बाकेः युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले महिला फुटबल खेलाडीहरूका विकासका लागि लुम्बिनी कप महिला फुटबल महत्त्वपूर्ण अवसर हुने बताएका छन । शुक्रबार नेपालगन्ज रङ्गशालाको निरीक्षण गर्ने क्रममा मन्त्री चौधरीले लुम्बिनी कप महिला फुटबल सुरुवात हुनु देशका लागि खुसीको कुरा भएको बताए। उनले भन्नुभयो, ‘नेपालमा अहिले खेलकुदको माहोल बनेको छ । त्यसमध्ये पनि महिला खेलाडीहरूले उत्कृष्ट नतिजा निकालिरहेका छन । लुम्बिनी कप महिला फुटबल हुनु भनेको खुसीको कुरा हो।’
मन्त्री चौधरीले लुम्बिनी कप महिला फुटबल हुनुभनेको लुम्बिनीवासीका लागि मात्र नभएर सम्पूर्ण देशवासीका लागि सुखद कुरा भएको धारणा राखे । उनले भने, ‘महिला खेलाडीको प्रगति उन्नतीका लागि भैरहेको लुम्बिनी कप महिला फुटबलको प्रतियोगिताको सफलताको शुभकामना दिन चाहन्छु र आयोजकलाई यो प्रतियोगिता निरन्तर आयोजनाका लागि आग्रह गर्न चाहन्छु । अहिले खेलकुद प्रतियोगिता एक वर्ष हुने अर्को वर्ष नहुने भैरहेको छ । प्रतियोगिता आयोजना गर्न युवा तथा खेलकुद मन्त्रालयले के सहयोग गर्न सक्छ त्यसका लागि हामी तयार छौं ।’
लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव टिरन गौतमले लुम्बिनी कप महिला फुटबलले प्रदेशको फुटबललाई माथि उकास्न महत्त्वपूर्ण भुमिका खेल्ने बताए । उनले प्रतियोगितालाई सफल बनाउन लुम्बिनी प्रदेशले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रतियोगितालाई मध्यनजर गरेर नेपालगन्ज रङ्गशालाको मैदान व्यवस्थापनका लागि समेत राष्ट्रिय खेलकुद परिषदसँग बजेट माग गरिएको उनले जानकारी गराए ।
अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल सङ्घको सहकार्यमा लुम्बिनी कप महिला फुटबल आगामी फागुन १९ गतेदेखि २९ गते सम्म आयोजना हुँदैछ। प्रतियोगितामा नेपाल र छिमेकी मित्र राष्ट्र भारतका ८ टिम सहभागी हुने आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए । प्रतियोगिता पश्चिम नेपालकै गर्व गर्न लायक इभेन्ट बन्नुका साथै पर्यटन विकासमा समेत कोशेढुङ्गा सावित हुने शाहले बताए ।
शुक्रबार नेपालगन्ज रङ्गशालाको निरीक्षणको क्रममा लुम्बिनी खेलकुद विकास परिषदका निवर्तमान सदस्य सचिव भीम ओली, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति क्षेत्र नम्बर ५ नेपालगन्जका कार्यालय प्रमुख महेश चन्द लगायतको सहभागिता रहेको थियो भने यसैगरी मन्त्री चौधरीले लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सचिवालयको समेत अवलोकन गरेका थिए।
प्रतिक्रिया