ताजा अपडेट »

भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापित गर्न लागि परेका छौं : मुख्यमन्त्री आचार्य

विहीबार, ११ पुस २०८१, १४ : १३
32 Shares
विहीबार, ११ पुस २०८१
32 Shares

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापित गर्न लागि परेको बताएका छन् । 

सुशासन, पारदर्शिता कायम राख्न भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापित गर्न प्रदेश सरकार लागि परेको बताएका हुन् । गैरसरकारी संस्था महासंघ नेपाल लुम्बिनी प्रदेश समितिले दाङको लमहीमा बिहिवार आयोजना गरेको प्रदेशस्तरीय नागरिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सुशासन कायम भए भ्रष्टाचार अन्त्य हुने बताउँदै सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनिकरण गर्न  पाँच बर्षे रणनीतिक योजना कार्यान्वयनमा लगिएको बताए ।

‘सरकारको नेतृत्व गरेकै दिन भ्रष्टाचार बिरुद्ध रणनीतिक योजना निर्माण गर्ने निर्णयमा हस्ताक्षर गरे । अहिले त्यो योजना तयार भएर कार्यान्वयनमा गएको छ’ उनले भने ‘सरकारले जागरिकमा बढ्दै गएको निरासालाई चिर्न सुशासन प्रबर्द्धन र भ्रष्टाचार बिरुद्धका अभियानलाई प्राथमिकता दिएको छ । नेतृत्वमा रहेकाहरुलाइ नै केन्द्रीत गरेर आचारसंहिता निर्माण गरेर लागू गरेका छौं । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री, मन्त्रीहरुलाइ आचारसंहिताको निगरानी छ ।’ प्रदेश सरकारले गर्ने काम प्रति नागरिकहरु गुनासो गर्न पाउने र त्यसको सुनुवाइ गर्ने संयन्त्रको विकास गरिएको भनाइ उनको छ ।

‘गुनासा पेटिकामा प्राप्त सुझाव तथा समस्याहरू सम्बोधन गर्ने कार्यलाई निरन्तरता दिइरहेका छौं । यसले जनताको सरकारप्रतिको विश्वास बढ्नेछ’ उनले भने ‘जनप्रतिनिधि र कर्मचारीले गर्ने कामहरुलाइ पनि गुनासो मार्फत अघि बढाउन सक्नुहुन्छ ।’

मुख्यमन्त्री आचार्यले प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूलाई आचारसंहितामा बाँधिएको र खर्च कटौतीका लागि विशेष पहल गरिएको बताए ।  भ्रष्टाचार नियन्त्रण गर्न सबै सरोकारवालाहरूको सहयोग आवश्यक रहेको भनाइ उनको छ । ‘भ्रष्टाचार रोक्न सबै नागरिक, संघसंस्था र सरकारी निकायले एकैसाथ हातेमालो गर्नुपर्छ । यसले प्रदेशमा सुशासनको सुनिश्चितता गर्न सकिन्छ’ उनले भने ‘भ्रष्टाचार बिरुद्धको अभियानमा सबै संगसंगै अगाडि बढ्न जरुरी छ ।’

प्रदेश सरकारले जनमुखी कानून निर्माणलाई विशेष प्राथमिकता दिएको बताउँदै दलित सशक्तीकरण विधेयक, अपांगमैत्री कानून बनाउन आवश्यक विधेयक अघि बढाउने प्रतिबद्धता जनाए । गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष जितकुमारी बेल्वासेको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा नागरिक सम्मेलनको उद्घाटन गरिएको थियो ।

सम्मेलनको तर्फबाट मुख्यमन्त्री आचार्यलाई घोषणापत्र समेत हस्तान्तरण गर्दै कार्यान्वयन गर्न आग्रह गरिएको छ । मुख्यमन्त्री आचार्यले सम्मेलनले उठाएका सवालहरुलाइ सम्बोधन गरिने बताएका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।