ताजा अपडेट »

विकास निर्माणको काम प्रकृतिमैत्री ढङ्गले गरौँः उपप्रधानमन्त्री सिंह

आइतबार, १४ पुस २०८१, १५ : १५
24 Shares
आइतबार, १४ पुस २०८१
24 Shares

काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले जलवायु परिवर्तनको असरबाट नेपाल प्रभावित भएको उल्लेख गर्दै विकास निर्माण गर्दा प्रकृतिको ख्याल गर्नुपर्नेमा जोड दिएका छन् ।  

आज सोलु दूधकुण्ड नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गर्दै उपप्रधानमन्त्री सिंहले जथाभावी विकास निर्माण गर्न नहुने उल्लेख गर्दै प्रकृतिलाई कम हानी गर्दै विकास निर्माण गर्नुपर्ने धारणा राखे।

“विकास निर्माण प्रकृतिमैत्री हुनुपर्छ, हामीलाई विभिन्न घटनाक्रमले पनि सिकाएको छ”, उनले भने, “गाउँ ठाउँलाई जोगाउने हो भने वातावरणलाई हामीले ध्यान दिनैपर्छ ।” उनले प्रशासकीय भवन निर्माण भएपछि पालिकाको सेवा प्रवाह प्रभावकारी हुने र नागरिकले सहज रूपमा सेवा पाउने विश्वास व्यक्त गरे ।

पर्यटकीय हिसाबले सोलुखुम्बु उत्कृष्ट गन्तव्य रहेको उल्लेख गर्दै उनले ४० वर्ष अगाडि पिता गणेशमान सिंहसँग सोलुखुम्बु आएको स्मरण गरे । तत्कालीन समय र अहिले हेर्दा आफूले सोलुखुम्बुमा विकास निर्माणको हिसाबले धेरै परिवर्तन पाएको उनको भनाइ थियो । 

अहिले व्यवस्था फेरियो अवस्था फेरिएन भन्दै गलत भाष्य बनाउन खोजिएको भन्दै उहाँले त्यो सत्य नभएको स्पष्ट पारे । उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थिरता र आर्थिक विकासका लागि अहिलेको सरकारले काम गरिरहेको र जनतालाई थप अधिकार सम्पन्न बनाउन संविधान संशोधन गर्न लागिएको प्रष्ट पारे । 

उपप्रधानमन्त्री सिंहले शिलान्यास गर्नुभएको प्रशासकीय भवन पालिकाको आन्तरिक स्रोतबाट दुई वर्षभित्रै बनाइसक्ने पालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयो । कार्यक्रममा रक्षामन्त्री मानबहादुर राई पनि सहभागी थिए । ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।