ताजा अपडेट »

रविलाई अदालतमा उपस्थित गराइँदै, हिजोदेखिको बयानलाई निरन्तरता दिइने

शुक्रबार, १२ पुस २०८१, ०९ : ०६
34 Shares
शुक्रबार, १२ पुस २०८१
34 Shares

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको बयान आज पनि निरन्तर हुँदैछ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिना प्रकरणमा मुद्दा दर्ता भएपछि रविको बयान लिइँदैछ ।

बिहीबार जिल्ला अदालत कास्कीमा न्यायाधीश नीतिज राईको इजालसमा लिला पछाईंको बयान सकिएसँगै रविको सुरु भएको हो । त्यसैको निरन्तर बयान हुन लागेको हो । बिहीबार खाजा समयपछि रविले झन्डै तीन घण्टा लामो बयान दिए । उनलाई पहिलो दिन ११ प्रश्न सोधिएको थियो । थप प्रश्नहरु आज सोधिनेछ । आज रविको मात्रै बयान हुने बताइएको छ ।

इजालसमा रविलाई सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधसँग सम्बन्धित रहेर प्रश्न गरिएको छ । उनले आफू कुनै कसुरमा संग्लन नभएको भन्दै इन्कारी बयान दिएका छन् । रवि कात्तिक २ गते काठमाडौंको वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए । लामो समयको अनुसन्धानपश्चात आइतबार रविलगायत ४४ जनालाई सूर्यदर्शन प्रकरणमा प्रतिवादी बनाएर मुद्दा दायर भएको हो ।

रविलाई सम्पत्ति शुद्धीकरण मुद्दामा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ आर्जन गरेको अभियोग लागेको छ । सहकारी ठगीतर्फ तीन करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको हो ।

कास्की प्रहरीको हिरासतमा गोरखा मिडिया नेटवर्कका सञ्चालक रहेका पूर्वडिआइजी छविलाल जोशीको सोमबार र मंगलबार बयान लिइयो । जिबीसँग मिलेर सहकारीको रकम क्रिप्टोकरेन्सीमा समेत लगानी गरेकी लिला पछाईंको मंगलबार र बिहीबार बयान सकिएको हो ।

रविको बयान सकिएपछि नेचर हब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाल, सूर्यदर्शन सहकारीका सञ्चालक रहेका कृष्णबहादुर गुरुङको बयान हुनेछ । त्यसपछि प्रतिवादीको सूचीमा रहेका सूर्यदर्शन सहकारीका पूर्वउपाध्यक्ष मिना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङको बयान अदालतले लिनेछ । बयान सकिएपछि मात्रै थुनछेक बहस सुरु हुनेछ ।

सूर्यदर्शन सहकारी प्रकरणमा रवि, छवि, जिबीसहित कुल ६३ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरुबाट एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ ३ पैसा बिगो मागदाबी गर्दै मुद्दा दायर भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।