ताजा अपडेट »

एनपिएलमा बिजेता र उपबिजेता शेख दाजुभाईलाई गृहजिल्लामा सम्मान

विहीबार, ११ पुस २०८१, १५ : १२
40 Shares
विहीबार, ११ पुस २०८१
40 Shares

वीरगञ्ज । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गर्ने वीरगञ्जका खेलाडीद्वय आरिफ शेख र आशिफ शेखलाई नगदसहित सम्मानित गरिएको छ ।

एनपीएल प्रतियोगितामा जनकपुर बोल्ट्सलाई विजेता बनाउने कप्तान आशिफ शेख र सुदूरपश्चिम रोयल्सलाई उपविजेता बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने आरिफ शेखलाई वीरगञ्ज महानगरपालिका – १० को कार्यालयले जनही नगद ५१ हजार रुपैयाँ र प्रशंसा पत्रद्वारा सम्मान गरेको हो ।

कार्यक्रममा शेखद्वयलाई नगदसहित सम्मानित गर्दै वडाध्यक्ष सुशील कुमार कानुले वीरगञ्जका छोराहरू आशिफ र आरिफले एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै वीरगञ्जलाई खेलकुदको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान पुर्‍याएकोमा आफू गौरवान्वित भएको बताए ।

“म क्रिकेट खेलको ठूलो प्रशंसक हुँ, र आरिफ र आशिफले प्रदर्शन गरेको उत्कृष्ट खेल कौशलले मेरो मात्र होइन, सम्पूर्ण वीरगञ्जवासीको गर्वलाई थप बढाएको छ । भविष्यमा खेल र खेलाडीहरूको प्रोत्साहनका लागि मैले जे गर्न सकिन्छ, त्यो सबै गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,” वडाध्यक्ष कानुले भने ।

वडाध्यक्ष कानुले यस्ता सम्मान कार्यक्रमहरूले वीरगञ्जका युवालाई खेलकुद क्षेत्रमा सक्रिय हुन उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे । “खेलकुदले युवाहरूलाई अनुशासन, प्रतिबद्धता र सफलताको बाटोमा अग्रसर गराउँछ । वीरगञ्जलाई खेलकुदको केन्द्रबिन्दु बनाउन हामीले थप पहल गर्न आवश्यक छ,” उनले थपे ।

सम्मान ग्रहण गर्दै जनकपुर बोल्ट्सका कप्तान आशिफ शेखले वीरगञ्जवासीले देखाएको माया र सम्मानले आफूलाई गहिरो प्रेरणा दिएको बताए । “हामी वीरगञ्जवासीप्रति सधैँ ऋणी छौँ । यस्ता सम्मानहरूले खेल र खेलाडीलाई थप प्रेरित गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् । हामीले वीरगञ्जसँगै देशकै नामलाई उच्च बनाउन निरन्तर परिश्रम गरिरहेका छौँ,” आशिफले भने ।

त्यस्तै, आरिफ शेखले पनि सम्मानप्रति आभार प्रकट गर्दै आगामी दिनमा आफ्नो खेल कौशललाई अझ निखार्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा वडा समितिका सदस्य, वडा सचिव, स्थानीय बासिन्दा, खेल प्रेमी, र वडा कार्यालयका प्रतिनिधिहरूको उपस्थिति थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।