस र ऐमालेको पकड छ। अन्य दलहरू संसदमा जतिसुकै चर्कियपनि अन्ततः बागडोर ती दुई दल कै पोल्टामा परिहाल्छ। वास्तवमा ती दुई दल सत्ता र राजनीतिको दुई ठुला चुम्बक हुन्। वैकल्पिक शक्तिको रूपमा उदीयमान दल लाई उछित्ताउने र अन्य दलहरूलाई स्वार्थ अनुसार विद्यमान कानुनमा संशोधन गरेर होस् वा अध्यादेश बाट होस् चोइट्याउने क्षमता राख्दछन्। यस्तो समर्थता विगतमा धेरै पटक प्रदर्शन गरिसके र वर्तमान मा पनि देखाउदै छन्।

२०४६ पश्चात् सत्ता र राजनीतिमा कांग्रेस एमालेको निरन्तर दबदबा रह्यो। यी दुई दलको विकल्पमा राष्ट्रिय प्रजातन्त्र पार्टीले वैकल्पिक राजनीतिक शक्तिको रूपमा राष्ट्रिय राजनीतिमा इन्ट्री त गर्यो। तर त्यो चेष्टालाई प्रभावशाली बनाउन सकेन्। निरन्तरता दिन सकेन्। उपलब्धिमूलक पनि हुन सकेन्। टुट जुट मै समय खर्चिन थाल्यो। विपथनको अवस्था पैदा भयो। वैकल्पिक शक्ति भनिएको त्यो पार्टीको टुट जुट र विपथनमा कांग्रेस एमालेको राजनीतिक चुम्बकीय सामर्थ्यको थोरबहुत प्रभाव लाई नकार्न सकिदैन्।

पहिलो संविधान सभा निर्वाचन २००८ मा २२९ सिट प्राप्त गरि सबै भन्दा ठूलो दल बनेको दाहालको पार्टी नेकपा (माओवादी) दोस्रो संविधान सभा निर्वाचन १९ नोभेम्वर २०१३ मा ८३ सिट प्राप्त गर्यो र तेस्रो पार्टी बन्यो । २०१७ को निर्वाचनमा प्रतिनिधि सभा निर्वाचनमा ५३ सिट प्राप्त गर्यो र फेरि तेस्रो पार्टीको दर्जामा रह्यो । सबैभन्दा ठूलो दलको पोजिशन कायम राख्न सकेन्।

पहिलो संविधान सभा निर्वाचन पश्चात् एमाले र मधेसी जनाधिकार फोरम को समर्थनमा दाहाल पहिलो पटक प्रधानमन्त्री बनेका थिए। कांग्रेससँग भएको समझौता अनुसार ३ अप्रिल २०१६ मा दाहाल दोस्रो पटक प्रधानमन्त्री बने। शासन सत्ता र राजनीतिको यस्तो क्रम चलिनै रह्यो। यो क्रमले २०७९ पुष १० गते देखि २०८१ जेठ ७ गते सम्मको १८ महिने अवधिमा रफ्तार पकड्यो।दाहालले लगातार तीन पटक प्रधानमन्त्री पड्कायो। अन्ततः पुष्प कमलको बाँदरे राजनीतिक रणनीति कांग्रेस एमालेको राजनीतिक चुम्बकीय सामर्थ्यको डी ऐरियामा पर्ने बित्तिकै दाहाल स्खलित भयो।

आमूल परिवर्तनको कुरो गर्ने नेकपा (माओवादी केन्द्र) ले कांग्रेस एमाले लाई छायाँमा पार्न सकेन्। वैकल्पिक राजनीतिक शक्ति पनि बन्न सकेन्। किनकी त्यो पार्टी पनि कांग्रेस एमाले केटेगोरिमा परिसक्यो।तिनीहरूको सिद्धान्त शैली फरक भएतापनि स्वभाव उस्तै छ। माओवादी (केन्द्र) को बेलगाम घोडे राजनीति र विशेषतः दाहालको १८ महिने शासन सत्ताको चकचकीबाट दिक्दार जनताले वैकल्पिक राजनीतिक शक्ति को अभावको कारण कांग्रेस र एमाले मिलेर सरकार बनेको खण्डमा थोर भएपनि राहत हुने सोच्न थाले। त्यसै अनुरूपको सरकार त बन्यो। तर वर्तमान सरकार केटाकेटीलाई झुक्याउने बालखेल ‘माछो माछो भ्यागुतो’ जस्तै भएको जन अनुभूति छ।

भूतपूर्व प्रधानमन्त्री कमरेड बाबु राम भट्टराईले पनि वैकल्पिक शक्ति अति आवश्यक ठानेकै कारण १२ जुलाई २०१६ मा ‘नयाँ शक्ति नेपाल’ दल घोषणा त गर्यो तर निरन्तरता दिन सकेन । संघीय संसदमा २१ सिट प्राप्त गरेको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी सशक्त वैकल्पिक शक्तिको रूपमा सक्रिय त  रह्यो। तर ‘दुध उम्लिएर पोखिए’ जस्तै भयो। त्यो पार्टी र नेतृत्वले आफ्नो राजनीतिक स्टेटस र ईमेज कसरी मेन्टेन गर्ला ? सबैमा जिज्ञासा छ।पाँचौँ ठूलो दल  राष्ट्रिय प्रजातन्त्र पार्टी Political meditation मा छ। ध्यान बाट कहिले उठ्ने हो ? यकिनन् अडकल गर्न सकिने अवस्था छैन्।

‘भ्रष्टाचारको समूलोच्छेदनको सँगसँगै कानुन एवं व्यवस्थालाई हाँक दिने ठूलठूला छद्म अपराधी समूह, बिचौलिया, कमिसनखोरलाई निमोठ्नु र तिनीहरूको सम्पत्ति शुद्धीकरण तथा राष्ट्रियकरण’ गर्नुलाई राष्ट्रिय ऐजेण्डा बनाईनु पर्दछ। त्यसो गर्न सकेमा मुलुकको आर्थिक, सामाजिक, राजनीतिक लगाएत समग्र क्षेत्रमा विद्यमान बेथिति समाप्त हुन समय लाग्ने छैन। छिमेकी एवं अन्तर्राष्ट्रीय मित्रहरू आफ्नो साबिक नेपाल नीति फेरबदल गर्न बाध्य हुनेछन्। तर सत्ता र राजनीतिमा लौहपकड राख्ने कांग्रेस एमाले मन वचन र कर्मले सत्यनिष्ठ रहला ? विस्वस्त हुने गुन्जाइस अत्यन्त न्यून छ। त्यसैले राजनीतिक परिदृष्यले स्पष्ट देखाइ रहेको छ कि वैकल्पिक राजनीतिक शक्ति अपरिहार्य छ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।