बुटवल । आज पुस १५ गते । गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।
यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।
यसैबीच रुपन्देहीमा पनि तमु समुदायले साताव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी ल्होसार मनाएका छन् । तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषदको आयोजनामा आल प्रमुख दिन राष्ट्रिय कलाकारको साँस्कृतिक प्रस्तुतीसहित बुटवलमा वृहतम सभाको आयोजना गरिँदै छ ।
ल्होसारका अवसरमा पुस ११ गते नगर तथा इकाईमा सरसफाई १३ गते दिपावली तथा १४ गते आइतबार बृहत झाँकीसहित शान्ति र्याली आयोजना गरिएको थियो ।
प्रतिक्रिया