बारा । जिल्ला प्रहरी कार्यालय, बाराले मङ्गलवार राति ३० लाख ६७ हजार रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी नायब निरीक्षक मोह नारायण रायको कमान्डमा खटिएको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित जीतपुर चोकमा चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो ।
वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ४ ख ३९८४ नम्बरको ट्रकमा बिल बिजकभन्दा बढी सामान देखिएपछि स्रोत खुलाउन नसकेको प्रहरीले जनाएको छ ।
ट्रकबाट कपडा, चना, ब्याट्री र थर्माकोल दानालगायतका सामग्रीहरू बरामद भएका छन्, जसको अनुमानित मूल्य ३० लाख ६७ हजार ७९६ रुपैयाँ रहेको छ ।
बरामद गरिएको सामान र ट्रकलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालय, बाराले जानकारी दिएको छ ।
प्रहरीले अवैध सामानको ओसारपसारमा संलग्न व्यक्तिहरूको पहिचान गर्न थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया