ताजा अपडेट »

सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि मुख्यमन्त्री आचार्यले डिआईजीलाई दिए निर्देशन

मंगलबार, ०९ पुस २०८१, १० : ११
138 Shares
मंगलबार, ०९ पुस २०८१
138 Shares

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भारतसँग सीमा जोडिएका जिल्लाहरुलाई प्राथमिकतामा राखेर प्रहरीले विशेष सुरक्षा योजना अन्तरगत निगरानी बढाउनुपर्ने बताएका छन् । सीमा क्षेत्रबाट भइरहेको चोरी तस्करी र राजश्व चुहावट नियन्त्रण गर्न प्रहरीका उच्च अधिकारी समक्ष आग्रह गरेका छन् । 

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीसँगको भेटमा मुख्यमन्त्री आचार्यले सीमा क्षेत्रबाट भइरहेको अवैध कारोबार र राजश्व चुहावटलाई रोक्न निर्देशन दिए । ‘तस्करी बढेको छ । अवैध बाटो भएर प्रसस्त माल सामानहरु भित्रिएका छन् । त्यसमा प्रहरीले निगरानी बढाउन जरुरी छ ।’–मुख्यमन्त्री आचार्यले भने, ‘मुल नाकाको साथ साथै अन्य चोरी हुने नाकाहरुको पहिचान गरेर प्रहरीले यसमा कडा निगरानी गर्न जरुरी छ । राजश्व चुहावटलाई रोक्ने र अवैध कारोबारहरुलाई निरुत्साहित गर्न प्रहरीले यसमा आफ्नो भूमिका बढाउन जरुरी छ ।’
 
लुम्बिनी प्रदेशको जिम्मेवारी सम्हालेपछि प्रहरी नायब महानिरीक्षक कार्कीले मुख्यमन्त्री आचार्यलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा भेट गरेका थिए। ‘भारतबाट दूध समेत नेपालमा आइरहेको भन्ने सूचना छ । यसले गर्दा नेपाली किसानको दूध विक्रि भइरहेको छैन् । कुखुरा, माछा पनि तस्करी भएर नेपाल आइरहेको छ ।’–मुख्यमन्त्री आचार्यले भने, ‘यि विषयलाई विशेष ध्यान दिन जरुरी छ ।’ भेटमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले सीमा क्षेत्रबाट हुने अवैध कारोबार, चोरी तस्करी र राजश्व चुहावट नियन्त्रणमा प्रहरी सक्रियतापूर्वक खटिएको जानकारी दिए । 

उनले सीमा क्षेत्रमा निगरानी बढाएको र राजश्व छलेर भित्रिएका सामग्रीहरु जफत गरिएको बताए । यसका साथै भारतबाट नेपाल गोरु भित्र्याउने र नेपाली बाटो भएर पुनः भारत पुर्याउने कार्यलाई रोक लगाइएको जानकारी दिए । हालै सम्पन्न प्रदेश सुरक्षा गोष्टीबाट पनि सीमा क्षेत्रमा भइरहेको चोरी तस्करी नियन्त्रण गर्न प्रहरी कार्यालयलाई विशेष निर्देशन दिइएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।