ताजा अपडेट »

बालकोटमा बुबा र भाइको हत्यापछि स्कुटी छाडेर इनड्राभमा भागेका थिए मिलन

मंगलबार, ०९ पुस २०८१, १२ : ३९
0.92K Shares
मंगलबार, ०९ पुस २०८१
0.92K Shares

काठमाडौं । बालकोटमा बुबा र भाइको हत्या गरी फरार रहेका मिलन आचार्यले आफू घटना संलग्न रहेको स्वीकार गर्दै प्रहरी सामू आत्मसमर्पण गरेका छन् । भक्तपुरको सूर्य विनायक नगरपालिका– २, बालकोटस्थित डेरामा सोमबार बिहान मृत भेटिएका ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीणको हत्या कूलप्रसादकै २५ वर्षीय जेठा छोरा मिलनबाट भएको प्रहरीले आशंकामा प्रहरीले खोजी गरेको थियो । 

उनी मंगलबार बिहान आफै महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर आफूले बालकोटमा बुबा र भाइलाई मारेको स्वीकार गरे । महाराजगन्ज वृत्तका प्रहरीले मिलनलाई बुबा र भाइ मार्नुको कारणबारे सोध्दा प्रेमिकासँगको तनावले मन अस्थिर हुँदा त्यस्तो भएको बताएका थिए । बुढेसकालमै भए पनि स्कुटरको लाइसेन्स बनाउन बुबा कूलप्रसाद खोटाङबाट भक्तपुर आएका थिए । 

मिलनले डमबेल र सिलौटोले हानेर बुबा र भाइलाई मारेपछि डेरामै रहेको स्कुटी नचलाएर इनड्राइभबाट मोटरसाइकल मगाई फरार भएका थिए । उनी उक्त मोटरसाइकलमा सातदोबाटोसम्म पुगे । त्यहाँबाट फेरि अर्को इनड्राइभ गरेर कलंकी पुगे । त्यहाँ पुगेर मोबाइलको सिम फ्याँके । 

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलवार बिहान उनलाई कलंकीमा खोजिरहेको थियो । त्यहीबीच महारनगञ्ज प्रहरी वृत्तबाट अनुसन्धान टोलीले उनले आत्मसमर्पण गरेको खबर दियो । उनले आत्मसमर्पण गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोली आवश्यक सोधपुछका निम्ति त्यहाँ पुगेको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए । ‘उनको कुरा गराइबाट मानसिक रूपमा केही समस्या हो कि जस्तो देखिन्छ’, वृत्तका एक प्रहरी अधिकृतले भने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।