कुनैबेला प्रा.डा.हिरण्यलाल ज्ञवालीले भनेका थिए–बुटवल साहित्यिक मरुभूमि बन्दैछ । उनको भविष्यवाणी यतिबेला मेल खान गएको छ । साहित्य संगम,बुटवल सुस्ताएको छ । तीन सय बढी श्रृङ्खला सञ्चालन भएर प्रायःठप्पको अवस्थामा रहँदा २०८१ मंसिर महिनाको अन्तिम शनिवार पुनः सञ्चालनमा आएको छ । तर यसको निरन्तरतामा प्रश्न चिन्ह उठेकै छ । संगमको पुनः सुचारु, मरुभूमिमा पानीको थोपा महसुस् गर्न सकिन्छ ।
संगमको नयाँ श्रृङ्खलामा ऋषिराम भुसाल,डा.मुरारि पराजुली,मीन राना,रामचन्द्र श्रेष्ठ,दलबहादुर गुरुङ,सन्ध्या भण्डारी र पाका पुस्ताका कवि गंगादत्त कोईराला समेत उपस्थित भएका थिए । होराइजन स्कुलका प्राचार्य लोकनाथ उपाध्याय,सहप्राचार्यहरु,साहित्यिक फाँटका जिम्मेवार हरिप्रसाद पौडेल लगायत विद्यार्थीको बाक्लो उपस्थिति देखिन्थ्यो ।
कोरोनापछिको पहिलो साहित्य संगम,बुटवलको यो श्रृङ्खलालाई कसरी निरन्तरता दिन सकिन्छ भन्ने विषयमा फरकफरक तर्क र प्रस्तुति थिए । मैले भनेको थिएँ–संगमको महत्व हिजोको जस्तो नहोला । हिजो राज्य व्यवस्थाविरुद्धमा बोल्ने ठाउँ नहुँदा संगम, गतिलो चौतारी थियो । जेहाद छेड्ने स्थान थियो । प्रजातन्त्र आएपछि साहित्यलाई हुर्काउने,बढाउने र सुसार गर्ने गतिलो चौपारी थियो संगम । आजजस्तो सामाजिक सञ्जाल नहुँदा साहित्यिक कोसेली फुकाउने र आफ्नो रचनाको पृष्ठपोषण लिने स्थान थियो साहित्य संगम,बुटवल ।
तर आज लेख्न बेर, सामाजिक सञ्जालहरुमा पोष्टिन्छन् । लाइक र कमेन्टहरु ओइरिन्छन् किन दिनबिताएरै रचना सुनाउन संगम चाहियो भन्नेहरुको कमी छैन । संगम कहाँ सञ्चालन गर्ने,सहभागीहरुलाई चिया बिस्कुट कसले खुवाउने,साथीहरुलाई बोलाउने जिम्मा र खर्च कसले लिने विषयमा घोत्लिनु पर्नेबेला आएको छ ।
हल्कारुपमा साहित्यिक प्राण धान्ने काम घरिघरि पाठक मञ्चले गरेकै छ । गजल सागर सुस्ताएको कुरा कसलाई सुनाइरहनु र ? च्याउ उम्रिएजस्तै साहित्यिक संघसंस्थाहरु बुटवलमा नजिन्मएका होइनन् । आज यिनीहरुका नामो निशान कतै भेटिनन् । हुन त साहित्यलाई अंगिकार गरी खान पुग्ने अवस्था छैन । साहित्यिक फाँटमा लागेर जीवनयापन गर्न कठिन अवस्था छ । सबैलाई हेक्का भएकै विषय हो । साहित्यिक रचना प्रकाशन गरी विक्रीवितरणबाट खान पुग्नेहरुको संख्या सायद नेपालमा औंलामा गन्न सकिने पनि छैनन् ।
बटुल्लिएरै (जम्मा भएरै) साहित्यिक संगम,बुटवल सञ्चालन भएको हो । देशका सबैस्थानबाट आएका शिक्षक,कर्मचारी,व्यापारी,चिकित्सक,अभियन्ताहरु बटुलिने स्थान नै बुटवल हो । यहाँ अनेक कला, साहित्य र सिर्जनाहरु पोखिन्छन् । तर यतिबेला सबै सर्जकहरुले आफ्ना कला र सिर्जना पोख्ने साझा चौतारी पाएका छैनन् । निरन्तर साहित्यिक गतिविधिहरु सञ्चालन अभावका कारण बुटवलमा साहित्यिक खडेरी पर्न गएको साँचो हो । यसलाई प्रा.डा.हिरण्य ज्ञवालीको भाषामा मरुभूमि नै हुन दिने वा खडेरीमै राख्ने ? सबैले एकपटक गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।
गैरसाहित्यिक संघसंस्थाहरुले सञ्चालन गर्ने केही साहित्यिक कार्यक्रमहरु पानीका फोका हुन् । अर्थात् वर्षे भेल हुन् । क्षणभरमै सुक्छन् । केही साहित्यिक जमर्को लुम्बिनी वाङ्मय प्रतिष्ठानले गरेकै हो तरपनि यो यथेष्ट छैन । यो संस्था साहित्यमा भन्दा पनि साहित्यिक संगठन निर्माणमा तल्लीन रहेको पाइन्छ । मेरो बुझाइमा सर्जकहरु जब संगठन निर्माणमा जुट्छन् तव साहित्यिक सिर्जना मरेर जाँदो रहेछ । सर्जकहरुलाई सिर्जनामा नै रमाउन दिनु पर्दोरहेछ । संगठकहरु सर्जक बन्न कठिन हुँदोरहेछ ।
जुनगतिमा बुटवलमा साहित्यिक गतिविधिहरु हुनुपर्ने हो सो गतिमा हुन नसक्नु पक्कै पनि साहित्यप्रति सरोकार राख्नेहरुका लागि शुभसन्देश हुँदैहोइन । यसले पक्कै पनि यस क्षेत्रको साहित्यिक गतिविधिहरुलाई कमजोर बनाउने मात्र होइन,साहित्यिक सिर्जनाका अभावले जर्जर मरुभूमि बन्ने देखिन्छ । सिर्जना मर्नु,साहित्यिक विकासमा अवरोध सिर्जना हुनुपनि हो ।
साहित्य ,कला र संस्कृतिको उन्नयनका लागि गठित बुटवल प्रज्ञा प्रतिष्ठान पनि यसै गतिहीन हुन पुगेको छ । सरकारीस्तरमा गठित यो प्रतिष्ठान राजनीतिक कोपभाजनमा परेको छ । न पुराना समितिले औपचारिक रुपमा भङ्ग भएको जानकारी पाएका छन् । न नयाँ समिति गठन हुन सकेको छ । कोमामा रहेको यो प्रतिष्ठानले गतिशीलता लिन नसक्नु कुनै अनौठो विषय नै भएन । प्रतिष्ठानको अभावले समेत बुटवलको साहित्यमा ब्रेक लागेको साँचो हो ।
बुटवलको साहित्य,कला र संस्कृतिको संरक्षण,विकास र सम्वद्र्धन हुन सकेमा यहाँ आउने अनेकौं किसिमका पर्यटकहरुका लागि बुटवल गतिलो गन्तव्य हुन सक्ने थियो तर आज हुन सक्ने र हुन पर्नेजति साहित्यिक गतिविधिहरुको अभाव र हुन नसक्नुले पक्कै पनि बुटवल कमजोर हुँदै गएको भान हुन्छ ।
बुटवल क्षेत्रमा रहेका पुस्तकालयहरुले निरन्तर साहित्यिक गतिविधि गर्न सम्भव देखिन्छ । त्यसो हुन सक्ने हो भने यहाँको साहित्य,कला र संस्कृतिको उन्ननयनमा पक्कै पनि श्रीवृद्धि हुने देखिन्छ । महावीर पुस्तकालय,ज्ञानज्योति पुस्तकालय,भूपी स्मृति पुस्तकालयलगायतका पुस्तकालयले यस्तो सुकर्म थालेमा उत्तम हुने थियो ।
बुटवलकै बारेमा लेखिएको सिंगो पुस्तक नछापिनु पनि बुटवलको प्रचारको अभाव मान्न सकिन्छ । बुटवलसम्बन्धि पुस्तक प्रकाशनका बारेमा व्यापक छलफल भएपनि आजसम्म प्रकाशन हुन नसक्नुमा यहाँका जिम्मेवार सरकारी,सामाजिक संघसंस्थाहरुको दायित्ववोध कमजोर भएको ठान्न सकिन्छ ।
प्रतिक्रिया